काठमाडौं । सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्सामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार गर्न जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ ।
शुक्रबार राजधानीमा काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो ।
कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रित थियो । सहभागीले फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानको पनि सँगसँगै चर्चा गर्नुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रमको समूहगत छलफलमा बोल्दै काठमाडौं महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौं महानगरपालिकाले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए । "हामी उत्तरदायी हौँ । फोहोर व्यवस्थापनको काम हामी नै गर्छौँ । फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनमा समस्या आउने गरेका छन् । तिनको समाधानमा हामी आफैँ गर्छौैँ," डंगोलको भनाइ थियो ।
समूहगत छलफलमा महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले महानगरले फोहोर व्यवस्थापन गर्न समुदायको चेतना बढाउनेदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम गरिरहेको जानकारी दिइन् ।
त्यस्तै ग्रीन पाथ नेपालका निर्देशक प्रदीप अमात्यले फोहोरलाई कम्पोस्ट गर्न भान्साबाटै काम थाल्नु पर्ने बताए । ब्लू वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी नविनविक्रम महर्जनले उत्पादनदेखि व्यवस्थापनसम्मको चक्रमा पर्ने सबै कामलाई एकीकृत गरेपछि मात्र फोहोर व्यवस्थापनमा दिगोपना आउने बताए ।
सफाइ जागरणकी अध्यक्ष शान्ति तामाङ्ले ट्रान्सफर स्टेसनमा फोहोर वर्गीकरण गर्न सकिने र यसमा अनौपचारिक क्षेत्रका मानिसहरूले सहयोग गर्ने धारणा राखिन् ।
नगरपालिका वा ल्याण्डफिल साइटका मानिसहरूलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गर्नुपर्ने छलफलमा सहभागी वक्ता र टिप्पणीकर्ता सहभागीको मत छ ।
छलफलको निष्कर्षका बारेमा जानकारी दिँदै कार्यक्रमका सहजकर्ता वातावरणविद भुषण तुलाधरले भने, "नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । यसको सुरुवात घरबाट होइन भान्साबाट फोहोर वर्गीकरण गर्न थाल्नुपर्छ ।"
कार्यक्रममा वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोरको दिगो व्यवस्थापनका लागि नीजि तथा गैरसरकारी र अनौपचारिक क्षेत्रको योगदानलाई संस्थागत गर्नुपर्ने बताए ।
सिफेडका प्रमुख कार्यकारी वातावरण वैज्ञानिक रामचरित्र शाहले अध्ययन उद्धृत गर्दै फोहोरमा काम गर्ने व्यक्तिहरूको रगतमा सिसा (लेड) देखिएको तथ्य सुनाए ।
मेड्सा डु मोन्डले काठमाडौं महानगरसँग सम्झौता गरेर वडा १९ को साविक सहरी स्वास्थ्य क्लिनिकलाई स्तरउन्नति गरेर ओपीडीसहितको सेवा सञ्चालन गरेको छ ।
अनौपचारिक क्षेत्रबाट फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरूलाई लक्षित समूह बनाएर यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मेड्सा डु मोन्ड फ्रान्स नेपाल मिसनका कार्यक्रम प्रबन्धक अस्मिता थापाले बागमती र विष्णुमती नदी किनारामा रहेका अनौपचारिक क्षेत्रका सफाइकर्मीहरूको स्वास्थ्य तथा सामाजिक विकासका लागि काम भइरहेको बताए ।
कार्यक्रममा काठमाडौं महानगरको वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, ६ का अध्यक्ष भुवन लामा, २९ का अध्यक्ष कुश ढकाल, मिस नेपाल अर्थ २०२२ डा. सरिसा श्रेष्ठसहित क्षेत्रगत पदाधिकारीहरूले भाग लिएका थिए ।
मेड्सा फ्रान्सेली डाक्टरहरूले स्वास्थ्य उपचार सहज बनाउन स्थापना गरेको विश्वभरका डाक्टरहरूको संस्था हो । यसले काठमाडौंका अनौपचारिक क्षेत्रमा काम गर्ने सफाइकर्मीहरूको आर्थिक उत्थानका लागि फालिएका प्लास्टिक र कपडामा आधारित उद्यम स्थापना गरेर उनीहरूलाई सम्मानजनक रूपमा काम गर्न सक्ने उद्यमी बनाउने कामको थालनी गरेको छ ।