काठमाडौं । पूर्वउपसचिव हर्षरमण उपाध्याय उमेरले ७९ लागिसके । विगतमा घटेका घटनाका तिथिमिति झट्ट याद गर्न सक्दैनन् । तर पूर्वसचिव दुर्गा प्रकाश पाण्डेयका धेरै कुरा उनलाई याद छन् ।
तिनै यादहरुको संगालोलाई कोभिड १९ ले मुलुकमा ‘लकडाउन’ भएको बेला उनले संघर्ष र हर्ष भन्ने आत्मवृतान्तमा उतारेका छन् ।
२६४ लामो पेजको ९९, ११८ र १२५ मा गड फादर भन्न रुचाउने यी प्रिय हाकिमलाई समर्पित गरेका छन् ।
सरकारी जागिरेको रुपमा भन्सार कार्यालयमा काम गर्दागर्दै उनले भन्सार विभागको निर्देशकको रुपमा कडा प्रशासकको रुपमा पहिचान बनाएका दुर्गा प्रकाशसँग काम गर्ने अवसर पाए ।
शाखा अधिकृतमा लिखित र अन्तर्वार्तामा नाम निकालिसकेका उनलाई भन्सार विभागमा भने शाखा अधिकृतको कुनै दरबन्दी थिएन ।
तर उनी मेहनती र इमान्दार लाग्थ्यो । उनी दुर्गा प्रकाशको नजरमा परे । भन्छन्, “म भन्सारमा नै काम गर्न चाहन्थेँ । तर कुनै सोर्स फोर्स थिएन । उहाँलाई आफ्नो कुरा राखेँ ।”
दुर्गा प्रकाशले उनलाई मुख्य सचिव कृष्णबम मल्लको लागि सिफारिस गरिदिएका थिए । उनी भन्छन्, “त्यसैले पनि म उहाँप्रति सधैँ अनुग्रहित छु ।”
उपाध्यायका लागि दुर्गा प्रकाश जतिको नजिक र सहयोगी त कोही छैनन् ।
भन्छन्, “भन्सारमा उहाँ मिस्टर क्लिन जस्तो मान्छे । अनियमितता र बदमासी गरेको उहाँ सहनै सक्नुहुन्नथ्यो ।”
कर्मचारीहरुमा दुर्गा प्रकाशले उनलाई सबैभन्दा बढी विश्वास गर्ने गरेको उनी खुसी हुँदै सुनाउँछन् । त्यतिबेला भन्सारमा मूल्यांकन शाखा थियो । त्यसको इन्चार्ज उपाध्याय थिए ।
भन्छन्, “त्यस शाखामा हुने गतिविधिको निर्णय उहाँले गर्नुहुन्थ्यो । त्यहाँ अनुसन्धान गर्नुपर्यो तथा जाँच्नुपर्यो भनेदेखि मलाई मात्र अह्राउनुहुन्थ्यो । त्यसैले उहाँको प्रभाव ममा बढी थियो ।”
काम चोर, ठग, अनुशासनहीन र भ्रष्टचारी कर्मचारीलाई दुर्गा प्रकाश फिटिक्कै मन पराउँदैनथे ।
एकदिन उपाध्याय, महानिर्देशक दुर्गा प्रकाश र अन्य दुई कर्मचारी वीरगन्जमा निरीक्षण भ्रमणमा निस्केका थिए । फर्किँदा बाटोमा दामनमा हिउँ पर्यो ।
“उहाँले गाडी रोक्नुभयो । हामी पनि बाहिर निस्केर हिउँ हेर्न थाल्यौँ । पछाडिबाट कसैले मलाई हिउँको डल्लाले हान्यो । यसो हेरेको त डाइरेक्टर साहेब पो हुनुहुँदो रहेछ,” उनले भने, “कहिले नहाँस्ने यस्तो गर्नुहोला भन्ने विश्वास नै गर्न नसकिने । उहाँजति सहज र सरल व्यक्ति विरलै हुन्छन् ।”
उनी कार्यरत हुँदा अहिलेको जस्तो भन्सारको इमेज थिएन । त्यहाँ काम गर्ने धेरै राम्रा र थोरै मात्र नराम्रा दुवै खालका कर्मचारी थिए । त्यसबेलाका कर्मचारीले बिहान ७ बजेदेखि राति ८ बजेसम्म सेवा दिन्थे ।
सो सेवा दिएर छिटो छरितो काम गरेबापत साधारण टिप्स सेवाग्राहीबाट पाउँथे । जसलाई दस्तुर भनिन्थ्यो । ५ पैसा, १ रुपैयाँदेखि कसैले ५ रुपैयाँसम्म दिन्थे ।
ती सबै जम्मा पारेर महिनामा सबै कर्मचारीमा बाँडेर खाने चलन थियो । त्यसको अलवा अहिलेजस्तो छुट्टै घुस लिने चलन नभएको उनी सम्झन्छन् । अहिलेजस्तो भ्रष्टाचार होइन । भन्सारको काम त्यही दिनको काम त्यही दिन सकाउनुपर्ने नियम थियो । सडक मार्गबाट वीरगन्ज रक्सौल भई सामान आउँथ्यो भने हवाईजहाजबाट विमानस्थलमा सामान आउँथ्यो ।
“आएका सामानको एक–एक जाँच गर्ने चलन थियो,” उनले भने । उनकाअनुसार उनी आफैँ पनि हार्डलाइनरको रुपमा चिनिन्थे ।
भन्छन्, “नभएको भए उहाँसँग चिनजान हुँदैनथ्यो होला । उहाँ अनुशासित भएकोले नै मेरो अनुशासन चिन्नुभयो । उहाँ जस्तो इमानदार मान्छे भए देशको स्थिति यस्तो हुँदैनथ्यो होला ।”
दुर्गा प्रकाशले सरकारी जागिरे जीवनमा भन्सारमा करिब ९ वर्ष बिताए भने उनले करिब ६ वर्ष उनको नेतृत्वमा काम गरे ।
दुर्गा प्रकाशको देहान्तभएपछि उनी तेस्रो दिन मानभवन उनको घर गएका थिए ।
आफू निम्ममध्यम वर्गीय परिवारमा जन्मेर पनि भन्सारमा केही राम्रा काम गरेको श्रेय उनी दुर्गा प्रकाशलाई दिन चाहन्छन् । भन्छन्, “मलाई मेरो फादर नै गुमाए जस्तो भएको छ । टाढा भए पनि मेरो लागि नजिकको व्यक्तित्व हुनुहुन्थ्यो ।”