site stats
विशेष
हामी जस्तो अवस्थामा पुग्यौँ, ड्याडीकै योगदानले हो 

हामी सानै छँदा ड्याडी जागिरमा होइबक्सिन्थ्यो । उहाँले धेरै अफिसमा समय दिइसिन्थ्यो । सम्भवतः अफिसको कामले बढी नै व्यस्त होइसिन्थ्यो होला । घरमा निकै कम समय दिइबक्सिन्थ्यो । शनिबार परिवार र साथीभाइको लागि समय थियो । त्यो पनि साथीभाइ भेट्दाभेट्दै सकिन्थ्यो ।

उहाँले अफिसको काममा बढी नै ध्यान दिनुभएको पछि महसुस भयो । हामी तीनजना छोराछोरी थियौँ । हामीलाई चाहिने कुरा कम हुन कहिल्यै पनि दिइसिएन । हामी सानो छँदा कुनै पनि कुराले अल्झिनुपरेन, त्यो सबै ड्याडीले पुर्‍याइदिइबक्स्यो । हामो पढाइ, पालनपोषण तथा हुर्काइमा ममीको अझ बढी ठूलो योगदान छ । 

हामी संयुक्त परिवारमा हुर्किएका हौँ । ड्याडी बाहिरबाट आउँदा हामी संयुक्त परिवारका सदस्यहरुलाई केही न केही ल्याइदिइबक्सिन्थ्यो ।

Himalayan Bank
Agni Group

हामीले कुनै पनि कुरा चाहियो भन्यौँ भने उहाँले घुमाइफिराइ ल्याइदिइबक्सिन्थ्यो । त्यो सानैदेखिको कुरा मैले कहिल्यै पनि भुल्न सक्दिनँ ।

हामीले फुटबल भन्यौँ भने उहाँले कहिले कसरी ल्याइदिइबक्सिन्थ्यो थाहा हुँदैनथ्यो तर ल्याइदिइबक्सिन्थ्यो । ड्याडीले हामीलाई निकै माया गरेर हुर्काइबक्सियो । ड्याडीको माया फरक खालको थियो, हामीलाई डर देखाइबक्सिन्थ्यो तर भित्रैबाट बढी माया गरिबक्सिन्थ्यो । 

Global bank

हामीलाई अनुशासनमा सधैँभर राखिबक्सियो । हाम्रो घरमा नियम चाहिँ किनै कडा नै थियो । उहाँको अगाडि हामीले पढ्नैपर्थ्यो । किताब लिएरै बस्नुपर्थ्यो । कुनै पनि कुरा घोकेर कण्ठ बनाउनुपर्थ्यो । 

हामी कस्ता भइसकेका थियौँ भने कुनै पनि किताब लिँदा पनि दुई एकाने दुई, दुई दुना चार भन्ने अवस्थामा पुग्थ्यौँ । हामी पढ्न तयार भएनौँ या बदमासी ग¥यौँ भने लगेर थुनिदिइहाल्सिन्थ्योे । 

‘यिनीहरुलाई खोलिदिइस् भने मलाई मारे बराबरको पाप लाग्नेछ’ भनेर ममीलाई भनिबक्सिन्थ्यो । तर कहिल्यै पनि पिटेको याद भएन ।

उहाँको अगाडि जसरी पनि पढ्नैपर्थ्यो । ड्याडीको आँखा देखेपछि हामीलाई पुग्थ्यो, उहाँले केही भन्नै पर्दैनथ्यो । 

उहाँको अफिस रंगशालाको नजिकै थियो । हामी फुटबल भनेपछि हुरुक्कै हुन्थ्यौँ । बेला बेला खेल्न र हेर्न पनि गइरहन्थ्यौँ । अनि ड्याडीको अफिसमा पुगिहाल्थ्यौँ, त्यहाँ पाइने केकको लोभले । उहाँ भित्रबाट निकै नरम होइसिन्थ्यो । छोराछोरीलाई अनुशासनमा राख्नुपर्छ भन्नेमा निकै सचेत होइबक्सिन्थ्यो ।

ड्याडीले त्यसबेला सिकाएको अनुशासनको पाठले अहिले काम गरिरहेको छ जस्तो मलाई लाग्छ । 

जागिरकै सिलसिलामा उहाँलाई ‘कार्पेट काण्ड’ लाग्यो । त्यसले उहाँ निकै दुःखी होइबक्सिन्थ्यो । बीचमा दुर्घटना पनि भयो । जस्तोसकुै अवस्था भए पनि अनुशासन र अफिसको मामिलामा उहाँले सम्झौता गरेको पाएनौँ ।

उहाँ जागिरको सिलसिलामा कलकत्तामा पनि पुगिबक्सियो । उहाँ त्यहाँ महावाणिज्यदूत होइबक्सिन्थ्यो । हामीलाई पढाउन पनि कलकत्ता नै लगिबक्सियो ।

ड्याडीको अफिसमा प्रशस्तै गाडी स्टान्डबाई हुन्थे हामी पब्लिक बसमा स्कुल जान्थ्यौँ ।  ‘यो तिमीहरुको लागि होइन’ भनिबक्सिन्थ्यो । कहिल्यै पनि कार्यालयको गाडी चढेर घुम्न पाइँदैनथ्यो ।

काठमाडौंमा रहँदा पनि दसैँ र तिहारको दिन दुई दिनमात्रै हामी ड्याडीको अफिसको गाडी चढ्न पाउथ्यौँ । 

‘बिदाको दिनमा सरकारी गाडी चढ्नु भ्रष्टाचार हो’ भनिबक्सिन्थ्यो । उहाँले त्यसबेला दिएको त्यो शिक्षा आज पनि हाम्रा लागि सान्दर्भिक लाग्छ । 

पछि पनि हामी पढ्न बस्दा हामी तीन दाजुबहिनीको घर खर्च गर्न लगाइबक्सिन्थ्यो र, त्यसका लागि उहाँले बजेट दिइबक्सिन्थ्यो । र, एक खालको बन्धनमा पनि राखिबक्सिएको थियो । तीन महिनाको बजेट हुन्थ्यो । त्यो पालैपालो सञ्चालन गर्नुपर्ने थियो । 

हामी तीनजनामध्ये कसले कम बजेटमा घर खर्च व्यवस्थापन गर्न सक्छ । कम पैसामा सामान ल्याउने, मिठो पकाउने र खुवाउने भन्ने प्रतिष्पर्धा हुन्थ्यो । सायद यो हाम्रो व्यवस्थापन सम्बन्धमा पहिलो तालिम थियो ।

उहाँले कतिसम्म भने मिठो पकाउनेलाई बकस पनि दिइबक्सिन्थ्यो । हामीलाई ड्याडीले धेरै हौसला पनि दिइबक्सिन्थ्यो । मिठो पकाए पनि केही पैसा दिइबक्सिन्थ्यो, उहाँको टाउकोमा फुलेका रौँ निकाले पनि । ड्याडीका लागि कपालमा ठुंग मान्ने र फुलेको रौँ निकाल्ने सोख थियो ।

एउटा फुलेको रौँ निकाले ५ पैसा दिइबक्सिन्थ्यो पहिले । पछिपछि २५ पैसासम्म पुगेको थियो ।

मैले पछि मास्टर्स सकिएपछि आफन्तकहाँ गएका थियौँ– त्यहाँ मलाई पास भएको हुँदा बधाई छ भनेको ड्याडीले सुनिबक्सियो अनि भन्नुभयो– के को बधाई ! यो त पास नै भएको छैन । 

मेरो थेसिस बाँकी थियो । त्यो कुराले मेरो चित्त दुखेछ क्यारे ! मैले लामो समयसम्म थेसिस नै लेखिनँ ।

समय सकिन लाग्यो भनेर गाइडले भनेपछि मात्रै मैले थेसिस लेखेको हुँ । ड्याडीले अनुशासन, लगनशीलता र मेहनत नसिकाएको भए आज पनि सीईओ हुने अवस्थामा पुग्दिनथेँ होला । 

हामी संयुक्त परिवारका सदस्य थियौँ । उहाँले सिक्ने कुरा कहिल्यै सकिँदैन जहिले पनि सिक्नुपर्छ भन्ने मान्यता राखिबक्सिन्थ्यो ।

कतिसम्म भने ममीको उमेर ५८ वर्षको हुँदा उहाँले गाडी चलाउन सिकाइबक्स्यो ।

ममीले त्यसपछि गाडी चलाउन सिकिबक्सेको हो । उहाँले पछि राम्रो गाडी चलाउन थाल्नुभयो । ड्याडीले नै बुहारीहरुलाई पनि गाडी चलाउन सिकाइबक्सियो ।

ड्याडी निकै स्वाबलम्बी होइबक्सिन्थ्यो । कसैको पनि केही कुरा सकेसम्म लिनुहुँदैन भन्ने थियो । कतिसम्म भने अहिले पछिसम्म पनि छोराहरुलाई पनि सकेसम्म दुःख दिनुहुँदैन भनिबक्सिन्थ्यो ।

बिरामी भएर उपचार गर्ने बेलामा होस् वा अन्य कुनै विषयमा । सेवा निवृत्त भएपछि उहाँ घुमफिरमा बढी रमाइबक्सिन्थ्यो । उहाँ रक्सी, चुरोट र तासबाट जहिले पनि टाढा होइबक्सिन्थ्यो । काठमाडौंमात्रै नभएर उहाँ वर्षको दुई तीन महिना चितवनमा पनि बस्न मन पराइबक्सिन्थ्यो ।

समाचारमा दैनिक अपडेट हुनैपर्ने उहाँँको बानि थियो । मन्दिर र चारधाम गइरहनुपर्छ भन्ने मान्यता राखिबक्सिन्थ्यो ।

उहाँको सबैभन्दा मनपर्ने ठाउँ भनेको लुम्बिनी थियो । ड्याडीलाई जिन्दगीमा पढाइदेखि सबै क्षेत्रमा राम्रो काम गरेँ भन्ने लागेको थियो । 

ड्याडीमा ‘इन्टिग्रिटी’ थियो । उहाँमा राजनीतिप्रति कहिल्यै पनि चासो रहेको पाइएन । पञ्चायतकालीन समय थियो । उहाँ दरबारमार्फत पनि काम गरिबक्सियो । कहिले कसैसँग गलत कुरामा सम्झौता गरिबक्सिएन ।

म उहाँलाई ‘बाघ’सँग तुलना गर्थेँ । त्यस्तो ड्याडी पछि बिरामी पर्नुभयो । तर पनि संघर्ष गर्दै अघि बढ्नुभयो ।

हामीलाई पनि कस्तो निरीह बन्नुभयो भन्नेजस्तो लाग्थ्यो । हाम्रो हातमा पनि केही थिएन । हामी दाजुभाइले उहाँको अन्तिम समयमा कहिल्यै पनि छाडेनौँ । अन्तिमसम्म साथ दियौँ । उहाँको मनमा कहिलेकाहिँ छोराहरुलाई दुःख दिएँ जस्तो लागेकोजस्तो देखिन्थ्यो ।

चिकित्सकहरुले पनि निकै मेहनत गर्नुभयो । डा. भगवान कोइराला, ऋषि काफ्ले, डा. यादव भट्टलगायतले निकै राम्रोसँग उपचार गर्नुभयो । 

हामी अहिले जेजस्तो अवस्थामा छौँ त्यो ड्याडीकै योगदानका कारण भएका हौँ । हामी उहाँप्रति जहिल्यै कृतज्ञ छौँ । 

(स्वर्गीय दुर्गा प्रकाश पाण्डेका छोरा दिप प्रकाश पाण्डेयसँग बाह्रखरीले गरेको कुराकानीको सार संक्षेप)
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय