काठमाडौं । यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरिएका स्ट्राइकर डार्विन नुनेजले गोल गरेको खेलमा लिभरपुलले शनिबार राति प्रिमियर लिगको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
उरुग्वेका स्ट्राइकर नुनेज बेन्फिकाबाट सात करोड ५० लाख युरोमा लिभरपुल आएका थिए । लिभरपुलमा पहिलो सिजन नै उनले उपाधिबाट सुरुआत गरेका छन् । नुनेज ५९औँ मिनेटमा मैदान छिरेका थिए । उनले रोबर्टो फिर्मिनोलाई प्रतिस्थापन गरेका थिए । नुनेजले इन्ज्युरी समयमा एन्ड्रयु रोबर्टसनको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।
त्यसअघि, लिभरपुलले ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डको गोलबाट २१औँ मिनेटमा अग्रता लिएको थियो । ७०औँ मिनेटमा युलियन अल्भारेजले बराबरी गोल फर्र्काएका थिए । अल्भारेज पनि ५८औँ मिनेटमा रियाद महारेजको स्थानमा मैदानमा छिरेका थिए । सिटीबाट उनको पहिलो गोल हो ।
८३औँ मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गरेको गोलबाट लिभरपुलले पुनः अग्रता लिएको थियो । नुनेजले इन्ज्युरी समयमा अर्को गोल थपेपछि लिभरपुलले सिजनको पहिलो उपाधि पक्का गरेको हो ।
कम्युनिटी शिल्ड वेम्बली रंगशालामा नभई लेस्टर सिटीको किङ पावर रंगशालामा खेलाइएको थियो । वेम्बलीमा आइतबार महिला युरोपियन च्याम्पियनसिपको फाइनल खेल हुने भएकाले कम्युनिटी शिल्ड किङ पावर रंगशालामा खेलाइएको हो ।
कम्युनिटी शिल्ड प्रिमियर लिग विजेता र एफए कप विजेताबीचको प्रतिस्पर्धा हो । सिटीले गत सिजन लिग उपाधि जितेको थियो भने लिभरपुल एफए कपको विजेता हो ।