काठमाडौं । नेपाली क्रिकेट टोली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले साउन ४ गते साँझ क्रिकेटिङ म्यानेजर विनोद दास र जनरल म्यानेजर वृतान्त खनाललाई दायाँबायाँ राखेर पदबाट राजीनाको घोषणा गरेका थिए । त्यतिबेला पुबुदुले टिमभित्र ‘भुसको आगो’जस्तै सल्किरहेको विवादबारे नेपाली संचारकर्मीसँग धेरै खुलेर बोलेनन् । यद्यपि, उनले संकेत भने गरेका थिए ।
तर, लगत्तै क्यानडाको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले क्रिकइन्फोसँग भने खुलेर बोले । र, नेपाली राष्ट्रिय क्रिकेट टिमभित्र गुट उपगुट रहेको खुलासा गरे ।
यससँगै क्रिकेटमा मैदानबाहिरमात्र होइन मैदानभित्र पनि राजनीति भएको कुरा अब उदाङ्गो बनेको छ । बाउन्ड्री बाहिरको घृणित राजनीतिका कारण नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा परेको घटना अझै पनि क्रिकेटप्रेमीको मानसपटलमा ताजै छ । तर, निलम्बन फुकुवा भएर निर्वाचित कार्यसमितिको एक कार्यकाल सकिन नपाउँदै घृणित राजनीतिले बाउन्ड्रीभित्र पनि प्रवेश पाएको छ । त्यसको असर टिमको नतिजामा पनि प्रष्ट देखिएको छ ।
आफ्नो पहिलो इनिङ्समा नेपाललाई ट्वान्टी–२० विश्वकपसम्म डोहोर्याएका पुबुदुले दोस्रो इनिङ्स भने बिचैमा छाडेका छन् । राजीनामा दिनुमा पुबुदुले पारिवारिक समस्यालाई कारण देखाए पनि कहीँ न कहीँ क्यान र टिमभित्रको अति राजनीति पनि एक कारण रहेको स्पष्ट छ । त्यसलाई पुबुदुले पनि स्वीकारेका छन् ।
पुबुदुले पहिलोपटक नेपाल आउँदा टिमभित्र कहिल्यै समस्या नदेखेको र टिम एकजुट भएर जितका लागि दुई सय प्रतिशत दिएर खेल्ने गरेको बताएका थिए । तर, यसपटक टिमभित्र धेरै समूहहरू रहेको पुबुदुले खुलाएका छन् । खेलाडीको सोचाइमा पूर्ण परिवर्तन पाएका पुबुदुले खेलाडीको ध्यान क्रिकेट खेल्नेमा भन्दा अन्य विषयमा केन्द्रित भएको बताएका छन् ।
पुबुदुको उक्त दृष्टान्तले नेपाली क्रिकेट कसरी गुज्रिरहेको छ भन्ने प्रष्ट हुन्छ । यो त भयो पछिल्लो समय मैदान भित्रको राजनीति । मैदानबाहिर पनि तर घृणित राजनीति सदाबहार चल्छ ।
२०७६ असोज ११ गते चतुरबहादुर चन्द क्लिनस्विप गर्दै क्यान नेतृत्वमा पुगेका थिए । अहिले उनको टिम एकजुट छैन । चर्को विवादकै कारण निर्वाचित सचिव असोकनाथ प्याकृुरेल र उपाध्यक्ष राजाबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । चन्द पक्षले अहिले प्याकुरेल पक्षलाई किनारा लगाउँदै गएको छ । त्यसअघि नै विनयराज पाण्डे लगायतको एउटा हिस्सा तर बाहिर नै थियो । अहिले क्यानमा अध्यक्ष चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनबहादुर सिंहको रजगज चल्दै आएको छ ।
मैदानभित्र र मैदानबाहिरको राजनीतिका कारण नेपाली क्रिकेट अहिले चार वर्षका लागि पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुमाउने बाटोमा छ । त्यस्तै वर्षौंसम्म समाधान हुन गाह्रो हुनेगरी टिमभित्र ‘भुसको आगो’ सल्किएको छ । पैसाको पछाडि दौडँदा क्यानले खेलाडी उत्पादनको मुल जरो मानिने घरेलु क्रिकेट संरचनाको खाकासमेत कोर्न सकेको छैन । आफ्नो कार्यकाल सकिनै लाग्दा पनि क्यान नेतृत्वले घरेलु क्रिकेटको संरचना निर्माण गर्न होइन, नेपाल टी–२० लिग गर्न मरिहत्ते गरेको छ । त्यही पनि विवादरहित बनाउन नेतृत्व अक्षम बनेको छ ।
फुटबलको हाल झनै खराब
क्रिकेटमात्र होइन नेपालको सबैभन्दा लोकप्रिय खेल फुटबलको हालत झनै खराब छ । सुशासन, पारदर्शिता, सामूहिक नेतृत्व, जवाफदेहीताको मुद्दा घन्काएर एन्फा नेतृत्वमा पुगेका पंकजविक्रम नेम्वाङको टिम एक महिना नहुदै क्षतविक्षत अवस्थामा पुगेको छ । जसका कारण अध्यक्ष नेम्वाङ आफैँले एजेन्डासहित बेलाएको पहिलो बैठक सम्पन्न गर्न असफल भएका छन् । असार ८ गते सपथ ग्रहणकै दिन सम्पन्न बैठकबाट गरेका निर्णयहरू पनि विवादरहित हुन सकेनन् ।
तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध जुन मुद्दा उचालेर चुनाव जितेका थिए । पदमा पुगेपछि आफैँले उठाएका मुद्दा बिर्सिएका छन् । र, अहिले फुटबलका महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्थामा नेम्वाङ बैठक सञ्चालन नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
कारण बनेको छ– गणेश थापाका छोरा गौरब थापा र नेपाली नागरिकता त्यागेका जर्मन नागरिक बनेका नवीन पाँडे । शेर्पाविरुद्ध चुनाव लड्दा एक अर्कालाई नेपाली फुटबलका अपरिहार्य मानेका थापा र पाँडे पक्ष अहिले एक अर्कालाई सिध्याउने रणनीतिमा उत्रिएका छन् । एक अर्कालाई प्रधान शत्रु ठानेका छन् । त्यसको मारमा फुटबल परेको छ ।
पाँडेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख नभई भएको छैन । थापा पक्षलाई गौरबलाई एन्फामा नछिराई भएको छैन । तथापि गौरवको नाम अहिलेसम्म औपचारिक रूपमा प्रस्ताव भने भएको छैन । एन्फा पहिलो बैठकबाट अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त भएका पाँडेलाई हटाउन कार्यसमितिकै बहुमत सदस्यले हस्ताक्षर संकलन गरेका छन् । निर्वाचन प्रक्रिया नै सम्पन्न नहुँदै एन्फा गहिरो विवादमा फसेको छ । कार्यसमितिका १९ मध्ये १२ सदस्यले पाँडेकाविरुद्ध हस्ताक्षर गरेका छन् । सामाजिक सञ्जालमा आरोप प्रत्यारोप जारी छ ।
जसका कारण एन्फा आफैँले प्रस्ताव गरेर ल्याएको प्रतियोगिता महिला साफ च्याम्पियनसिपको तयारीमा असर पर्ने निश्चित छ । एन्फासामु अहिले बिचैमा रोकिएको महिला लिग सम्पन्न गर्नुपर्ने छ, त्यस्तै नेपाल सुपर लिगको विवाद टुंग्याउनुपर्नेछ, राष्ट्रिय लिग तथा सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग गर्नु पर्नेछ, वर्ष भरको क्यालेन्डर बनाउनु पर्नेछ, मुख्य प्रशिक्षक र खेलाडीबीचको विवाद पूर्ण रूपमा समाधान गर्नुपर्नेछ ।
राष्ट्रिय टोलीकै खेलाडी विदेश पलयान हुने डरलाग्दो लहर चलेको छ । त्यसको उचित सम्बोधन गरेर नयाँ खेलाडीलाई फुटबलमा प्रेरित गर्ने वातावरण बनाउनुपर्नेछ । तर, यी तमाम विषयलाई पन्छाएर एन्फा नेतृत्व पदीय भागबन्डामै रुमलिएर बसेको छ ।
सबैतिर लथालिङ्ग
फुटबल र क्रिकेटमात्र होइन, अन्य खेलको हालत पनि यो भन्दा एकरत्ति कम छैन । नेपालको राष्ट्रिय खेल भलिबल संघ चुनावी साधारण सभाका लागि व्यस्त छ । भलिबल संघको कार्यसमितिमा ठुलो विवाद नदेखिए पनि त्यहाँभित्र पनि एक अर्कालाई दोषारोपण गर्ने काम हुन्छन् । हालको उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उमेदवारी घोषणा गरिसकेका छन् ।
उनीविरुद्ध अहिलेसम्म कसैले उम्मेद्वारी घोषणा गरेका छैनन् । हालका महासचिव जितेन्द्र चन्द जोखना हेरेर बसेका छन् । भदौ २२ गते हुने निर्वाचनका लागि सरकारमा जस्तै भलिबल संघमा पनि गठबन्धन बनेको संघका पदाधिकारी बताउँछन् । कांग्रेस, माओवादी र जसपा पक्षधर एक ठाँउमा उभिएका छन् । एमाले पक्षधर अर्को कित्तामा रहेको बताइएको छ ।
पछिल्लो समय भलिबलका गतिविधि बढेको छ । तर, अझै पनि घरेलु संचरनाको स्पष्ट खाका बनाउन संघ असफल छ ।
महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । जितेका छन् । घरेलु प्रतियोगितामा पनि व्यस्त छन् । महिला टोलीको तुलनामा पुरुष टोलीको प्रतियोगिता कम छन् । तर, भएका छन् । त्यसका बाबजुद अझै पनि भलिबल संघ आफैँले आयोजना गर्ने प्रतियोगिताको संख्या कम छन् । धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्ने घरेलु संरचना अझै बन्न सकेको छैन ।
एथलेटिक्सलाई खेलको राजा मानिन्छ । खेलकुदको सबैभन्दा ठूलो महोत्सव ओलम्पिकमा अनिवार्य सहभागितामा एथलेटिक्स पर्छ । पछिल्लो समय एथलेटिक्स परिवार नेपाल विधिवत रूपमा दर्ता भएर सञ्चालनमा आएपछि एथलेटिक्स संघका पदाधिकारी झस्किएका छन् ।
भर्खरै वुद्धिचाल (चेस)संघको निर्वाचन सम्पन्न भएको छ । त्यही पनि विवादरहित छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रतिनिधि नराखिएकाले चुनावको वैधानिकतामाथि नै एक समूहले प्रश्न उठाएको छ । अर्को पक्षले आफूहरू वैधानिक रूपमा निर्वाचित भएको दाबी गर्दै आएको छ ।
नेपाल बक्सिङ संघ भित्रको विवाद लामो समयदेखि कायम नै छ । वुद्धिचालको जस्तै एथलेटिक्स संघको विवाद पनि कायमै छ । कराते संघ पन त्यसबाट अछुतो छैन । कराते र तेक्वान्दोलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पदक जित्ने सम्भावना भएको खेल मानिन्छ । दुवै संघमा लामो समयदेखिको विवाद कायम छ । पदाधिकारीले पदका लागि गर्ने विावादका कारण खेलाडी सधैँ मारमा परेका छन् ।