काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि टोटनहमले शनिबार राति सिजन पूर्वको मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २–१ ले हराएको छ ।
रेन्जर्सले २४औं मिनेटमा एन्टोनियो–मिर्को कोलकले गोलबाट अग्रता लिएको थियो । टोटनहमका केनले ५०औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको ६ मिनेट वित्न नपाउँदै इङ्ल्यान्डका कप्तान केनले सन ह्युङ–मिनको चतुर पासमा गरेको गोल टोटनहमको जितमा निर्णायक बन्यो ।
शनिबार नै म्यानचेस्टर युनाइटेड र एष्टन भिल्लाले २–२ को बराबरी खेले । युनाइटेडका लागि जाडोन सान्चोले एक गोल गरे । अर्को गोल म्याटी क्यासबाट आत्मघाती गोल उपहार पाएको थियो । एष्टन भिल्लाका लागि लियोन बैली र कालुम च्याम्बर्सले एक–एक गोल गरे ।
त्यस्तै वुल्भरह्याम्पटनले बेसिकटासलाई ३–० ले पराजित गर्यो । प्रिमियर लिगकै अर्को क्लब ब्रेन्टफोर्ड जर्मनीको वुल्फ्सबर्गसँग ४–० ले पराजित भयो । ब्राइटनले रिडिङलाई २–१ ले हरायो । क्रिष्टल प्यालेसले क्यूपीआरलाई ३–० ले हराउँदा वेष्ट ह्यामले लुटनसँग १–१ को बराबरी खेल्यो ।