site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौलामा बाँधिएको राँगो : चेतनाको उचाइ उक्लिरहेको झिल्को

नवीन अभिलाषीसँगको मेरो परिचय धेरै पुरानो होइन । नेपाल टेलिभिजन कोहलपुरमा एक दिन उनीसँग भेट भयो र त्यही दिन चिनजान पनि । कुनै अनलाइन पोर्टलहरूमा फाट्टफुट्ट उनका कविता हेरेको हुनुपर्छ । कहिलेकाहीँ टेलिभिजनमा उनको समाचार वाचन पनि ।

खैर, यति बेला नवीनको कविताको चर्चा गरौँ । नवीन अभिलाषी यस समयका चर्चित र शालीन कवि हुन् । उनका कविताहरू जति सुन्दर छन्, उनको वाचन शैली अझ बढी सुन्दर रहेको म पाउँछु । नवीनको आवाजमा मधुरता पाउँछु म ।

यसअघि नै उनका दुईवटा संग्रह प्रकाशित भइसकेका रहेछन् । ‘ईश्वरको अस्थिपञ्जर’ (२०७३) र ‘एकात्म’ (२०७६) । यी दुवै कृति मैले पढ्न पाएको छैन । यद्यपि, मेरो हातमा यति बेला नवीनको ‘मौलामा बाँधिएको राँगो’ छ ।

यस कृतिमा कुल ४८ वटा कविताहरू छन् । यस्तो लाग्छ, नवीनसँग शब्दहरूको अथाह भन्डार नै छ । उनी शब्द खेलाउन, शब्दहरूको छनोट गर्न र त्यसलाई उपयुक्त तवरमा प्रयोग गर्न सिपालु छन् । अझै भनौँ, उनी कविता लेख्दा चिम्टिले निकै कुशलतापूर्वक शब्दहरू टिप्छन् र जहाँ आवश्यक छ, त्यहाँ थपक्क राख्ने सामर्थ्य राख्छन् ।

नवीनका कविताले वैचारिक उचाइका कवितामा कलात्मक पहिरन लगाएको अनुभूत हुन्छ, हामीजस्ता पाठकलाई । नवीन धेरैलाई प्रश्न सोध्छन् टेलिभिजनको पर्दामा । र, कवितामार्फत पनि प्रश्न सोध्न छोडेका छैनन्, उनले ।

उनी गज्जबका पाठक हुन् । बजारमा कुनै पुस्तकले तंरग ल्याएको छ र त्यो पुस्तक नवीनको हातमा नपुगेको होस्, यो हुनै सक्दैन । अर्थात्, उनी सचेत पाठक हुन् । आफूले पढेका पुस्तकको गम्भीर समीक्षा लेख्छन् । एउटा कवि समालोचक हुनु जरुरी छ ? एउटै व्यक्तिभित्र अनेक आयाम बोकेर हिँडेका कवि नवीन उनका कविताजस्तै मलाई साँच्चै रहस्यमयी लाग्छन् ।

साहित्यको सशक्त विधा मानिन्छ कविता । यसमा कुनै सन्देह छैन । कविता लेख्नु मात्र हैन, पढ्नु पनि तपस्या गरेजस्तो हो । मलाई त्यस्तो लाग्छ । त्यसो त इजलासमा कवितामाथि निर्णय दिने न्यायाधीश होइन, म ।

नवीनसँगको जुन न्यानो आत्मीयता छ, म उनका कविताहरूलाई त्यही प्रेमिल नजरबाट हेर्दछु । म नवीनका कविता कसी लगाउन तराजु लिएर बसिरहेको होइन ।

उनका कविता पढ्न बस्दा मनमा बारम्बार उनको आकृति आउँछ । त्यो आकृति घरी दर्शन बोलिरहेको हुन्छ, घरी विचार । घरी कसैको पैरवी गरिरहेको हुन्छ अनि पहिचानको मुद्दा पनि उठाइरहेको हुन्छ ।

नवीन कविताको लामो यात्रामा निक्लिएका योद्वाझँै लाग्छन् । उनले यति सानो कृतिमा सिंगै नेपाली समाजको मनोविज्ञान, अर्थराजनीति, धर्म, दर्शन र विज्ञानको विराट भूगोललाई अँटाएका छन् ।

यो कवितासंग्रहमा पाँच खण्ड छ । ‘धूलोको उडान’, प्रेम ः पातहरूको आयु’, ‘दागहरूको पोष्टमार्टम’, ‘झ्यालभित्रबाट’ र ‘आफ्नै टाउको खोज्दै’ । यी भित्री खण्डका उपशीर्षकहरू हुन् । जहाँ रवि रोदनले निर्माण गरेका चित्रहरूले खण्डमा समावेश कविताको मर्मलाई व्यक्त गर्छ । बाहिरी आवरणले किताब जति आकर्षक छ, भित्री सजावट पनि उत्तिकै सुन्दर छ ।

‘धूलोको उडान’ खण्डमा वर्तमान नेपाली समाजको तल्लोस्तरबाट समाजलाई हेर्न खोजिएको छ । हुँदा खाने र पुर्याएर लगाउने वर्गको कथालाई मिहिन रूपमा व्यक्त गरिएका कविताहरू यसमा छन् ।

हरेक घरको छानो बाबु हुन्छ । हरेक मानिसको जीवनमा बाबु विशाल र फराकिलो हुनुको अनुभूति हो । बाबु भनेको छोराको लागि कलम हो, साइकल हो, पेस्तोल हो, जीवनको मार्ग हो । बाबु रहुन्जेल छोरा राजकुमार बन्छ । तर, त्यही बाबु गुमाउनु भनेको एउटा छोराले धेरै थोक गुमाउनु हो ।

‘बुवा र बाको पुरानो चप्पल’ बाउको कथा भन्ने कविता हो, जसले सबै प्रकारका पाठकलाई छुन्छ ।
‘म बुवा भएको ठिक महिना दिनमा
बुवा गुमाएपछि मात्रै म बुवा भएँ,
त्यसपछि मैले घर छोडनुपर्यो, गाउँ छोड्नुपर्यो बिस्तारै’  (पृष्ठ १३)

सुन्छु, नवीन निराशावादी कविता लेख्छन् । कसैको पनि जिन्दगीमा एकोहोरो सादगी मात्र हुँदैन । र, कसैको रंगीन मात्रै पनि त हुँदैन । पृथ्वीमा रात र दिन भएजस्तो, जीवनमा आँसु र उत्साह भएजस्तो, नवीनका कवितामा पनि आँसु र उत्साह छन् । र छन्, उज्यालाका प्रशस्त किरणहरू । जसका कारण उनी निरास छैनन् भन्न सकिन्छ ।

फगत नाराले निर्माण गरेका कविताहरू चर्चामा रहेको बेला नवीनका कविता कलात्मक र विम्बात्मक शैली बोकेर आएका छन् । उनका हरेक कविताका प्रत्येक हरफमा विम्ब, प्रतीक, अलंकार, व्यञ्जना र पौराणिक मिथक भेट्न सकिन्छ ।

समग्रमा उनले किताबबाट मानव जीवनलाई अनेक कोणबाट नियालेका छन् । प्रत्येक कविताले अलग–अलग सामाजिक कथा बोकेका छन् ।

दोस्रो खण्ड प्रेमपूर्ण छ । प्रेमलाई पातहरूको आयुसँग जोडेर कविले यो भाव सम्बन्धलाई क्षणभंगुर बताएका छन् । कवितामा प्रेमलाई निराश देखाएका छन् । आधादर्जन बढी कविताले वर्तमान समाजको बजारिया प्रेमलाई जस्ताको त्यस्तै देखाएको छ ।

कविले सम्बन्धका हिस्सेदार व्यक्तिमाथि आरोप थुपारेका मात्र छैनन्, आक्रोश पोखेका छन् । प्रेम कवितामा कोमलताको सीमा छैन भने क्रूरताले पाराकाष्ठा पनि नाघेको छ ।

नवीनले प्रेमका कुरा गर्दै गर्दा नेपाली समाजमा कहिल्यै खाटा नबस्ने घाउका मुद्दा पनि उठाएका छन् । दागहरूको पोष्टमार्टम खण्ड नेपाली समाजको विकृतपूर्ण इतिहासले निर्माण गरेको चोटहरूको फेहरिस्त हो । यो भागदौड जिन्दगीबाट केही बेर अलग्गिएर आफैलाई नियाल्ने फुर्सद नमिल्न पनि सक्छ । 
‘त्यो साँझ
हात चुठ्न रछ्यान निस्केका दाज्यु
दलानमा लोटा राखेर
धेरै टाढा गएका छैनन् ।
भाउजू, यसरी किन फुटाउनुभयो चुरा ?’ ( पृष्ठ ५९)

राजनीतिक सत्ताले कोरेको विभेदको बाटो, वर्ग व्यवस्थाको फराकिलो गरिबी, वर्ण व्यवस्थाले निर्माण गरेको उत्पीडन, पितृसत्तात्मक समाजले बसालेको लैंगिक प्रताडनाहरू र भूगोलको विकटताले मूलधारबाट बहिष्करणमा गरेका धेरै–धेरै समाज र समुदायका कथा छन्, कवितामा ।

झ्यालभित्रबाट खण्ड पढेपछि थाहा हुन्छ कविताको गहिराइ । सचेतनापूर्वक लेखिएका कविताको शक्ति थाहा हुन्छ । धर्म, विज्ञान र दर्शन कविता भएर कसरी आउँछन् भन्ने कुरा पाठकलाई नवीनका कविताले बताउँछ ।

उनी शासकसँग प्रश्न गर्छन् । देशसँग प्रश्न गर्छन् । नवीनले हरेक कवितामा एउटा प्रश्न छोडिरहेका छन् । कहिलेकाहीँ त्यो प्रश्न पाठकका लागि पनि हुन्छ । उनी स्वतन्त्रताको अर्थ खोज्छन् । हामीले पाएको स्वतन्त्रता पर्याप्त छ त ?
‘म मौलामा बाँधिएको राँगो
कुन खुँडा सुहाउला मेरो गर्धनमा – हेर्दै छु ।’ (पृष्ठ ८३)

उनका कविताहरूमा कैद शब्द वजनदार बन्न पुगेका छन् । उनी संवेदनशील भएर कविता लेख्छन् । त्यही संवेदनशीलताले उनलाई बहकाइदिने खतरा बढ्छ । मौलामा बाँधिएको राँगो के सोच्छ होला ? एक छिनपछि काटिन्छ र सदा सदाका लागि अस्तित्व गुमाउँछ । मृत्यु चेतनाको उच्चतम विचारले यो कविता शृंगारिएको छ । यति गहिरो भावका कविता लेख्ने नवीनलाई निराशावादी कविता लेख्छ भनेर मात्रै पार पाइँदैन ।

May be an image of text

नवीनका कवितामा थारु पहिचानका कुरा पनि उठेका छन् । जीवन दिने बा–आमाका कविता छन् । प्रेममा धोका खाएका कविता छन् । राज्यसँगका गुनासा छन् । विद्रोहको फिलिंगो सल्काएकासँग प्रश्न छन् । समाजसँग प्रश्न छन् ।

उनको कवितासंग्रहमा दर्शनका कविता पनि छन् । विद्रोहका कविता छन् । यी यावत् कविताले गहिरा भाव बोकेका छन् । उनी हरेक विषयलाई फरक कोणबाट हेर्दछन् । त्यो आभास पाठकलाई हुन्छ ।

कविताले व्यक्त गरेको आक्रोश र असन्तुष्टि अहिलेका पाठकको भाव हो । कविता निहित शालिनता पनि पाठककै हो । उनका कवितालाई मार्क्सवादी दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । जातीय पहिचानका कुरा, मसी र कलमको निबका कुरा छन् । यसरी मसिना–मसिना कुराले महान् विचारलाई अंगीकार गरेको छ । 
‘डरलाग्दो छ, यो साँझ
र मुर्कुट्टाहरू मनाइरहेछन् उल्लास
तर बादशाहहरू
टाउकाहरूको बजार थापिरहेछन् ।’

कवितासंग्रह हेर्दा आकारमा सानो देखिन्छ । तर, हरेक विषयवस्तुलाई छोएको छ । गम्भीर भएर पढेपछि मात्र तिनको भाव बुझ्न सकिन्छ । कविता पढेपछि त्यसले दिनभर मथिंगल टन्किइरहन्छ । चिन्तनमा सुनामी आउँछ । झन्–झन् गहिराइमा पुगेर पढ्न प्रेरित गर्छ । हतारमा पढेर सायद यसको स्वाद लिन सकिँदैन ।

नवीनका कविता आरनमा खारिएर आएका उज्याला फलामका कोइलाजस्ता छन् । उनका कविताले झिल्कोजस्तै दिमागको बत्ती बाल्ने ल्याकत राख्दछ । कृतिले नवीनलाई एउटा सशक्त कविका रूपमा लामो समयसम्म सम्झाइराख्नेछ ।

कविताको बुझाइ सापेक्षिक हुन्छ । त्यसैले पनि किताब पूर्ण छैन । कतिपय विम्बहरू दोहोरिएजस्तो आभास हुन्छ । कुनै कविता सुरुवातमा जुन रूपमा चोटिलो भएर आएको छ, अन्त्य त्यही रूपमा नभएको हो कि जस्तो लाग्छ । सामान्य पाठकका लागि सबै कविताहरू बोधगम्य नहुन सक्ने जोखिम छ ।

यद्यपि, नवीन एक आसलाग्दा कवि हुन् । उनका कविताले उचाइ नापेका छन् । तर, समाजमा सधैँ कवि जोखिममा रहन्छ । खतरामा बाँच्छ । यो नेपाली साहित्यवृत्तमा देखिएको एउटा रोग नै हो । त्यो भनेको गुट–उपगुटमा विभक्त हुने परिपाटीले सशक्त कवि र कवितालाई कमजोर पार्ने प्रयास हुन्छ ।

त्यसभन्दा माथि उठेर मौलामा बाँधिएको राँगोमा कैद कविताहरू अहिलेका बहसका विषय हुन् । कवितामा बहस–विमर्श आवश्यक छ ।

पूर्वी नेपालमा कविता अभियान सशक्त छ । कविताका सवालमा  पश्चिमको माहोल भने केही कमजोर छ । मौलोमा बाँधिएको राँगोजस्ता कविताकृतिहरू यसैगरी निक्लने हो भने पश्चिम नेपाल पनि कम छैन भन्ने सन्देश प्रवाह हुन सक्थ्यो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro