वन्दना/बीबीसी हिन्दी । “यस चलचित्रका पात्र, कथा र घटनाहरू काल्पनिक हुन् । कुनै जाती, जीवित वा मृत व्यक्तिसँग यसको कुनै सम्बन्ध छैन । यदि त्यसो हो भने ती काल्पनिक हुन् ।”
फिचर चलचित्रमा यो अनिवार्य लाइन हो । प्राय: फिचर चलचित्र सुरु हुनुअघि हामी यो लाइन देख्न सक्छौँ । त्यसैले याद रहोस् कि तपाईंले आगामी २–३ घण्टा जुन चलचित्र दुनियाँका पात्रहरू हाँस्दै–खेल्दै, रुँदै, पीडा सहँदै र कहिलेकाहीँ मरेको देख्नु हुनेछ । ती सबै कल्पना मात्र हुन् । जसको वास्तविकतासँग टाढा–टाढासम्म पनि कुनै सम्बन्ध छैन ।
ठ्याक्कै, यही तीन लाइन सन् २००५ मा रिलिज भएको चलचित्र ‘माई ब्रदर निखिल’ सुरु हुनुअघि पर्दामा देखा पर्छन् । यदि तपाईंलाई याद छैन भने युट्युबमा गएर हेर्न सक्नुहुन्छ । तर, फरक यति छ कि चलचित्रमा देखाइएका यी तीन लाइन सत्य होइनन् ।
किनभने ‘माई ब्रदर निखिल’ डोमिनिक डिसुजा नामक एक युवाको वास्तविक जीवनबाट प्रेरित भएको हो । यो पात्र काल्पनिक थिएन । चलचित्रको आवश्यकता अनुसार परिमार्जन गरिए पनि मासु र रगतले बनेको वास्तविक मानिससँग सम्बन्धित चरित्र थियो ।
तर, सेन्सर बोर्डको निर्देशनमा निर्देशकले यो तीन फेक लाइन लेखिदिए आफ्नो चलचित्र दर्शकसामु ल्याउन ।
गोवाका डोमिनिक समलैंगिक थिए र उनी भारतमा एचआईभी पोजिटिभ भेटिएका पहिलो व्यक्ति थिए । यो सन् १९८९ को कुरा हो ।
भ्यालेन्टाइन डे (प्रणय दिवस)का दिन बिहानै डोमिनिकलाई प्रहरीले अचानक पक्राउ गरेर लग्यो र परीक्षणपछि उनलाई सेनेटोरियममा पठाइयो र त्यहाँबाट अदालतले उनलाई (हाउस अरेस्ट) घरमै नजरबन्दमा मा पठाइयो ।
धेरै महिनाको कानुनी लडाइँपछि डोमिनिक नजरबन्दीबाट मुक्त भए । त्यहाँबाट निस्केर उनले एड्सको क्षेत्रमा धेरै काम गरे । तर सन् १९९२ मा उनको निधन भयो ।
समलैंगिक चलचित्र ‘माई ब्रदर निखिल’ बनाउँदाको समस्या
हरेक वर्षको जुन महिना ‘प्राइड मन्थ’को रूपमा मनाइन्छ । जहाँ एलजीबीटीक्यू समुदायका मुद्दामाथि कुरा हुन्छ । ‘माई ब्रदर निखिल’ समलैंगिकताको विषयमाथिको चलचित्र हो ।
तर जब निर्देशक ओनिरले यो चलचित्र बनाए, यसलाई न निर्माण गर्न सजिलो थियो न त यसलाई सेन्सरबाट पास गराउन नै । २००५ त्यो समय थियो जब भारतमा समलैंगिकता अपराधको श्रेणीमा पर्दथ्यो ।
‘माई ब्रदर निखिल’ त्यस्तो युगमा बनेको फिल्म हो, जुन ‘धारा ३७७’ भारतीय दण्ड संहिताको एउटा हिस्सा थियो । यसको मतलब निर्माताले सत्य थाहा पाएर अनि उक्त व्यक्तिको वास्तविक अस्तित्वबारे जानकार भएर पनि नकार्न बाध्य हुन्थ्यो ।
एलजीबीटीक्यू मुद्दामा बनेका मुख्य चलचित्रहरू
फायर–१९९६, दरमियां–१९९७, तमन्ना–१९९७, माई ब्रदर निखिल–२००५, अलीगढ–२०१४, इक लड्की को देखा तो ऐसा लगा–२०१९, बधाई दो–२०२२ ।
समलैंगिकता माथि बनेका चलचित्रहरू
एलजीबीटीक्यू मुद्दाहरूमाथि चलचित्रहरू निर्माण गर्नु हिन्दी चलचित्रका लागि लामो समयसम्म एउटा नाजुक र जटिल मुद्दा बन्यो । आजको मितिमा ‘बधाई दो’, ‘चण्डीगढ करे आशिकी’, ‘इक लडकी को देखा तो ऐसा लगा’ जस्ता फिल्महरू बनाउन, रिलिज गर्न सजिलो भयो । तर, यहाँसम्मको यात्रा अनिश्चित अनि अप्ठ्यारो रहयो ।
यो शताब्दी अघिको अवधिमा न त समाज तयार थियो न त चलचित्रकर्मी नै । प्रायः एलजीबीटीक्यू समुदायसँग सम्बन्धित पात्रहरू, पात्रहरू नभएर घोचपेच र ठट्टा अनि मजाको माध्यम मात्रै थिए । जानीनजानी ठुलाठुला चलचित्रमा यस्तो भएको छ ।
फिल्म ‘शोले’ मा हिटलरको जमानाका जेलर र कैदी नम्बर ६ सँगै जेलमा रहेका जय र वीरुलाई सम्झिन सक्नुहुन्छ ।
त्यो केही मिनेटको मात्रै रोल थियो, र प्रत्यक्ष रूपमा पनि बोलिएको थिएन । तर जुन रूपमा जेलरले कैदी नम्बर ६ लाई हेर्छ, धर्मेन्द्रसँग कुरा गर्दा उसले देखाउने हाउभाउबाट तपाईले बुझनुहुन्छ कि ऊ को हो भनेर ।
यसका साथै उसको सर्टमा लेखिएको ‘कैदी नम्बर ६’ ले त्यो छविलाई अझ बलियो बनाउँछ । सबैलाई थाहा छ कसरी ‘छक्का’ लाई ट्रान्स समुदायको लागि अपमानजनक शब्दको रूपमा प्रयोग गरिन्छ ।
पहिलो समलैंगिक चलचित्र
त्यो समयमा यस विषयलाई छान्नु र यसमाथि चलचित्र बनाउनु आफैँमा चुनौतिको कुरा थियो ।
यस सन्दर्भमा सन् १९७१ मा आएको एउटा त्यस्तो चलचित्रको बारेमा कुरा गर्न जरुरी छ । जसलाई प्रायः फिल्म विशेषज्ञहरू समलैंगिकताको विषयलाई छुने पहिलो चलचित्र पनि भन्छन् ।
प्रेम कपूरले बनाएको यो चलचित्रका कलाकार अनि समग्र चलचित्रको बारेमा तपाईं हामीलाई खासै जानकारी होला । यस विषयमा बोल्ने जति स्वतन्त्रता १९७१ मा थियो, त्यसकै आधारमा चलचित्रले यस विषयलाई छुन मात्रै सकेको छ ।
यस्तै, एउटा प्रयास सन् १९९५ मा पनि भयो । यसलाई बल्ल हिन्दी चलचित्रको पहिलो समलैंगिक चलचित्र भन्न सकिन्छ । किनभने यसमा खुल्ला रूपमा यस विषयलाई स्थान दिइएको छ । ‘अधूरे’ नामको उक्त चलचित्रमा इरफान खानले काम गरेका छन् । यद्यपि यो चलचित्र सेन्सर बोर्डबाट पास हुन सकेनन् ।
समलैंगिक पात्रहरू केवल स्लट्सका लागि ?
किन र कसरी एलजीबीटीक्यू समुदायसँग जोडिएका पात्रहरू स्लट्सका रूपमा मात्र प्रदर्शन गरिन्छ भन्ने कुरामा लगातार बहस जारी छ ।
सन् २०१९ मा आएको ‘हाउसफुल’ जस्ता फ्रेन्चाइजीको चलचित्रमा भएको एउटा डायलग, “यसको जेन्डरको टेन्डर भएको छैन ।” यो लगायत चलचित्रमा सुनिने थुप्रै संवादले यी पात्रलाई मजाकको मुद्दा बनाइरहेको प्रष्ट हुन्छ ।
यदि रिवाइन्ड मोडमा हेर्ने हो भने पछिल्लो २–३ दशकको सबैभन्दा हिट र राम्रो फिल्ममा यो समस्या देखिन थाल्छ । ती समयमा चलचित्रमा यी पात्रहरू या त मजाकका माध्यम थिए वा पूर्ण रूपमा नकारात्मक थिए ।
सन् १९९७ मा आएको महेश भट्टको चलचित्र ‘तमन्ना’ मा टिकु (परेश रावल) नामका एकजना ट्रान्सजेन्डर क्यारेक्टरलाई सबै स्टेरियोटाइपबाट टाढा राखेर एउटा सामान्य मानिसको रूपमा देखाइयो । जसको भावना हुन्छ, जसको सन्तान पनि हुन्छ । तर, के ती बच्चीले ट्रान्सजेन्डरलाई आफ्नो आमा वा बुबाको रूपमा स्वीकार गर्न सक्छे ? यो चलचित्र पनि सत्य कथामा बनेको हो ।
सोही साल आएको कल्पना लाज्मीको ‘दरमिया’ मा आमा (किरण खेर) र उनको छोरा (आरिफ जकारिया) को कथाको तह खोल्छ– त्यस्ती आमा जसले आफ्नो छोरा ट्रान्सजेन्डर समुदायबाट आएको थाहा पाउँछिन् ।
त्यस्तै, सन् १९९६ मा आएको ‘दायरा’ ट्रान्सवेस्टाइट (निर्मल पान्डे) र रेप सर्भाइवरको कथा, जसले जेन्डरको समाजिक दायरामाथि प्रश्न उठाउछ । यद्यपि सामाजिक स्तरमा सबैभन्दा ठूलो हंगामा सन् १९९६ को दीपा मेहताको चलचित्र ‘फायर’ बाट भयो ।
सन् १९९६ को ‘फायर’देखि सन् २०१९ को ‘इक लड्की को देखा तोद ऐसा लगा’को यात्रा तय गर्न २३ वर्ष लाग्यो । दुई महिलाबिचको प्रेमकथा भन्न, दुई पुरुषबिचको प्रेमकथा सुनाउने चुनौती जोखिमपूर्ण थियो ।
तर सन् २०२२ सम्म आउँदा यो चुनौती कलाकार, लेखक र फिल्मकार सबैले उठाइरहेका छन् ।
सन् २०१४ को कुरा हो, कुर्ता र चुडिदार सुरुवालमा आत्मविश्वासले भरिपूर्ण एक महिला आमिर खानको शो ‘सत्यमेव जयते’ मा आइन् । उसको नागजल धालीवाल हो ।
गजलले आफ्नो परिचय दिने क्रममा आफ्नो जन्म एक पुरुषको रूपमा भएको बताए । त्यहाँ उपस्थित हरेक दर्शकको अनुहारको रंग नै फेरियो ।
गजलले नै ‘इक लड्कीको देखा तो ऐसा लगा’ कथा लेखेकी हुन् । जुन दुई महिलाबीचको प्रेमकथा हो । उनी आफैँ पनि शल्यक्रियापछि पुरुषबाट महिला बनेकी हुन् ।
चलचित्रमा देखाइने परिवार जस्तै रियल परिवार र समाज पनि यो विषयलाई लिएर त्यसरी नै विभाजित छन् । शताब्दीदेखि चल्दै आएको पारिवारिक कलह र नयाँ गुगको कानुनी सत्य आज पनि आमने–सामने भएको देखिन्छ ।
समलैंगिकतामाथि कानुन र समाजको हेराइ
सहमतिमा हुने समलैंगिक सम्बन्धलाई अपराधमुक्त गर्नेमा भारत, नेपालपछि दक्षिण एसियाको दोस्रो देश बनेको छ । यो निर्णय आएको झण्डै चार वर्ष भयो र परिवर्तनको आवाज पनि देखिन थालेको छ ।
समलैंगिकतामाथि केही देशको कानुन हेर्ने हो भने यस्तो देखिन्छ,
भारत– सहमतिमा हुने समलैंंगिक सम्बन्ध अपराध होइन ।
नेपाल– २००७ मा अपराधमुक्त ।
चीन– १९९७ मा अपराधमुक्त ।
इरान– मृत्युदण्ड ।
फ्रान्स, अमेरिका, ब्रिटेन र न्युजिल्यान्ड– समलैंगिक विवाहको अनुमति ।
डिजिटल र इन्टरनेटका कारण पनि यस्ता थुप्रै मुद्दाहरू बाहिर आउन सजिलो भएको छ । यस समुदायकाहरू खुलेर अगाडि आउन थालेका छन् र विस्तारै समाजको हेराई पनि परिवर्तन हुँदै छ । तर, अझै पनि कैयौँ पर्दा उघारेर अधुरो अनि लुकेका पाटोहरू बाहिर ल्याउन र आउन बाँकी नै छ ।