मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा सवारीसाधन एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर नखुलेका अन्दाजी ३५/३६ वर्षका एक पुरुष रहेको प्रहरीले जनाएको छ । उनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हाे ।
दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो विङ्गर एकापसमा ठक्किँदा दुर्घटना भएको हो । रासस