काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नवनियुक्त राजदूतहरूसँग छलफल गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूको सुरक्षाका विषयमा चासो व्यक्त गरेका छन् ।
बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दान बहादुर तामाङसँगकाे छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरूले पाउने गरेका दुख, समस्याका विषयमा चासो व्यक्त गरेका हुन् ।
उनले दुवै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका विषयमा ध्यान दिन आग्रहसमेत गरे । "यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरू धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनिहरूलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटनाहरू आइरहन्छन्, यसबारे विषेश ध्यान दिन म आग्रह गर्न चाहन्छु," मन्त्री कुँवरले भने ।
उनले कामदारलाई परेको समस्या समाधानका लागि दूतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । विदेशमा नेपाली कामदारहरूको हुने गरेको मृत्युका विषयमा समेत गम्भीर भएर बुझ्नका लागि पनि मन्त्री कुँवरले राजदूतहरूसँग आग्रह गरे ।
मन्त्रालयका सचिव एक नारायण अर्यालले विदेशमा कोमामा, र अंगभंग भएर उपचार गराइरहेका नेपाली कामदारहरूको उद्धारका लागि सरकार गम्भीर रहेको र दूतावासहरूले सोहीअनुसार काम गर्नुपर्ने बताए । उनका अनुसा अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदारहरू कोमामा उपचाररत छन् ।
त्यस्तै, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले यो आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी साउदीमा १ लाख ८८ हजार ३९८ जना नेपालीहरू रोजगारका लागि गएको बताए ।
साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभएपनि विभिन्न माध्यमहरूबाट नेपालीहरू साउदी जाने संख्या ठुलो रहेको छ ।
रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारहरूमा वैधानिकीकरण, स्वास्थ्य बिमा, दोहोरो सम्झौता, प्रमाणीकरण, अवैधानिक रूपमा गएका कामदारको शव उद्धार, महिला कामदारको सुरक्षा र न्युनतम् पारिश्रमिकसमेत नपाउने लगायत समस्याहरू रहेको उल्लेख गरे ।
साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए ।
अवैधानिक रूपमा कामदारहरू जाँदा विभिन्न जटिलताहरू रहेकाले दुवै सरकारबीच श्रम सम्झौता भएको खण्डमा त्यो न्यूनीकरण हुँदै जाने उनकाे भनाइ छ । साउदीमा समस्यामा परेका कामदारहरूको उद्धार र राहातका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
कामदारले भाेग्ने समस्या समाधानका लागि मन्त्रालयसँग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्ने समेत उनले बताए ।
यस्तै, दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत तामाङले दक्षिण अफ्रिकामा नेपाली कामदारहरू समस्यामा परेका खबरहरू खासै नआएपनि कामदारहरूका विषयमा आफू सचेत रहेको बताए । उनले दक्षिण अफ्रिकासँग केन्या, तान्जेनियामा जेल र अस्पतालमा रहेका नेपालीहरूको उद्धारका लागि पहल गर्ने बताए ।