काठमाडौं । सिभिल बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले मुद्दती योजना सहितका जीवन बीमा र दुर्घटना बीमामा दोब्बर प्लस र तेब्बर प्लस योजना सार्वजनिक गरेको हो । उक्त मुद्दती योजनामार्फत बैंकले १० लाख रुपैयाँसम्मको जीवन बीमा सुबिधाका साथै १० लाख रुपैयाँको दुर्घटना बीमा सुबिधा पनि प्रदान गर्ने बताइएको छ । बीमा योजना रिलायन्स लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको छ ।
यी मुद्दती योजनाहरुअन्तर्गत ग्राहकले दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधाबिना कुनै झन्झट उपलब्ध गराइने बताइएको छ ।
बैंकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आएको पनि जानकारी दिएको छ । हाल बैंकले ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएममार्फत सेवा दिँदै आएको छ ।