
मस्को । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अब रुसको सैन्य लक्ष्य युक्रेनको पूर्वी भागमा मात्र केन्द्रित नरहने बताएका छन् ।
रुसी सरकारी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा लाभ्रोभले पश्चिम जगतले युक्रेनलाई लामो दुरीका थप शक्तिशाली र अत्याधुनिक हातहतियार उपलब्ध गराएपछि मस्कोले सामरिक नीति परिवर्तन गरेको जानकारी दिएका छन् ।
उनले आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि रुसले युक्रेनी फौजलाई युद्धको अग्रमोर्चाबाट टाढा भगाउनुपर्ने पनि बताएका छन् । संयुक्त राज्य अमेरिकाले रुसले युक्रेनका विभिन्न भागहरू कब्जा गर्ने तयारी गरिरहेको आरोप लगाउने गरेको थियो ।
युक्रेनको पूर्वी दोन्बास क्षेत्रमा रुसी भाषीहरू आम नरसंहारबाट पीडित रहेकाले उनीहरूलाई मुक्ति दिलाउनु पर्ने ‘झुटो’ दाबी गर्दै रुसले २४ फेब्रुअरीमा युक्रेनमा हमला सुरु गरेको थियो ।
युद्धको पाँच महिनाभित्र रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रका केही भागमाथि नियन्त्रण जमाइसकेको छ । तर, रुस युक्रेनको राजधानी किभ कब्जा गर्न असफल रहेको छ ।
युद्ध सुरु भएदेखि नै पश्चिम जगतले युक्रेनलाई धमाधम शक्तिशाली हातहतियार उपलब्ध गराउँदै आएको छ ।
लाभ्रोभले भनेका छन्, “रुस आफ्नो उद्देश्य थप विस्तार गर्न बाध्य भएको छ । हामी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नियन्त्रणमा रहेको युक्रेनी भागमा शक्तिशाली हतियारको पहुँचको अनुमति दिएर आफ्नो भूभागमा प्रत्यक्ष खतरा सिर्जना गराउन सक्दैनौँ ।”
बीबीसीबाट ।