site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लस एन्जल्समा प्रदर्शन झन् तीव्र, गाडीहरूमा आगजनी

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरमा प्रहरीले प्रदर्शनकारीविरुद्ध फ्ल्यास–ब्याङ र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारीलाई पक्राउ गर्दा मुठभेड र धकेलाधकेल घटना पनि भएको छ । 

प्रदर्शनकारीले कम्तीमा दुईवटा स्वचालित गाडीहरूमा आगजनी गरेका छन् भने सरकारले सम्पूर्ण डाउनटाउन लस एन्जल्स क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेको छ ।

Argakhachi Cement Island Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारी र सम्पत्तिको सुरक्षाका लागि राष्ट्रिय गार्ड बोलाएपछि करिब ३०० जना राष्ट्रिय गार्ड सदस्य मैदानमा उत्रिएका छन् । दशकौँदेखि पहिलोपटक कुनै राष्ट्रपतिले राज्यको अनुरोधबिना नै राष्ट्रिय गार्ड बोलाएका छन् । अहिले ५०० जना जलसैनिक पनि तैनाथका लागि तयारी अवस्थामा रहेको सीएनएनले जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले ट्रम्प प्रशासनविरुद्ध राष्ट्रिय गार्ड तैनाथीको विरोधमा राज्यले मुद्दा दायर गर्ने बताएका छन् । उनी र लस एन्जल्सका मेयर क्यारेन बासले यो तैनाथीले घटनालाई उत्तेजक बनाएको बताएका छन् ।

अधिकारीहरूले दर्जनौँ आप्रवासी व्यक्तिहरूलाई पक्राउपछि प्रशासन र प्रदर्शनकारीबीच चार दिनदेखि झडप भइरहेको छ । गुप्तचर विश्लेषकहरूका अनुसार अध्यागमन छापामारी, राष्ट्रिय गार्ड तैनाथीलगायत कारणले प्रदर्शनकारीलाई उत्तेजित पारेको विश्वास गरिएको छ ।

यसैबीच, क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा प्रहरीले ६० जनालाई पक्राउ गरेको छ । सन फ्रान्सिस्को अध्यागमन सेवा भवनबाहिर हिंसात्मक प्रदर्शन हुँदा आइतबार ६० जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताए । 

क्यालिफोर्निया र सम्पूर्ण संयुक्त राज्यभर कानुन कार्यान्वयन एजेन्सी (आईसीई)को छापामारी र निर्वासनको विरोधमा सयकडौँ प्रदर्शनकारी आईसीई कार्यालयबाहिर जम्मा भएका थिए ।

शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनपछि दंगा नियन्त्रण उपकरण लगाएका सन फ्रान्सिस्को प्रहरीसँग प्रदर्शनकारीको तनावपूर्ण अवस्थापछि मुठभेडमा परिणत भयो ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्