site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौंमा फैलिँदै छ सुन्दरी ‘हनी ट्रयाप’को जालो : निसानामा पैसावाल !
फाइल तस्बिर ।

काठमाडौं । गएको असारमा ‘हनी ट्रयाप’मा पारेर रकम असुल गर्ने युवतीसहितको गिरोह काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ पर्‍यो ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक–९ की १९ वर्षीया निकिता केसी, काभ्रेपलाञ्चोक घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, खोटाङको हलेसी–७ का ३२ वर्षीय डिकबहादुर शर्मा, सुनसरीको इटहरी–७ घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र दोलखाको मेलुङ–५ घर भई ललितपुरको नखीपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा थिए ।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीकोे प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने गरेको खुल्यो । ती व्यक्तिहरू नजिक भएपछि झुटो मुद्दा लगाएर फसाइदिने भन्दै त्रास देखाएर ‘ब्याकमेलिङ’ गरी रकम मागेको समेत अनुसन्धानबाट पत्ता लाग्यो । प्रहरीले पीडितको पहिचान खुलाएन ।

Argakhachi Cement Island Ad

उनीहरूले रकम दिनलाई बाध्य गराउन युवतीको नक्कली परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गर्दै मोलमोलाई गरी मानसिक तनाव दिएको प्रहरी अनुसन्धानले देखायो ।

०७७ चैतमा हनी ट्रयापमा फसाएर रकम असुल गरेको आरोपमा दुई महिला पक्राउ परे । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–१० घर भई काठमाडौंको घट्टेकुलो बस्ने ललिता भनिने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौंको कपन बस्ने ३७ वर्षीया कल्पना हमाल थिए ।

उनीहरूले कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीमार्फत काठमाडौंको सुन्धारास्थित गेस्टहाउसमा भेट्न बोलाई गोप्य रूपमा भिडियो बनाए । त्यसपछि म्यासेन्जरमार्फत 'ब्ल्याकमेलिङ' गरी आईएमईमार्फत लाखौँ रुपैयाँ लिएको खुलेको थियो ।

सुरुमा संस्थागत कामको सिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटेलमा सबै पैसा हराएको भन्दै सहयोग गरिदिन अनुरोध गरेकी थिइन् । नजिकिँदै गएपछि ती पुरुषको समेत गोप्य भिडियो बनाइयो । पैसा नदिए घरपरिवार र प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक–पटक गरी तीन लाख दुई हजार ५०० रुपैयाँ लिए ।

लालसरीलाई ०६६ मंसिरमा अपहरण मुद्दामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजायको फैसला भएको थियो । सात वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले ०७४ मंसिर २२ गते एक लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन् ।

लालसरी र कल्पनाले वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनीविरुद्ध ०७७ असोज ६ गते बलात्कार मुद्दामा दिएको जाहेरी झुटो ठहरिएको थियो । त्यति बेला लालसरीविरुद्ध जिल्ला अदालत सुर्खेतबाट तीन वर्ष ६ महिना जेल सजायको फैसला समेत भएको थियो ।

गएको सोमबार पनि काठमाडौंबाट हनी ट्रयापमा संलग्न रहेको आरोपमा श्रीमान्–श्रीमतीसहित तीनजना पक्राउ परे । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई–६ घर भई बौद्ध बस्दै आएका ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्दै आएका २८ वर्षीय सञ्जय कार्की छन् । पक्राउ परेका बस्नेत र कार्की श्रीमान्–श्रीमती हुन् ।

प्रहरीका अनुसार सञ्जयले घटनामा नक्कली प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गरेका थिए । उनीहरूले योजनाबद्ध रूपमा महिलाको प्रयोग गरी सामाजिक सञ्जालबाट एक पुरुषसँग चिनजान गरेका थिए ।

युवतीको प्रयोग गरी ती व्यक्तिलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाई भेटघाट गरे । प्रत्यक्ष भेटघाटपछि झुटो मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई त्रास देखाउन थाले ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार त्यसपछि उनीहरूले ठूलो रकम माग्न थाले ।

पीडितको परिवार, नातेदार, साथीभाइलाई सामाजिक सञ्जालमार्फत साथी बनाई ‘प्रहरीमा निवेदन दिइको छु’ भनी नक्कली प्रहरी इन्सपेक्टरसँग कुरा गरी राखेको रेकर्ड पठाई धम्कउन लगाउने गरेको समेत खुलेको छ । पीडित प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान अगाडि बढाएको थियो ।

उपत्यकामा पछिल्लो समय ‘सुन्दर’ युवतीको प्रयोग गरेर व्यवसायी, पैसावाललगायत व्यक्तिलाई हनी ट्रयापको जालोमा फसाउने क्रम बढ्दो छ । कतिपय घटनामा युवती र महिला नै मुख्य योजनाकार देखिएका छन् । कतिपय घटनामा योजनाकार पुरुष देखिन्छन् ।

एसपी कोइरालाका अनुसार सामाजिक सञ्जालबाट चिनजान गरेर हनी ट्रयापमा पार्ने काम हुने गरेको पाइन्छ । यसका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता आफैँ सचेत हुनुपर्ने उनको सुझाव छ ।

एसपी कोइराला भन्छन्, “पहिले आफैँ समेत हुनुपर्‍यो । नयाँ साथी बनाउँदा चिनजानको हो वा होइन ख्याल गर्नुपर्‍यो । आफूसँग असम्बन्धित व्यक्ति हो भने साथी नै बनाउन भएन ।”

हनी ट्रयापमा पार्ने समूहबाट सुरुमा व्यक्तिको पहिचान गरिन्छ । हनी ट्रयापमा पारेपछि पैसा आउँछ वा आउँदैन भन्नेमा समेत उनीहरू सचेत रहने प्रहरी अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्