काठमाडौं । आउँदो अक्टोबरमा ४१ वर्ष पुग्ने स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले अझै एक वर्ष व्यावसायिक फुटबल खेल्ने भएका छन् । इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन् ।
इब्राहिमोविचले गत सिजन ८ गोल गरेका थिए । मिलानले गत सिजन सहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई पछि पार्दै इटालियन सिरी ‘ए’को उपाधि जितेको थियो । मिलानले ११ वर्षपछि पहिलोपटक लिग उपाधि जितेको हो ।
नयाँ सम्झौतासँगै इब्राहिमोविच सन् २०२३ जुन ३० सम्म मिलानमै रहनेछन् । तर, गएको मेमा इब्राहिमोविचको घुँडाको शल्यक्रिया गरिएको थियो । जसका कारण उनी आठ महिना मैदानबाहिर हुन सक्ने सम्भावना छ ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलानसँग अनुबन्ध भएका थिए । इब्राहिमोविचले यसअघि आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाइटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् ।