लण्डन । अत्यधिक तापक्रम बढेपछि बेलायतले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।
बेलायतको मेट अफिस मौसम पूर्वानुमानविद्ले शुक्रबार राष्ट्रिय आपत्कालीन घोषणा गर्दै आगामी साता सोमबार र मंगलबार इङ्ल्याण्डका केही भागमा अत्यधिक गर्मी हुने जानकारी दिएका छन् । अधिकारीहरूले तापक्रम हालसम्मकै सबैभन्दा उच्च हुने चेतावनी दिएका हुन् ।
“असाधारण, सायद कीर्तिमान तोड्ने तापक्रम सोमबार र त्यसपछि मंगलबार पुनः सम्भव छ,” मौसम कार्यालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
उच्च तापक्रमले विशेषगरी बेलायतका सहरी क्षेत्रमा रातहरू अस्वभाविक रूपमा गर्मी हुने सम्भावना छ । यसले मानिस र पूर्वाधारहरूमा व्यापक प्रभाव पार्ने बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।
बेलायतमा २५ जुलाई २०१९ मा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । क्याम्ब्रिज विश्वविद्यालय बोटानिक गार्डेनमा मापन गरिएको तापक्रम ३८.७ डिग्री सेल्सियस थियो ।
स्रोतः रोयटर्स