वासिङटन । अमेरिकाको ओहाइयो राज्यमा एकजना पुरुषलाई दश वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लगाइएको छ ।
पीडित बालिका बसेको राज्यमा गर्भपतन प्रतिबन्धित भएकाले उनले बलात्कारको कारण बस्न गएको गर्भ पतन गर्न राज्यको सिमाना पार गर्नुपर्ने भएको छ ।
अरोपित २७ वर्षीय गेर्सोन फुएन्टेसलाई बुधवार कोलम्बसस्थित एक अदालतमा उपस्थित गराइएको थियो ।
परिचय गोप्य नै राखिएका पीडित दश वर्षीया बालिकाको पीडाले अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई उद्धृत गर्दै गर्भपतन माथि लगाइएको बन्देजको आलोचना गरेका छन् । तर, शंका गर्नेहरूले भने कतै यो घटना आफै नक्कली त होइन भनेर प्रश्न गरेका छन् ।
गत जुनमा अमेरिकाको सर्वोच्च अदालतले गरेको गर्भपतन सम्बन्धी निर्णयपछि अमेरिकाका लाखौँ महिला र बालिकाले गर्भपतन गर्न पाउने लामो समयदेखिको आफ्नो संवैधानिक अधिकार गुमाएका छन् ।
शुक्रवार भाषण गर्ने क्रममा राष्ट्रपति बाइडेनले ती बालिकाको घटनाको प्रसंग उठाउँदै सर्वोच्चको निर्णयको आलोचना गरे । उनले आक्रोशित हुँदै भने, “ती पीडित बालिका आफैँ भएको कल्पना गरेर हेर्नुहोस् ।”
सर्वोच्च अदालतको सो निर्णय लगत्तै ओहाइयो राज्यका विधायकहरूले गर्भधारण गरेको छ साता पछि गर्भपतन गर्न नपाउने र यसबाट बलात्कार वा अनाचार पीडित महिलाले पनि छुट नपाउने कानुन पारित गरेका थिए ।
इन्डियापोलिस स्टार अखबारका अनुसार ती बालिकाको गर्भमा छ साता तीन दिनकौ भ्रुण रहेको छ । वकिलहरूले ती बालिका नौ वर्षकी छँदै उनीमाथि बलात्कार भएको हुनुपर्ने बताउँछन् ।
इन्डिस्टारका अनुसार पीडित बालिकाले प्रहरीसमक्ष आफूलाई फुएन्टेसले बलात्कार गरेको बयान दिएकी थिइन् ।
मंगलबार कोलम्बसस्थित आफ्नै निवासबाट पक्राउ परेका फुएन्टेसले बलात्कार गरेको स्वीकारेको कोलम्बस डिस्प्याचले जनाएको छ ।
इन्डियापोलिसको एउटा गर्भपतन क्लिनिकमा आरोपितको र्यालको डीएनए परीक्षण गरिएको छ ।
ग्वोटमालाका नागरिक फुएन्टेस अवैध तरिकाले अमेरिकामा बसोबास गर्दै आएको बुझिएको छ ।
उनी भाग्न सक्ने वा उनले बालिकालाई हानी पुर्याउन सक्ने खतरालाई मध्यनजर राख्दै फ्रान्कलिन काउन्टी महानगर अदालतका न्यायाधीश सिन्थिया एव्नरले २० लाख अमेरिकी डलरबराबरको जमानत तोक्दै उनलाई प्रहरी हिरासतमा राख्ने आदेश दिएकी छन् ।
अभियोग प्रमाणित भएमा उनलाई अधिकतम आजीवन कैद सजाय हुनेछ ।
बीबीसीबाट ।