site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लेखकहरू अल्छी भइरहेका छन् 
Sarbottam CementSarbottam Cement

 (चर्चित आख्यानकार नयनराज पाण्डे उपन्यास, संस्मरण र कथा लेखनमा समान रूपमा क्रियाशील छन् । उनको पछिल्लो कथाकृति हो, ‘जियरा’ । उनले यसअघि ‘उलार’, ‘लू’, ‘घामकीरी’, ‘सल्लीपीर’, ‘यार’लगायत अनेकौँ कृतिहरू पाठकलाई दिएका छन् । बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणको तयारी भइरहेको सन्दर्भमा पहिलो संस्करणका निर्णायकमध्येका एक आख्यानकार पाण्डेसँग कथा लेखनका विषयमा गरिएको कुराकानी ।)

कथा के हो ? यसको रूप कस्तो हुनुपर्छ ?
कथा कहिले यथार्थको काल्पनिक प्रस्तुति हो । कहिले कल्पनाको यथार्थजस्तो लाग्ने विस्तृति पनि हो । कथा कुनै रूपवादमा अल्झिनुपर्छ भन्ने मलाई लाग्दैन । यो कथा हो भनेर यदि तपाईंले पाठकलाई विश्वसनीय किसिमले स्वीकार गराउन सक्नुहुन्छ भने त्यस्तो हरेक प्रस्तुति कथा हो ।

कथा किन लेखिन्छ ?
कविता, उपन्यास, निबन्ध वा साहित्यका अरू विधाहरू जुन प्रयोजनका लागि लेखिन्छन्, ती सबै प्रयोजनहरू कथा लेखनका हकमा पनि लागु हुन्छन् । तपाईं स्वान्त सुखायका लागि पनि लेख्न स्वतन्त्र हुनुहुन्छ । म जमिनी यथार्थ लेख्छु भन्न पनि स्वतन्त्र हुनुहुन्छ । म बब्बाल कल्पनाशील हुन्छु भनेर उडानमय रचना पनि लेख्न स्वतन्त्र हुनुहुन्छ । साहित्य पूर्णतः लोकतान्त्रिक क्षेत्र हो, जहाँ तपाईंलाई बोल्न, लेख्न, अभिव्यक्त गर्न पूर्ण स्वतन्त्रता छ । आफूलाई जुन विधामा लेख्न सहज लाग्छ वा जुन विधामार्फत आफ्ना कुराहरू सहज किसिमले पाठकसम्म पुर्याउन सक्छु भन्ने लाग्छ, तपाईं त्यही विधामा लेख्न स्वतन्त्र हुनुहुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कथा कसरी लेख्ने ?
तपाईंले कुनै गजबको घटना देख्नुभयो, त्यसलाई तपाईं जसरी आफ्ना साथीभाइ या आफन्तलाई रोचक किसिमले सुनाउनुहुन्छ, कथा लेखनको प्रक्रिया पनि त्यही हो । त्यसैले कथा लेखनमा कतिपय स्थितिमा कथानकभन्दा त्यो कथानकलाई भन्ने शैली र शिल्प महत्त्वपूर्ण हुन्छन् । तर, यसमा तपाईंको निरन्तरको साधना चाहिन्छ । लेखन सिर्जनात्मक अभ्यास पनि हो । 

कुनै पनि घटनाको वर्णन कथात्मक हुँदा के अन्तर हुन्छ ?
घटनाको वर्णन कथात्मक हुँदा त्यो कथा बन्छ, नहुँदा समाचार । त्यसैले कथा कौशल, शिल्प, कलात्मकता, विषयवस्तु, पात्र, प्रस्तुतिकोे समष्टि रूप हो । यीमध्ये कुनै एउटा कुराले मात्र आफ्नो कथालाई बलियो बनाउने सोच छ भने त्यो असफल कथा लेखन हुनेछ ।

Global Ime bank

कथाको मूल तत्त्व के होला ?
कथानक, प्रस्तुति, पात्र, परिवेश, मनोविज्ञान, संवाद, कथानकको उठान, बैठान । यी सबै कुरा कथाका लागि आवश्यक हुन्छन् ।

कथा एकै बसाइमा लेख्न सकिन्छ ? कतिले त लेख्न हुन्न भन्छन् नि ! 
मैले थुप्रै कथाहरू एकै बसाइमा लेखेको छु । एक बसाइमा लेख्नै नहुने भन्ने कुनै कठोर नियम छैन । तर, कतिपय स्थितिमा लेखिसकेका कुरालाई केही समय थन्क्याएर फेरि केही समयपछि हेर्नुभयो भने त्यस विषयमा आफूभित्र पाठकीय चेत पनि निर्माण भइसकेको हुन्छ । त्यो चेतले तपाईंले लेखेको कथामा कहाँ, के कस्ता कमजोरी छन् भन्ने देखाउन सक्छ ।

वास्तवमा कथा लेखनमा हतारोको अर्थ छैन । कथा लेखनमा ट्राफिकको यो नियम मान्नुपर्छ, ‘विस्तारै गए पुगिन्छ, हतार गरे भन्न सकिन्न ।’

राम्रो कथा लेख्न के गर्ने ?
अध्ययन । आफूभन्दा पूर्ववर्ती कथाकारहरूलाई पढ्नुस् । बुझ्नुस् । तिनका शैली र शिल्पलाई बुझ्नुभयो भने तपाईंलाई आफ्नो शैली निर्माण गर्न सजिलो हुनेछ ।

कथाको आकारले पनि महत्त्व राख्छ ?
आकारले महत्त्व राख्दैन । कथा कसरी भन्नुभयो भन्ने कुराले महत्त्व राख्छ  । कतिपय भारी भरकम विषयलाई अभिव्यक्त गर्न जानिएन भने ती शब्दको अनावश्यक जञ्जाल बन्छन्, कथा बन्दैनन् ।

कथोपन्यास पनि लेखिएका छन् । यो किन होला ?
शब्दको कलाबाजी देखाउन मन लाग्छ कतिपयलाई । त्यसैले यस्तो भनिएको हुनसक्छ । सर्कस बेग्लै विधा हो भन्ने हामीले बुझ्नुपर्छ । साहित्यमा अनावश्यक शब्दको प्रयोग शब्दको दुरुपयोग हो । असल लेखकहरू त्यसरी दुरुपयोग गर्दैनन् ।

कथा प्रतियोगिताका लागि शब्दलाई मानक बनाउनु सही हो ? 
प्रतियोगिता भनेपछि मानकहरू त हुने नै भए । नत्र कथा भनेर कतिले लघुकथा पठाउन सक्छन् । कतिले कथाको नाममा उपन्यासै पनि पठाउन सक्छन् । त्यसले प्रतियोगितालाई अनावश्यक झमेलामा पार्छ ।

कथा लेखनमा रुचि राख्नेले अरूका कथाबाट कति प्रभावित हुने ? 
प्रभावित र प्रेरित हुन मज्जाले मिल्छ । चोर्न मिल्दैन । तर, फलानो रचनाबाट प्रेरित या प्रभावित भएर लेखेको हुँ भन्ने स्वीकार गर्ने सामर्थ्य राख्नुपर्छ र त्यसको औचित्य पनि पुष्टि गर्न सक्नुपर्छ । नत्र तपाईंको सिर्जनात्मकता शंकास्पद ठानिन सक्छ ।

लेखनबाट प्रभावित हुन सकिन्छ भनेर अरूका रचना पढ्दै नपढ्ने लेखकहरू हामीकहाँ पहिला पनि थिए, अहिले पनि छन् । तर, अरूका रचना पढ्नु भएन भने तपाईंको लेखनको आयाम झनै सानो र संकुचित हुनसक्छ । अरूको घर हेरेर तपाईंले आफ्नो घर कस्तो बनाउने भनेर निर्क्योल गर्न सक्नुहुन्छ । लेखन पनि त्यस्तै हो ।

कथा लेखनमा सिद्धान्त कति आवश्यक ठहर्छ ?
लेखकले सबै कुराको जानकारी राखेको राम्रो । तर, लेखनमा आफ्नो प्राथमिकता भने आफैँले तोक्ने हो ।

वादको घेरामा उत्कृष्ट कथा लेखिन्छ ?
नसकिने भने के नै हुन्छ र ! बस्, त्यस्तो लेखन पाठकलाई विश्वसनीय र पठनीय लाग्नुपर्छ ।

कथा लेखनमा प्रयोग कत्तिको आवश्यक मानिन्छ ? 
सबै कुरामा प्रयोग गर्न सकिन्छ । प्रयोग भनेकै सिर्जनात्मक विकासको सार्थक प्रस्तुति हो । तर, प्रयोग के र कसरी गर्ने भन्ने कुरामा लेखक सचेतचाहिँ हुनुपर्छ । प्रयोग भनेर पाठकलाई शीर्षासन गरेर पढाउने रचना पनि लेख्नु भएन । शीर्षासन गरेर कथा लेख्नु पनि भएन । लहडमा केही गर्नु भएन । सबै कुरामा सचेतता हुनुपर्यो ।

तपाईं बाह्रखरी कथामा निर्णायक हुनुभयो । सैद्धान्तिक र प्रयोगका दृष्टिले प्रतियोगितामा छानिएका कथाको सबल र दुर्बल पक्ष के–के पाउनुभयो ?
हामीकहाँ आजको दिनसम्म पनि कथावाचनको शिल्पमा लेखकहरू अल्छी नै भइरहेको पाउँछु । यस्तोमा कतिपय लेखकले राम्रो विषय उठाएको देखिन्छ र त्यो विषय गुरुप्रसाद मैनालीलाई जिम्मा लगाएर उनैलाई लेख्न लगाएजस्तो लाग्छ । कथामा लेखकको अनुहार पनि देखिनुपर्छ भन्ने मलाई लाग्छ । शैली र शिल्पमा हाम्रा कथाहरू अझै पनि परिपक्व बन्न नसकेका हुन् कि भन्ने आभास भइरहन्छ । कतिपयमा जमिनै नटेक्ने कल्पनाको प्रयोगको अतिशय मोह र कतिपयमा यथार्थको नाममा समाचार या फिचर लेखन हावी भएको देखिन्छ । त्यसैले मैले सधैँ भन्ने गरेको के हो भने, लेखनमा जति पनि कल्पनाको उडान गर्न पाइन्छ । तर, खुट्टाको बुढीऔँलाले भए पनि जमिन त छुनैपर्छ । मेरो यो कुराको अर्थ अबका कथाकारहरूले बुझून् भन्ने लाग्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय