काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र पार्टीको राजनीतिक बाटोलाई लिएर दुई धार देखा परेको छ । नेपाली कांग्रेससँगकै सहकार्यमा अगाडि बढ्ने वा फेरि नेकपा एमालेसँगै मिलेर जाने भन्नेमा नेताहरू दुई धारमा देखिएका हुन् ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै विभाजनको बाटोमा गएको थियो । सर्वोच्च अदालतले समेत नेकपा पार्टी अरूकै नाममा दर्ता भएकाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएको थियो ।
त्यसयता माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै पार्टीको हैसियतमा छन् । माओवादी सत्ता सञ्चालनदेखि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँगको सहकार्यमा अगाडि बढिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेकै सत्ता गठबन्धनको निरन्तरता हुने बताइरहे पनि नेताहरू पनि विकल्प खोज्नुपर्ने लाइनमा देखिन्छन् ।
बेलाबेला प्रचण्डले समेत कांग्रेसले आफूहरूको अपमान गरे ठेगान लगाउने चेतावनी दिँदै आएका छन् । तर, माओवादी केन्द्रभित्रै दोस्रो तहका नेताहरू गठबन्धन भत्काउन र जोगाउन सक्रिय छन् ।
माओवादी एक स्थायी कमिटी सदस्यका अनुसार नेताहरू जनार्दन शर्मा ‘प्रभाकर’, कृष्णबहादुर महरा, शक्ति बस्नेत, पम्फा भुसाललगायत नेताहरू अहिलेकै सत्ता गठबन्धनको निरन्तरता खोजीरहेका छन् ।
अर्थमन्त्री समेत रहेका नेता शर्माले अहिलेको अवस्थामा शेरबहादुर देउवालाई धोका दिन नहुने लाइनमा छन् । अर्का नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ एमालेसँग मिलेर वाम गठबन्धन बनाएर जानुपर्ने लाइनमा रहेको नेताहरू बताउँछन् ।
गत साता मात्रै नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । श्रेष्ठ, वर्षमान पुन समूह ओली–प्रचण्ड मिलाउने लाइनमा सक्रिय रहेका ती स्थायी कमिटी सदस्यले बताए ।
शर्मा अहिलेकै गठबन्धनको निरन्तरतामा रहेकाले प्रधानमन्त्री देउवाको निकट हुन पुगेको स्रोतको दाबी छ । माओवादी स्थायी कमिटी सदस्य भन्छन्, “अहिले अर्थमन्त्रीले जे गरे पनि प्रधानमन्त्रीज्यूले बचाउ गर्नुहुन्छ । पार्टीभित्र उहाँलाई हटाउन दबाब बढ्दो छ । तर प्रधानमन्त्री अर्थमन्त्रीमा उहाँकै निरन्तरता खोज्नुहुन्छ भन्ने छ । त्यसैले अहिले माओवादीले मन्त्री फेर्न सकिरहेको छैन ।”
आगामी कात्तिक वा मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने तयारी छ । कांग्रेससँग मिल्दा कम सिट पाइने भएकाले एमालेसँग मिल्दा फाइदा हुने पुन समूहको बुझाइ रहेको स्रोत बताउँछ । शर्मा समूहको बुझाइ भने एमालेले धोका दिनसक्ने भएकाले तत्काल सहकार्य गर्न नहुनेमा छ ।
माओवादीभित्र जनार्दन र वर्षमानको लाइन तल्लो तहसम्मै पुगेको छ । उनीहरू दुवै पार्टीको महासचिवका आकांक्षी हुन् ।
असार १५ गते माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा राजनीतिक घटनाक्रम लगायत स्थानीय तहको चुनावबारे समीक्षा हुने छ । एक नेताका अनुसार आगामी निर्वाचनको सहकार्यको विषय पनि केन्द्रीय कमिटी बैठकमा प्रवेश हुने सम्भावना छ ।