site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधानले नचिनेको कांग्रेसको ‘नीति महाधिवेशन’ कहिले ? 

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गएको मंसिर २३ बाट सुरूवात गरेर पुस पहिलो साता पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्‍यो । महाधिवेशन गर्ने विषयमै लामो रस्साकस्सी पछि महाधिवेशनेको मिति तय हुँदा महाधिवेशनमा विधि र नीतिका विषयमा छलफल गर्न नेतृत्व तयार भएन । महाधिवेशनमा उठ्ने मुद्दा र तीनको जवाफ दिँदै नेतृत्व चयन प्रक्रिया झन्झटिलो हुने भन्दै नीति महाधिवेशन गर्ने निष्कर्षमा कांग्रेस पुग्यो ।

कांग्रेसले नयाँ नेतृत्व आएको तीन देखि ६ महिनाभित्र नीति महाधिवेशन गर्ने बताएको थियो ।

तर केही नेताहरुले त्यसबेला पनि नीति महाधिवेशनलाई नेपाली कांग्रेसको विधानले पनि नचिन्ने टिप्पणी गरेका थिए । कांग्रेसको नीति महाधिवेशन भनिए पनि बस्नुपर्ने महासमिति बैठक हो । किन भने कांग्रेसको विधा अनुसार महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक राख्नुपर्ने हुन्छ । यसपटक महाधिवेशनमा नीति र विधिका विषयमा प्रवेश नै नगरेका कारण महासमिति बैठकले संघीय नेपालको कांग्रेस कस्तो हुन्छ ? संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको अविभावक को हुन्छ ? सार्वभौमसत्ता राजाबाट जनतामा निहीत हुने व्यवस्था गरे पनि जनतामा के फरकपन आउनेछ ? एउटा राजनीतिक दलको जनतासँगको सम्बन्ध कस्तो हुनेछ ? कांग्रेस जनतामा विश्वास गर्ने ‘मासवेस्ड’ पार्टी हो कि अब आफ्ना सदस्यमा भर पर्ने ‘क्याडरवेस’ पार्टी हो ? यस्ता विषयमा निर्णयका लागि कांग्रेसको महासमिति बैठक तत्काल बस्ने समझदारी नेताहरुमा थियो । तर, महाधिवेशनको छ महिनामा आफूले गर्ने नियुक्तिसमेत नगरेका सभापति शेरबहादुर देउवाले त्यतातर्फ ध्यान दिन सकेको देखिँदैन ।

कांग्रेसका तत्कालीन प्रवक्ता तथा हालका महामन्त्री विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनका बेला छ महिनाभित्र नीति महाधिवेशन गर्ने बताएका थिए । 

“अहिले नेतृत्व चयन गर्ने र ६ महिना पश्चात् नीति महाधिवेशन गर्ने,” शर्माले त्यसबेला भनेका थिए । 

तर अहिले नेतृत्वलाई नीति अधिवेशन कहिले हुन्छ भन्नेबारेमा कुनै जानकारीसमेत छैन ।

“हामीले नेतृत्व महाधिवेशन मात्र गरेका हौँ । नीति महाधिवेशन गर्नेनै हो,” महामन्त्री शर्माले बाह्रखरीसँग भने, “हामी छलफलमा जुटेका छौँ, चाडैँ टुंगो लगाउँछौँ ।” 

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि विधान अधिवेशन गर्ने भनिए पनि कहिले भन्ने टुंगो लागिनसकेको बताउँछन् ।

“पार्टीले नीति अधिवेशन गर्न चाहिँ गर्ने नै हो । तर, कहिले कहाँ र कसरी गर्ने भन्ने विषयमा कुनै तयारी भएको अहिलेसम्म जानकारीमा आएको छैन,” लेखकले बाह्रखरीसँग भने ।

सामान्यतया महाधिवेशनले पार्टी सञ्चालनका अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना तथा रणनीति तर्जुमा गर्नुपर्ने हो । 
आफ्नो पार्टीलाई समयसापेक्ष गतिशील राख्न अपनाउने विकल्पमाथि छलफल गर्नुपर्ने हो । दश लाख पार्टी कार्यकर्ताबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरुलाई बहस र छलफलमा सामेल गराउँदै पार्टीका भावि रणनीति र त्यसलाई प्राप्त गर्ने कार्यनीति तर्जुमा गर्नुपर्ने हो । 

तर, कांग्रेसको १४ औँ महाधिवेशनले यी कार्य गरेको छैन । महासमितिको बैठकमा महासमिति सदस्यले मात्र उपस्थिति हुन पाउने हुँदा महाधिवेशन प्रतिनिधिहरु विधि निर्माणको प्रक्रियामा सामेल हुन पाएका छैनन् । 

त्यसैले उनीहरुको आक्रोस रोक्न कांग्रेस संस्थापनले त्यसबेला विधि महाधिवेशनको कुरा अघि सारेको बताएको थियो । 

कांग्रेस महामन्त्री गगन थापा विधानले नचिन्ने नीति महाधिवेशन कसरी गर्ने भन्ने अन्योल रहेको बताउँछन् । नीति अधिवेशनको संरचना कांग्रेसमा हुँदै नभएको भन्दै महासमितिबाटै भए पनि नीति  विधिको छलफल भने आवश्यक भएको बताउँछन् । 

महासमिति बैठकबाटै नीति विधिका आवश्यक निर्णय लिने वा आफ्नो अभ्यास बदलेर नयाँ संरचना बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल भने भइरहेको उनले स्वीकार गरे । 

“विधान अधिवेशनको विषयमा हाम्रो विधानले केही बोल्दैन । त्यो बेलाको केन्द्रीय समितिको बैठकमा पार्टीको १४औँ महाधिवेशनलाई खाली नेतृत्व चयन गर्ने अधिवेशन बनाउने भन्ने भएपछि हतारमा नीति अधिवेशन गर्ने भनियोे,” महामन्त्री थापाले भने, “नीतिगत बहस र निर्णय जसरी भए पनि गर्ने हो । महासमिति बोलाएर गर्ने कि, कुन संरचना बनाएर गर्ने भन्ने छ । केही होमवर्क आ–आफ्नो ठाउँबाट हामीले गरेका छौँ । हामी त्यसमा छलफल गर्दैर्छौं ।”

सहमहामन्त्री भिष्मराज आङ्दम्बे विधान अधिवेशन गराउन सभापति देउवालाई आफूहरुले पटक–पटक अनौपचारिक भेटमा आग्रह गरेको दाबी गर्छन् । पार्टीमा भने औपचारिक छलफल नभएको भन्दै अब बस्ने कार्यसम्पादन समिति बैठकमा औपचारिक छलफल हुने उनको भनाई छ । तर, कार्यसम्पादन समिति बैठक नै कहिले बस्छ भन्ने पत्तो छैन । 

“त्यतिबेला हामीले नेतृत्व छान्ने मात्र काम गरेका हौँ । हामीले ६ महिनाभित्र नीति अधिवेशन गर्छौँ भनेका थियौँ र गर्छौँ पनि । हामी सबै सकारात्मक छौँ,” सहमहामन्त्री आङदम्बेले बाह्रखरीसँग भने, “भर्खरै स्थानीय निर्वाचन सकियो संसद पनि चलिरहेका बेला प्रधानमन्त्रीज्यू व्यस्त हुनुहुन्छ त्यसकारण औपचारिक छलफल हुन पाएको छैन । हामीले अनौपचारिक पदाधीकारी भेटेर सम्झाईरहेका छौँ उहाँले पनि केही दिन भित्रै औपचारिक बैठक डाकेर यसमा थप छलफल गर्ने आश्वासन दिनुभएको छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro