काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) र सिसडोलका स्थानीयबीच फोहोर व्यवस्थापनका विषयमा चर्काचर्की भएको छ । काठमाडौंको फोहोर नउठेपछि आज बिहानै सिसडोल पुगेका बालेनले स्थानीयसँग अन्तक्रिया गर्ने क्रममा चर्काचर्की भएको हो ।
सिसडोलबासीले १७ वर्षसम्म फोहोर व्यवस्थापन हुन नसकेको भन्दै ठूलो स्वरमा आवाज उठाएपछि चर्काचर्की भएको छ । सोहीक्रममा बालेनले भने, “आएको चार दिन भयो प्रधानमन्त्रीसँग यही कुरा लिएर गएको छु । मन्त्रीको पनि यही कुरा लिएर गएको छु कि त नजा भन्नू । कामै नगर भन्नू ।”
मेयर बालेनको जवाफमा सिसडोलबासीले काम गर्न अघि नबढ्नु भनेको होइन भने । यसैबीच, बालेनले आफू स्वतन्त्र भएको र स्वतन्त्र मान्छेलाई काम गर्न दिनुपर्ने बताए । “म स्वतन्त्र व्यक्ति हो मलाई काम गर्न दिनुपर्यो । मैले कसैसँग साठगाँठ गरिराख्नु पर्दैन । मैले महानगरको मेयरको पद पनि लिनु पर्दैनथ्यो । पत्रिकामा पनि देख्नुभएकै होला । ७०–८० बिघा के–के आइरहेकै थियो,” बालेनले भने, “मैले यो जागिर पनि खानुपर्दैनथ्यो । म इन्जिनियर हुँ आफ्नो काम गरेर बस्नसक्छु । साढे तीन लाख महिनाको तलब खाने मान्छे हो । कुनै पनि पार्टीसँग सेटिङ मिलाउनु पर्दैन । त्यो कुराचाहिँ सबैले बुझिदिनुपर्यो ।”
बालेनले हप्तादिन, एक महिना, ६ महिना गर्न सकिने कामहरूअन्तर्गत योजना रहेको बताए । कामको सम्झौताअनुसार काम किन भएन भनेर विभिन्न विभाग र मन्त्रालयहरूमा गएको बताए । निरन्तर सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको र फोहोर व्यवस्थापनमा काठमाडौंमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बालेनको तर्क थियो ।