काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र (राम) कार्कीले विकास अर्थतन्त्र नभएर राजनीति भएको बताएका छन् । सरकारले ल्याएको बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै कार्कीले विकासलाई अर्थतन्त्रका दृष्टिबाट मात्र हेर्नु कमजोरी हुने बताए ।
उनले विकासलाई चीन, भारत वा अमेरिकाको मोडल ल्याउँदैमा विकास हुँदैन । “विकास ‘इकोनोमी’ (अर्थतन्त्र) होइन, विकास त ‘पोलिटिक्स’ हो, त्यसैले यसलाई अर्थतन्त्रको आँखाबाट मात्र हेर्नु पर्याप्त हुँदैन,” कार्कीले भने, “हामीले विदेशका विकासका मोडल कपी गरेर पनि विकास सम्भव छैन ।”
उनले अरु देशका विकास मोडल हेरेर यहाँको विकासको लक्ष्य राखे त्यो उल्टो यात्रा हुने बताए । “अमेरिकाको, चाइनाको वा भारतको विकास मोडल कपी गर्नु भनेको जुत्तासँग आकार मिलाउन खुट्टा काट्नुजस्तै हो,” कार्कीले भने ।
उनले भारतको केरलाको विकास स्थानीय आवश्यकता अनुरूपको शिक्षामा गरिएको लगानीका कारण सम्भव भएको भन्दै यहाँ पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम हुनुपर्ने बताए । शिक्षकहरूलाई तालिम दिने कुरा राज्यको प्राथमिकतामै पर्नुपर्ने उनको भनाइ थियो ।