site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सावधान ! सरकार नागरिकलाई अपराधी बनाउँदैछ 

के तपाईं विसं २०३० भन्दा अघि जन्मनु भएको हो ? हो भने नेपाल सरकारले तपाईँ हामीजस्ता २०३० साल अघि जन्मिएका धेरै नागरिकलाई अपराधी बनाउने कार्य सुरु गरेको छ र हामी नजानेरै त्यसमा सरकारलाई सहयोग गर्दैछौँ । तपाईँलाई कौतुहल लाग्यो होला, यो के भनेको ? सरकारले सर्वसाधारण नागरिकलाई कसरी अपराधी बनाउँछ ? 

सरकारले समयमा सही निर्णय नगर्दा र सरकारी कर्मचारीले गरेको गल्ती स्वीकार नगरी त्यसको निराकरण गर्न गलत उपाय अपनाउँदा जनता अनजानमै अपराधी बन्दैछन् । यस्को उदाहरणमा आफैँलाई परेको घटनाबाट सम्झाउने कोसिस गर्दैछु । 

सरकारले सबै नागरिकको अभिलेख सही राख्नका लागि राष्ट्रिय परिचय पत्र जारी गर्दैछ । अब कुनै पनि सरकारी काम गर्न राष्ट्रिय परिचय पत्र (नेसनल आईडी) जरुरी हुन्छ । यस लेखकले पनि अनलाइन फाराम भरेर नेसनल आईडी लिने कोसिस गर्‍यो । अनलाइन फाराम भर्न पनि अलि गाह्रै छ । किनभने त्यस वेबसाइटको नेपाली टाइप अरूसँग मिल्दैन । 

Dabur Nepal

जेहोस्, फाराम भरियो । फाराम भरेपछि आफ्नो नजिकको जिल्ला प्रशासन कार्यालयमा गएर ‘बायोमेट्रिक्स’ दिनुपर्ने रहेछ । बायोमेट्रिक्स भनेको आफ्ना दसै औँलाको छाप दिने र तस्बिर खिचाउने हो । तर, त्यो दिनुअघि मैले पेस गरेको नागरिकता अभिलेखमा छ वा छैन भनेर हेरिँदो रहेछ । जब यो जाँच गर्ने ठाउँमा पुगियो अनि सुरु भयो खेल ।

मैले पहिलो नागरिकता एसएलसी परीक्षा सकिएपछि २०३९ सालमा निकालेको थिएँ । त्यसबेलाको नागरिकता नेपाली कागजमा छापिएको ठूलो कागजमा हुन्थ्यो ।

(हेर्नुहोस् तस्बिर) ।

सो नागरिकता ज्यादै झुत्रो भएको हुनाले मैले २०५७ सालमा नागरिकताको प्रतिलिपि निकालेको थिएँ । अब यो प्रतिलिपि निकालेर विगत २२ वर्षमा मैले कति ठाउँमा प्रयोग गरेँ, कतिपय घरजग्गा, मोटर किन्दा, बाबुले आफूलाई दिएको घर नामसारी गर्दा, जागिर खाँदा, बैंकमा खाता खोल्दा, सेयर बजारमा, मिडिया कम्पनी खोल्दा सर्वत्र यो नागरिकता प्रयोग गरेँ । तर, अहिले नेसनल आईडी बनाउन लाग्दा थाहा भयो मेरो नागरिकता त सीडीओ कार्यालयको अभिलेखमा रहेनछ । के भएको रहेछ भनेर यसो खोजबिन गरेको त नागरिकता जारी गरेको मिति जुन लेखिएको छ सो गलत परेछ । मेरो नागरिकता जारी गरेको मिति २०३९ चैत ७ लेखिएको छ तर सो मितिमा मेरो रेकर्ड फेला परेन । सीडीओ कार्यालयले मलाई पुरानो नागरिकता कतैबाट खोजेर ल्याउनु पर्छ भन्यो । धन्न खोज्दा खोज्दा त्यो नेपाली कागजको नागरिकताको फोटोकपी फेला पर्‍यो । अब थाहा भयो त्यो पुरानो नागरिकता जारी गरेको मिति २०३९ चैत १७ रहेछ । बडो हर्षका साथ सीडीओ कार्यालयलाई लगेर पुरानो नागरिकताको फोटोकपी त देखाइयो । तर, त्यतिले दुःखको अन्त्य भएन । अब अहिले भइरहेको नागरिकता छाडेर नयाँ प्रतिलिपि लिनुपर्छ अरे । विसं २०५७ सालमा मेरो प्रतिलिपिको नागरिकतामा जारी मिति सार्ने सरकारी कर्मचारीले गरेको गल्तीको सजायँ मैले पाउने भएँ । त्यो पनि मनमनै तयार भएँ । ठीक छ त प्रतिलिपि लिउँला अनि राष्ट्रिय परिचय पत्र पाइहालिन्छ । तर, अचानक मनमा एउटा कुरा आयो । के यसो गर्दा भविष्यमा समस्यामा परिन्न त ? 

अहिले नागरिकताको नयाँ प्रतिलिपि त लिउँला तर २०५७ सालदेखि मैले सरकारी र निजी कामका लागि प्रयोग गरेको नागरिकता त झुठो ठहर्ने भयो । अर्थात्, यो नागरिकता पेस गरेर गरिएको सम्पूर्ण काम गलत हुनेभयो, र यसो गरेको कारण आफू अपराधी हुने भइयो । यस विषयमा अरूसँग पनि सल्लाह गरेँ । धेरैलाई नागरिकताको रेकर्ड हराएको, नामको हिज्जे गलत परेको, बीचको नाम बिग्रेको, मिति बिग्रेको समस्या परेको रहेछ । धेरैले मैलेजस्तै नयाँ प्रतिलिपि र कतिले त नागरिकता नै नयाँ लिएका रहेछन् । मुख्यतः २०३० अघि नागरिकता लिएकालाई यस्तो समस्या परेको रहेछ । तर, सरकारी काम कारवाहीमा भएको गल्तीलाई आज हामीले स्वीकार गरेर आफ्नो पुरानो नागरिकतालाई नक्कली जस्तो बनायौं भने हामीले सो नागरिकता प्रयोग गरेर गरेका सबै काम अनधिकृत हुने भएनन् त ? धेरैले यस विषयमा भविष्यमा के होला भनेर सोचेको पाइन । त्यसैले यो लेखमार्फत सबैलाई जानकारी दिनुपर्छ भन्ने लागेको हो । 

प्रतिलिपि लिँदैमा अपराधी कसरी बनिन्छ भन्ने मनमा आयो होला । ल सुन्नुहोस् ! तपाईँले आज प्रतिलिपि लिनुहुन्छ र सोही प्रतिलिपि नेसनल आईडीको रेकर्डमा पनि बस्छ । अब तपाईँले पहिले लिएको नागरिकता त सरकारी रेकर्डमा कहीँ हुँदैन । भन्नुस्, आजको दस वर्षपछि पुरानो नागरिकताको आधारमा किनेको सम्पत्ति तपाईँलाई बेच्नु पर्‍यो । त्यसबेला मालपोतले तपाईंको नेसनल आईडी हेर्छ त्यहाँ त तपाईँको अहिलेको नयाँ नागरिकता हुन्छ । त्यसबेला मालपोतले यो जग्गामा तपाईँको स्वामित्व नै छैन भनिदिन सक्छ । त्यसबेला तपाईँ यो मेरो गल्तीले होइन पहिलाको सरकारले रेकर्ड राख्न गल्ती गरेको रहेछ अनि प्रतिलिपि बनाएको भन्नुहोला । तर, त्यसबेलाको अधिकृतले भन्नसक्छ – त्यसो हो भने सरकारले पुरानो नागरिकता सच्याएको भनेर लेखेको केही प्रमाण देखाउनुस् । तर, अहिले सरकारले त्यस्तो केही गल्ती स्वीकार गरेर कुनै प्रमाण वा निस्सा त दिइराखेको छैन । अनि ? तपाईँ त आफ्नै सम्पत्तिबाट समेत बेदखल हुने अवस्था आएन ? सरकारले तपाईंलाई अपराधी बनाएन ? तपाईंले त पहिले नक्कली नागरिकता लिएको जस्तो देखिन पुग्छ । फेरि जनताको समस्या समाएर रकम असुल्ने बानी परेका सरकारी कर्मचारीले सहजै सो समस्यालाई मनन गर्न पनि पक्कै चाहँदैनन् र गर्दा पनि गर्दैनन् । 

अझ रेकर्डमा मेरोजस्तो मिति फरक परेको सम्म भए त नागरिकता नम्बरको आधारमा दाबी गर्न सकियो त्यो पहिलेको नागरिकता पनि मेरै हो भनेर । तर, २०३० अघिका कतिपय नागरिकताको कुनै रेकर्ड नै भेटिएको छैन । मेरा एकजना निकट मित्रका भाइलाई त्यस्तै समस्या परेछ । उनको २०४१ सालमा लिएको नागरिकताको रेकर्ड नै भेटिएनछ । उनले त नयाँ नागरिकता बनाएर सोहीअनुरुप नयाँ राहदानी बनाएछन् । अब उनको पुरानो राहदानीको अवस्था के हुन्छ ? उनकै राहदानी त हुँदैन । किनभने सो पासपोर्ट बनाएको नागरिकता र अहिलेको नागरिकतानै फरक हुनगयो । भनेपछि पहिलेको पासपोर्टमा लगाएको भिसा पनि अनधिकृत हुनसक्ने संभावना भयो । उनलाई त पछि गएर दोहोरो नागरिकता लिएको आरोप पनि लाग्नसक्छ । त्यसबाट बच्नका लागि उनलाई अहिलेनै सीडीओ कार्यालयले कारण खुलाएर प्रमाण दिनुपर्छ । तर, हाम्रा सीडीओ कार्यालयलाई भविष्यमा जनतालाई पर्ने मर्काका विषयमा खासै मतलब भएजस्तो देखिएन । 

मेरा अर्का दाइ विदेशमा बस्छन् । हालै काठमाडौं आउँदा नेसनल आईडी बनाउन खोज्दा उनको पनि रेकर्डमा नामै फरक पारिदिएछन् । उनको नागरिकता नम्बरको रेकर्ड त छ तर बीचको नामको एक अक्षर फरक पारिदिएछन् रेकर्डमा । अझ रेकर्डबाट उनको फोटो पनि हराईसकेछ । अब, त्यो व्यक्ति आफै हुँ भनेर कसरी प्रमाणित गर्ने ? अनि उनलाई पनि नयाँ प्रतिलिपि निकाल भनेर भन्छन् सरकारी अधिकृत । उनी त विदेश फर्के । तर, पासपोर्टको म्याद सकिएपछि नयाँ पासपोर्ट बनाउन नेसनल आईडी चाहिहाल्छ । अनि झन् ठूलो समस्या पर्ने त्रासका साथ उनी अहिले आफू बसेको देश फर्केका छन् । 

त्यसैले, आफूले कानुनी प्रक्रिया पूरा गरेर लिएको नागरिकतामा कुनै मिति वा अन्य विवरण गलत रहेछन् वा अहिले रेकर्डमा देखिएन भने सरकारले आफूले गरेको गल्ती सुधार्नु पर्‍यो । झारा टार्ने हिसाबले नयाँ नागरिकता बनाउनुस् भनेर हुँदैन । सो नागरिकतासँगै पुरानो नागरिकतामा यस्तो समस्या आएको हुनाले नयाँ बनाएको भनेर केही प्रमाण नागरिकता धारकलाई दिनुपर्छ । हामीले अहिल्यै यस विषयमा ध्यान नदिने हो भने अबको पाँच, दस वा पन्ध्र वर्षमा तपाईँको आफ्नै सम्पत्ति (जुन पुरानो नागरिकताको आधारमा किनिएको थियो) आफ्नो हुँदैन । 

सरकारले यस विषयमा अविलम्ब ध्यान पुर्‍याउनुपर्छ । पुरानो नागरिकता लिएका व्यक्तिको रेकर्डमा सोहीअनुसार छैन भने सरकारले सो नागरिकता नक्कली हो वा होइन निर्क्यौल गरी त्यसै अनुरुप रेकर्डमा सच्याउनु पर्छ । कुनै पनि व्यक्तिको नागरिकता सही हो वा होइन भनेर जाँच्न त्यसबेला नागरिकता दिने सीडीओको सही आदी जाँच गर्न सकिन्छ । तर जनतालाई नयाँ नागरिकता बनाऊ वा प्रतिलिपि बनाऊ भन्दा भविष्यमा झन् ठूलो समस्यामा पर्ने अवस्था आउँछ । यसो गरिएन भने अबको केही वर्षमा नयाँ नागरिकता लिनेहरूलाई पुरानो नागरिकता गलत लिएका थियौ भनेर कुनै सरकारी निकायले उल्टै अपराधी बनाउन बेर लाउँदैनन् । समयमै सचेत होऊँ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro