site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली क्रिकेट फेरि अदालती झमेलामा 
SkywellSkywell

काठमाडौं । लामो समयको अदालती झमेला र सरकारको हस्तक्षेपका कारण नेपाल क्रिकेट संघ (क्यान) विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट निलम्बनमा परेको थियो । 

तीन वर्षअघिमात्र क्यान ती सबै झमेलाबाट मुक्त हुदै निलम्बन फुकवा भएको थियो । तर, अब फेरि क्यान अदालती झमेलामा फस्ने देखिएको छ । कारण हो, क्यान र एभरेष्ट प्रिमियर लिग (ईपीएल)बीचको लडाईँ । 

चतुरबहादुर चन्द तीन वर्षअघि क्यानको अध्यक्ष पदमा निर्वाचित भएपछि सबैभन्दा ठूलो स्वरमा उठाएको एउटै कुरा थियो, ‘नेपाल प्रिमियर लिग’ आफैँले आयोजना गर्ने । 

KFC Island Ad
NIC Asia

लामो समयसम्म क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटको घरेलु संरचना ध्वस्त भएको थियो । ‘क्लिन स्विप’सहित जितेका चन्दले घरेलु संरचना सुधार गर्नेबारे कुनै योजना प्रस्तुत गरेनन् । तर, जोडदार रुपमा उठाए, ‘नेपाल प्रिमियर लिग’को विषय । 

फ्रेन्चाइज लिगभित्र उनको के स्वार्थ लुकेको थियो त्यो अझै प्रष्ट भएको छैन । तर, नेपालमा तीनवटा फ्रेन्चाइज लिग सञ्चालनमा रहेका बेला क्यानका निर्वाचित अध्यक्षले तमाम कुरालाई थाती राख्दै ‘नेपाल प्रिमियर लिग’ गर्ने घोषणा गरेका थिए । 

Royal Enfield Island Ad

चन्द अहिले आफ्नो कार्यकालको उत्तरार्धमा छन् । तर, अझै पनि उनले निर्वाचित भएको पहिलो दिनमै घोषणा गरेको प्रतियोगिता आयोजना गर्न सक्छन् कि सक्दैनन् अझै टुंगो छैन । 

तथापी उनले प्रतियोगिताको मिति भने घोषणा गरिसकेका छन् । चन्दले भनेजस्तो फ्रेन्चाइज लिगको नाम ‘नेपाल प्रिमियर लिग’ त हुन सकेन । अब प्रतियोगिता नेपाल टी–२० लिगको नाममा सञ्चालन हुनेछ । तर, यसले ईपीएल र क्यानबीच विवाद भने बढाएको छ । 

विवाद उत्कर्षमा पुगेको त छैन । विवाद हेर्दा गम्भीर परिस्थिति सिर्जना हुने स्थिति देखिएको छ । किनकि विवाद समाधानतर्फभन्दा पनि झन् झन् बढदै जाने संकेत देखिएको छ । क्यान कुनै पनि हालतमा अन्य लिगलाई मान्यता नदिने अडानमा छ । ईपीएल आफुले स्विकृति नपाएको भन्दै कानुनी लडाईँका लागि सर्वेच्च अदालतमा गएको छ । 

ईपीएलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानको गलत निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै माननीय सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । हामीलाई पूर्ण विश्वास छ र न्यायपालिकाले हामीलाई उचित न्याय दिनेछ भन्ने विनम्र विश्वास छ ।”

अझ ईपीएलको फ्रेन्चाइज टिमका मालिकहरुले क्यानबाट निर्णय फिर्ता नभए तथा लिगले निरन्तरता नपाए आफुहरुले क्रिकेटका सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पछिल्लो निर्णय फिर्ता नलिए क्यानले गर्ने सबै खेलकुद कार्यक्रममा साथ नदिनुका साथै आजैका दिनदेखी पूर्ण रुपमा बहिस्कार गर्नेछौं ।”

निजी क्षेत्रको यो निर्णयसँगै क्यानको आगामी कार्यक्रमहरु आर्थिकरुपमा प्रभावित हुने सम्भावना बढेको छ । भारतीय कम्पनीले ल्याउने लगानी त्यही फ्रेन्चाइज लिगका लागि मात्र हो । क्यानको अन्य कार्यक्रम तथा प्रतियोगितामा लगानी ल्याउने सम्भावना न्युन छ । त्यसकारण स्वदेशी लगानीकर्ता निरुत्साहित हुँदा क्यानका आगामी प्रतियोगिता प्रभावित हुने सम्भावना प्रबल छ । किनकि, कतिपय प्रतियोगितामा त्यही कम्पनीहरुले प्रायोजन गरेका थिए । 

क्यानले जेठ ४ गते युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजमार्फत नेपाल ट्वान्टी–२० लिग असोज ८ गतेबाट गर्ने घोषणा गरेको थियो । सोही घोषणा समारोहमा अध्यक्ष चन्दले अब नेपालमा क्यानले आयोजना गर्ने नेपाल ट्वान्टी–२० लिगबाहेक अन्य लिगले मान्यता नपाउने बताए । त्यहीँबाट सुरु भयो ईपीएल र क्यानबीचको विवाद । 

ईपीएलले यसअघि नै प्रतियोगितामा कात्तिक अन्तिम साताबाट गर्ने घोषणा गरेको थियो । तर, क्यानले ईपीएलको नयाँ संस्करण आयोजना गर्न स्विकृति दिएको थिएन । नेपाल ट्वान्टी–२० लिग घोषणा कार्यक्रममा क्यान अध्यक्ष चन्दले अन्य लिग गर्न नदिने घोषणा गरेपछि ईपीएल आयोजक झस्किएको थियो । 

त्यसपछि ईपीएलले जेठ ९ गते पत्रकार सम्मेलन गरेर क्यानले प्रतियोगिता सञ्चालन गर्न अनुमति दिर्ने जोडदार माग गरेका थिए ।

उनीहरुले क्यान निलम्बनमा हुँदा पनि नेपाली क्रिकेटलाई चलायमान बनाउन आफुहरुले भुमिका खेलेका कारण पन ईपीएलले निरन्तरता पाउनुपर्ने माग गरेका थिए । 

“क्यानले जुनसुकै लिग संचालन गरे पनि विश्वकै पाँचौं र्याङकिङमा रहेको लिगलाई बन्द गर्नु हुदैन । निरन्तरता दिनुपर्छ । क्यानको निर्णयले निजी क्षेत्रलाई खेलकुदमा लगानी गर्न निरुत्साहित गरेको छ । यही अवस्था रहे भविष्यमा हामीले क्रिकेटमा लगानी गर्न नसक्ने अवस्था आउछ,” ईपीएलको फ्रेन्चाइज लिगका मालिकहरुले भनेका थिए । 

त्यसको भोलिपल्ट जेठ ९ गते क्यानले एक विज्ञप्ति जारी गर्दै ‘गम्भीर ध्यानाकर्षण भएको र भ्रामक समाचारप्रति सचेत रहन सबै सरोकारवालालाई सचेत’ रहन अनुरोध गरेको थियो । “गैर जिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको नेपाल क्रिकेट संघ खेद प्रकट गर्दछ,” क्यानको विज्ञप्तिमा भनिएको थियो । 

जेठ १० गते क्यानको बोर्ड बैठक बसेर पुनः नेपाल ट्वान्टी–२० लिगबाहेक अन्यलाई मान्यता नदिने निर्णय गर्यो । र प्रतियोगिता सहभागी हुने ६ टिमको नाम घोषणा गर्यो । 

क्यानको निर्णयमा भनिएको छ–

“१. नेपाल टी–२० लिगको लागि निम्नानुसारको टिमको नामहरू तय गरेको छ– विराटनगर, जनकपुर,  काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा, फार वेस्टर्न ।

२. नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाइज्ड लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यताप्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो ।”

क्यानको निर्णयले ईपीएललाई अझै क्रुद्ध बनाएको छ । ईपीएलका संस्थापक आमिर अख्तरले आफुहरु अब कानुनी लडाईँमा जाने बताएका थिए ।

“हामी यिनिहरुलाई छोड्दैनौं । अब कानुनी प्रकृयामा अघि बढेका छौँ,” अख्तरले भने, “विना प्रक्रिया भारतीय कम्पनीलाई ल्याउने काम भएको छ । हिजो नेपाली क्रिकेट कठिन अवस्थामा हुँदा हामीले धान्ने काम गरेका थियौं । चलायमान बनाएका थियौं । आज नेपाली लगानीकर्तालाई निरुत्साहित गरेर विदेशीलाई जिम्मा लगाउने काम भएको छ । यो कसरी जायज हुन्छ ?” 

क्यानले नेपाल ट्वान्टी–२० लिग सञ्चालनका लागि यसअघि नै भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’लाई रणनीतिक एवं व्यावसायिक साझेदारका रुपमा नियुक्त गरेको थियो । 

धनगढीमा सम्पन्न साधारणसभाले ‘सेभेन थ्री स्पोर्टस’सँग गरिएको आठ वर्षको सम्झैता अनुमोदन गरेको थियो । तथापी त्यसअघि क्यानले उक्त कम्पनीलाई दश वर्षका लागि आयोजना गर्न दिने सहमति गरेको थियो । तर, क्यानभित्रको विवाद भएपछि सम्झैता रद्द गर्ने निर्णय पनि गरेको थियो । 

२०७८ असोज २० र २१ गते काठमाडौंमा सम्पन्न बैठकले गरेको निर्णयमा भनिएको छ, “भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपाल क्रिकेट संघले नेपाल टी–२० लिग आयोजना गर्ने गरी गरेको सम्झैता कार्यान्वयन गर्न नेपाल सरकारले हालसम्म पनि अनुमति प्रदान नगरेको साथै सो कम्पनीले सरकारको अनुमति पूर्व गर्नुपर्ने सम्झैताअनुरुपका कार्यहरु सम्पन्न गर्न नसकेको हुँदा उक्त सम्झैता रद्द गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।”

तर, क्यानले पुनः सोही कम्पनीसँग ८ वर्षका लागि ३३ करोड रुपैयाँमा प्रतियोगिता आयोजना गर्न दिने निर्णय गरेको हो । सेभेन थ्री स्पोर्ट्ससँगको सम्झैता रद्द गर्ने निर्णयमा पुगेको क्यान एका एक कसरी पुनः सोही कम्पनीलाई ८ वर्षका लागि सम्झौता गर्न पुग्यो भन्ने प्रश्न जिवित नै छ । तथापी उसले सरकारको अनुमतिलाई बहाना बनाएको छ । 

ईपीएलकै फ्रेन्चाइज क्लब चितवन टाइगर्सका मालिक किशोर भट्टराईले क्यान एमेच्योर संस्था भएको र एमेच्योर निर्णय गरेको बताए । उनले राज्यमा सरकार, अदातल भएको र आफुहरु पर्ख र हेरको स्थितिमा रहेको बताएका छन् । 

“सबै देशमा प्रोफेसनल स्पोर्ट्स ऐन हुन्छ । हाम्रो छैन । अब नेपालमा पनि प्रोफेसन स्पोर्ट्स ऐन ल्याउनुपर्छ,” भट्टराईले भने, “केही व्यक्तिको स्वार्थका कारण क्रिकेट विग्रने अवस्थामा पुगेको छ । त्यसविरुद्ध हामी लड्नेछौं ।”

भट्टराईले जस्तै ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले भनेका छन्, “क्यानको व्यवहारले निजी क्षेत्रलाई खेलकुदमा लगानी गर्नबाट निरुत्साहित गरेको छ । उहाँहरूले ईपीएललाई मार्ने काम गर्नु भएको छ । त्यो भनेको यसमा लगानी गर्ने निजी क्षेत्रलाई मार्ने काम हो । अनि आफुलाई मार्नेलाई हामीले के दिन सक्छौँ ? हामी बुद्ध त होइनौं । एउटा गालामा थप्पड हान्दा अर्को गाला थाप्ने ? हामी मान्छे हौं । त्यसकारण त्यो गर्न सक्दैनौं ।’’

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro