site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उफ् मूल्यवृद्धि ! कसरी चलाउने दैनिकी ?

काठमाडौं ।  दैनिक उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । 

दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न तथा खानेतेललगायतका  वस्तुहरुमा नै अत्यधिक मूल्यवृद्धि भएपछि सर्वसाधारण उपभोक्ताको दैनिकी नै कस्टकर बन्दै गएको छ । 

आम उपभोक्ताले भान्सामा दैनिकरुपमा प्रयोग गर्ने तेल, मसला घ्यूलगायतको मूल्य पछिल्लो एक वर्षको अवधिमा ७० प्रतिशतसम्म वृद्धि भएको  छ ।  

Dabur Nepal

पछिल्लो समय खाद्य वस्तुको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ । तर, अत्यधिक मूल्य बढ्नेमा भने खाने तेल र घ्यूलगायतका वस्तु रहेको छ । 

एकातिर दैनिक उपभोग्य वस्तुको मूल्यमा लगातार रुपमा भएको वृद्धि र अर्कोतिर खाने पकाउने एलपी ग्याससहित डिजेल पेट्रोललगायत इन्धनको मूल्यमा भएको भारी वृद्धिले गर्दा सर्वसाधारण नागरिकको दैनिक जिवनयापन नै कष्टकर बन्दै गएको हो ।  

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य विगतमा केही वस्तुको मूल्य बढ्दा केही वस्तुको घट्ने गरेको भए पनि यो वर्ष भने सबै वस्तुको मूल्य बढेको बताउँछन् । “विगतमा दाल चामलको भाउ बढे पनि तेलको बढ्दैनथ्यो, तेलको बढे अन्य वस्तुको नबढ्ने हुन्थ्यो तर अहिले सबै वस्तुको मूल्य बढेको छ,” उनले भने, “अहिले हेर्ने हो भने दाल, चामल, आटा मैदामात्रै होइन, तेल घ्यू, हर्लिक्स, बिस्कुटको पनि मूल्य बढेको छ, चिया कफीको पनि मूल्य बढेको छ, मूल्य नबढेको वस्तु कुनै छैन ।”
यस्तो अवस्थामा सरकारले पनि सोच्नुपर्ने उनको तर्क छ । 

“अहिले जुनरुपमा मूल्य बढेको छ त्यहीअनुरुप बढ्नुपर्ने हो कि होइन व्यापारीले जे भन्छ सरकारको भर्सन त्यहीमात्रै भयो भने  सरकार नै व्यापारीको प्रतिनिधि भयो नि,” उनले बाह्रखरीसँग भने ।  

उनले भनेजस्तै उपभोग्य वस्तुको मूल्य यति धेरै वृद्धि हुँदा पनि सरकार बेखबर हुनुले  कतै सरकारले व्यापारीकै प्रतिनिधि बन्दै त छैन भन्ने प्रश्न स्वाभाविकरुपमा सिर्जना भएको बताए ।  

नागरिकको भान्सामा नभइ नहुने तेलको मूल्य  पछिल्लो एकवर्षमा मात्रै ७० प्रतिशतसम्मले बढेको छ ।  

२०७८ वैशाखमा प्रतिलिटर २२० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य हाल ३७५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ ।

त्यस्तै भटमासको तेल पनि प्रतिलिटर २२० रुपैयाँबाट बढेर ३२० रुपैयाँ, सन्फ्लावर तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँबाट बढेर ३५० रुपैयाँ पुगेको छ ।  

यस्तै डाल्डा घ्यूको मूल्य प्रतिलिटर १८० रुपैयाँबाट बढेर ३२० रुपैयाँ, नेपाली घ्यू प्रतिकिलो ९०० रुपैयाँबाट बढेर १२०० रुपैयाँसम्म पुगेको छ । 

तेल र घ्यू मात्रै होइन, चामल, तथा पिठोको  मूल्य पनि बढेको छ ।  

२०७८ वैशाखमा ८५ रुपैयाँ प्रतिकिलो रहेको  त्रिसुलीको पोखरेली चामलको ९० रुपैयाँ पुगेको छ ।   ७० रुपैयाँ किलोको स्टिम जिरा मसिनो चामलको मुल्य ७५ रुपैयाँ पुगेको छ । 

लङग्रेन बासमती चामल १४० रुपैयाँ प्रतिकिलोबाट बढेर १४५ रुपैयाँ पुगेको छ ।  ताइचिन चामलको मूल्य २०७८ वैशाखमा १३० रुपैयाँ प्रतिकिलो रहेकोमा २०७९ जेठमा १४५ रुपैयाँ प्रतिकिलो पुगेको छ । 

ताइचिन चिउरा प्रतिकिलो ९० रुपैयाँबाट बढेर १२० रुपैयाँ पुगेको छ ।  

मैदा किलोको ५५ रुपैयाँबाट बढेर प्रतिकिलो ६० रुपैयाँ आटा प्रतिकिलो ५० रुपैयाँबाट बढेर ५५ रुपैयाँ र चामलको मूल्य प्रतिकिलो ५० रुपैयाँबाट बढेर ६० रुपैयाँ पुगेको छ । मस्यौरा प्रतिकिलो १२० रुपैयाँबाट बढेर २२५ रुपैयाँ पुगेको छ ।

तेल र खाद्यान्न मात्रै नभएर गेडागुडी तथा दाहालको मूल्य पनि त्यसरी नै बढेको छ । २०७८ वैशाखमा १५० रुपैयाँ प्रतिकिलो रहेको मसुुर २०७९ जेठमा आउँदा प्रतिकिलो १७० रुपैयाँ पुगेको छ ।

यस्तै मुङ गेडाको मूल्य १६० प्रतिकिलोबाट १७० रुपैयाँ प्रतिकिलो, रहर दाल प्रतिकिलो १७० रुपैयाँ प्रतिकिलोबाट १८० रुपैयाँ, भटमास सेतो प्रतिकिलो १०० बाट १४५ रुपैयाँ पुग्दा कैलो भटमास १२० रुपैयाँ प्रतिकिलोबाट १७५ रुपैयाँ प्रतिकिलो र कालो भटमास १६० रुपैयाँ प्रतिकिलोबाट २२० रुपैयाँसम्म पुगेको छ । 

चनाको मूल्य प्रतिकिलो १४० बाट १६५ रुपैयाँ, हरियो केराउ प्रतिकिलो १३० रुपैयाँबाट १४० रुपैयाँ, सेतो केराउ १०० रुपैयाँबाट नै १२५ रुपैयाँ र राजमा प्रतिकिलो १८० रुपैयाँबाट २२० रुपैयाँ पुगेको छ ।  

सेतो सिमी पनि प्रतिकिलो १८० रुपैयाँबाट बढेर २२० रुपैयाँ पुगेको छ । 

यता चिनी ८५ रुपैयाँबाट बढेर प्रतिकिलो १०० रुपैयाँ, बेसार पाउडर प्रतिकिलो ३०० बाट बढेर ३७५ रुपैयाँ, धनियाँ पाउडर २५० बाट ३५० रुपैयाँ प्रतिकिलो, जिरा पाउडर ५०० रुपैयाँबाट प्रतिकिलो ५५० रुपैयाँ पुग्दा  खोरसानी पाउडरको मूल्य पनि प्रतिकिलो ४५० रुपैयाँबाट ५०० रुपैयाँ पुगेको छ । 

यी वस्तुमात्रै नभएर तरकारीको मूल्यसमेत बढेको छ ।  सिजनल तरकारीको मूल्यमा खासै वृद्धि नभए पनि टमाटर, काउली, बन्दालगायतको मूल्य भने उच्चरुपमा बढेको छ ।

कालीमाटी तरकारी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनी विशेष गरेर अफसिजनल तरकारीको मूल्य उच्च रुपमा बढेको बताउँछन् । 

त्यसमा पनि टमाटरको मूल्य भने गत वर्षको यही महिनाको तुलनामा पाँच गुणासम्म महंगो रहेको  उनको तर्क छ । 

हिउँदे तरकारी सकिँदै गएको र वर्षायामको तरकारी बजारमा आउन सुरु नहुँदा बजारमा तरकारी महँगो भएको उनले बताए । 

नेपालमा उत्पादन कम हुँदा भारतबाट तरकारी आउने गरेको भए पनि अहिले भारतमा नै उत्पादन कम भएर तरकारी महँगो रहेको उनले बताए । 

कालीमाटी तरकारी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी  विगतमा दैनिक ८०० टनसम्म तरकारी भित्रिने गरेकोमा अहिले कालीमाटीमा ७०० टनसम्म तरकारी आइरहेको बताए ।

अहिले सबैभन्दा धेरै मूल्य साना टमाटरको रहेको उनले बताए । 

आज केही घटेको भए पनि हिजोसम्म १०० रुपैयाँ प्रतिकिलो रहेको टमाटर गत वर्ष यही समयमा प्रतिकिलो २०–२६ रुपैयाँ रहेको उनले बताए । 

गत वर्ष यो समयमा एक महिनामा ३००० टन टमाटर आएकोमा यो वर्ष २ हजार टन मात्रै आएको उनले बताए । 

साथै गतवर्ष कोभिडको कारण होटल रेस्टुरेन्टमा खपत कम हुनुको साथै पार्टीहरु पनि नहुँदा माग कम भएर सस्तो भएको तरकारी यो वर्ष सबै क्षेत्र सञ्चालन हुँदा पनि माग उच्च भएको उनले बताए । 

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना मूल्य वृद्धिको कारण नागरिकको जिवनस्तर कष्टकर बन्दै भएको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताउँछन् । 

उत्पादन नभएको वस्तुमा पनि विभिन्न विकल्पसहित विभिन्न राष्ट्रबाट राज्यले भन्सार अथवा करमा छुट लिएर भए पनि सामान ल्याएर उपभोक्ताको दैनिकीलाई असर पार्ने कार्यलाई रोक्नुपर्ने बताउँछन् ।  

“पेट्रोलियम पदार्थको मूल्य बढ्दा असहज अवस्था भइरहेको छ, कर घटाएर इन्धनको मूल्य घटाउनुपर्छ,” उनले भने, “सरकारले आम नागरिकलाई राहतको प्याकेज ल्याउनुपर्छ, मजदुर किसान, विद्यार्थीको जिवनस्तर कस्टकर बन्दै जाँदा तिनीहरुलाई कसरी राहत दिने भने सरकारको स्पष्ट धारणा आउनुपर्छ ।”

कतिपय अवस्थामा अन्तर्राष्ट्रिय कारण देखाएर बढ्नै नपर्ने वस्तुको मूल्य पनि बढाइएको उनी बताउँछन् ।  

अनुगमन र नियमनलाइ प्रभावकारी बनाउन नसक्नु नै सबैभन्दा ठूलो कारण रहेको उनले बताए ।  

“उपभोक्ता संरक्षण ऐन २०७५ ले समग्र आपूर्ति व्यवस्था सहज गर्न बजारको तह तोक्न सक्ने व्यवस्था गरेको छ,” उनले बाह्रखरीसँग भने, “धादिङ, मकवानपुर, काभ्रेमा उत्पादन भएको तरकारी  कालीमाटी आउँदै गर्दा कति मूल्य तय भएको छ, त्यो मूल्य सही हो कि हैन, बिचौलिया कति बढी भएर भनेर बिचौलिया नियन्त्रण गर्न पनि बजारको तह तोक्ने भनेको छ, त्यसलाई कार्यान्वयन गर्न अनुगमन र नियमनलाई कडाई गर्नुपर्छ ।”

पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि मूल्य बढ्नुको प्रमुख कारण रहेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ चैत मसान्तको तुलनामा २०७८ चैतमा ट्रान्सपोर्टेसन क्षेत्रको मूल्यवृद्धि २०.१६ प्रतिशत रहेको छ । 

ढुवानी लागत बढ्दा सबै क्षेत्रमा त्यसको प्रभाव पर्ने हुन्छ । 

‘ट्रान्सपोर्टेसन कस्ट’ बढ्नुको मुख्य कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नै हो । गत आबको यहि अवधिमा १२३ रुपैयाँ रहेको  पेट्रोलको मूल्य हाल १८० रुपैयाँ पुगेको छ ।  यस्तै डिजेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँबाट १६३ रुपैयाँ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro