site stats
बाह्रखरी :: Baahrakhari
विचार
नेपाली रुचिको मोदी अवतार

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी एक चामत्कारिक राजनयिक हुन् भन्नेमा शंका छैन । भारतमा लगातार दुईपल्ट प्रधानमन्त्री निर्वाचित हुनु र आफ्नो व्यक्तित्व विश्वभर नै सकारात्मकरूपमा फैलाउन सक्नु उनको विशेषता हो । तर, उनको चामत्कारिक व्यक्तित्व नेपालका लागि भने सधैँ लाभदायक र हितकारी हुनसकेको छैन । 

कुनैबेला भारतका यी प्रधानमन्त्री नेपालका कुनै पनि नेताभन्दा चर्चित र रुचिकर देखिन्छन् भने कुनैबेला नेपाली जनता उनका कारणले पाएको दुःखको विरोधमा उनको पुतला दहन गर्न पनि पछि पर्दैनन् । यसरी नेपाली जनताको नजरमा कहिले अति सहृदयी र निकटको मित्र हुने र कहिले अत्यन्त रुष्ट ठूल्दाइको व्यवहार देखाउने नरेन्द्र मोदीले विगत केही समय यता नेपालप्रति केही नरम व्यवहार देखाउन थालेका छन् । 

यही जेठ २ गते बुद्ध जयन्तीको दिन कपिलवस्तुको लुम्बिनीमा नेपाल र नेपालीसँगको धार्मिक आस्थामा हातेमालो गरेर भारतका प्रधानमन्त्री मोदी ‘नयाँ अवतार’मा प्रकट भए जुन नेपाली रुचिअनुरूपको थियो । 

नेपाल र भारतको सम्बन्धको कुरा गर्दा यस्तो खुला सीमाना भएको देश विश्वमा अन्त कतै नभएको उपमा दिइन्छ । त्यस्तै, यहाँका जनताबीच ‘रोटी र बेटी’को सम्बन्ध छ भन्नेमा पनि कुनै विवाद छैन । तर, भारत ठूलो देश भएको, यसले नेपाललाई निकै आर्थिक सहयोग उपलब्ध गराउनेजस्ता अनेक कारण देखाएर भारतको बाबुतन्त्र (कर्मचारीतन्त्र)मा जरा गाडेको नेपाललाई खासै सम्मान नदिने र नेपाल भारतप्रति आश्रित देश हो भन्ने सोचका कारणले यी दुई देशबीचको सम्बन्ध खासै सौहार्दपूर्ण र विश्वसनीय बन्नसकेको छैन । 

भारतले अन्तर्राष्ट्रिय मञ्चमा विशेषगरी आफूसँगको सम्बन्धमा नेपाललाई एक सार्वभौम मित्रराष्ट्रको रूपमा व्यवहार गर्ने हो र नेपालीलाई आफ्नो सार्वभौमसत्तामा भारतबाट कुनै खतरा छैन भन्ने विश्वास दिलाउन हुने हो भने यी दुई देशको सम्बन्ध अत्यन्त निकट हुने कुरामा कुनै शंका छैन । यस्तो अवस्था प्राप्त गर्न यी दुवै देशका जनता र शासकहरूका सोचमा आधारभूत परिवर्तन आउनु पर्छ । 

Global Ime bank

पहिले नेपालको सोचमा के के परिवर्तन आउनु पर्छ भन्ने विषयमा छलफल गरौँ । अधिकांश नेपाली भारतले नेपाललाई सधैँ सहयोग गर्नुपर्छ र ठूलो छिमेकी भएको नाताले भारतले सानोतिनो कुरामा अत्तो थाप्नु हुँदैन भन्ने ठान्छन् । तर, यो सोच आफैँमा गलत हो । भारतले आफ्ना नागरिकको हित छाडेर नेपाललाई सहयोग गर्दैन र हामीले त्यस्तो आशा पनि गर्नु हुँदैन । हामीले भारतसँग सिक्किम वा भुटानसरहको सुविधा माग्नु हुँदैन । अन्यथा, हामी बराबर हैसियतको सार्वभौम राष्ट्रको रूपमा अडान लिनसक्ने अवस्थामा हुँदैनौ । 

एउटा मनन योग्य कुरो के हो भने नेपालले भारतविरुद्ध हुने आर्थिक अपराधमा सहयोग गर्दै आएको छ । भारतमा आयात बन्द गरिएको वा धेरै भन्सार लाग्ने सामान नेपालका लागि भनेर आयात गरेर ती सामान लुकाएर भारत लगिन्छ । यस्तो कामले नेपाललाई पनि नराम्रो प्रभाव पार्छ । नेपालको विदेशी मुद्रा भारतीय मुद्रामा परिवर्तित हुनेमात्र होइन कि त्यसरी आएको सम्पूर्ण आय नेपालमा कालो धनको रूपमा मात्र आउन सक्छ । भारतलाई त यसबाट ठूलो आर्थिक नोक्सानी हुन्छ । नेपालको कर्मचारीतन्त्र नमिली यस्तो आयात र भारततर्फ अनधिकृत निर्यात हुनै सक्दैन । यो काममा नेपाली र भारतीय दुवैतिरका व्यवसायी र कर्मचारीको मिलेमतो हुन्छ । यस्तो कार्य नेपालले तुरुन्तै बन्द गर्नुपर्छ । 

नेपाली राजनीतिकर्मीहरू भारतको सहयोग नपाईकन नेपालको राजनीतिमा अघि बढ्न सकिँदैन भन्ने सोच राख्छन् र भारतीय राजनीतिक नेतासँग सम्बन्ध बनाउन तँछाड, मछाड गर्छन् । तर, नेपाली जनताले भने भारतसँगको विशेष सम्बन्ध भएका नेतालाई खासै नरुचाएको देखिन्छ । नेपालका राजनीतिक नेता तथा उपल्ला तहका कर्मचारीहरू भारतमुखी हुने रोगबाट मुक्त हुनै पर्दछ । 

त्यस्तै नेपालले भारतसँगको सम्बन्धमा चिनियाँ कार्डको कूटनीति खेल्नखोज्छ जसले भारतीय नेतृत्वलाई उत्तेजित पारिदिन्छ । भारतीय र चिनियाँ कार्ड खेल्ने क्रममा कतिपय आयोजना कहिले भारत र कहिले चीनका कम्पनीलाई दिएर कुनै देश विशेषसँग साखुल्य हुन चाहने नेपाली नेताको व्यवहारले पनि हामीलाई स्वतन्त्र राष्ट्रको रूपमा भन्दा आश्रित देशजस्तो बनाउँछ ।

नेपाल सानो देश भएकाले भारतलाई धेरै चिढ्याउन वा उसको विरुद्ध ठूलो षडयन्त्र गर्ने काम गर्न सक्दैन । नेपालको आर्थिक र भौगोलिक अवस्थाले पनि भारतविरुद्धमा धेरै ठूलो अडान लिनसक्ने अवस्थामा छैन । यो नेपालले बुझेको पनि छ । 

अब जाऊँ, भारतको नेपालप्रतिको सोचमा आउनुपर्ने परिवर्तनका विषयमा । भारतीयहरू नेपालीसँग चिढिने सबैभन्दा ठूलो विषय चीनसँग नेपालको निकट सम्बन्ध हो । वैदेशिक सम्बन्धमा चासो राख्ने भारतीयलाई नेपालको चीनसँगको सम्बन्ध पाकिस्तानको चीनसँग भन्दा नजिकको छ भन्ने बनाइएको छ । भारतीयले बुझ्नुपर्ने के हो भने नेपालले चीनसँग सम्बन्ध नराखी भारतसँगमात्र सम्बन्ध बनाउन सक्दैन । दुवै छिमेकी राष्ट्रसँग उसले आफ्नै तरिकाको सम्बन्ध राख्छ र राख्न पाउनुपर्छ । तर, नेपालको २०७२ सालको वैशाखमा आएको भूकम्प र त्यसलगत्तै भारतले लगाएको नाकाबन्दीको समयदेखि नेपाल र चीनबीच पचास वर्ष अघिदेखि सञ्चालनमा रहेको तातोपानी भन्सार नाका बन्द रहेको छ । यो विगत सात वर्षदेखि खुल्नसकेको छैन । चीनसँग अहिले चालु रहेको रसुवागढीको नाका कति प्रारम्भिक अवस्थामा छ भने यहाँबाट ठूलो आयात निर्यात केही पनि सहज छैन । तर, भारतका बुद्धिजीवी भने या त यो तथ्यसँग परिचित छैनन् वा हुन चाहँदैनन् । 

नेपाल र चीनको प्रगाढ सम्बन्ध छ भनेर भारतीय मिडिया र कर्मचारीतन्त्रमा धेरै हौवा फैलाउनुको अर्को कारण पनि हुनसक्ने आशंका गर्न सकिन्छ । भारतको जासुसी संयन्त्र र सुरक्षाका लागि भनेर नेपालका लागि छुट्याउने बजेटमा कमी नआओस् भन्ने पनि कर्मचारीतन्त्रको स्वार्थ हुनसक्छ । 

भारतले लामो समयदेखि व्यापार सन्तुलन भारतको पक्षमा भए पनि भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट) मा नेपाललाई खासै समस्या छैन भन्दै आएको हो । त्यसको मतलब भारतीय सेनामा कार्यरत गोर्खाली सेनाले भारतबाट ल्याउने तलब र पेन्सनसहित भारतमा काम गर्ने नेपालीले ल्याउने भारतीय रुपैयाँको आयतन ठूलो भएकाले यस्तो भएको हो भन्ने थियो । तर, त्यसमा परिवर्तन आएको तथ्य भारतले अझै हृदयङ्म गर्नसकेको छैन । रेमिट्यान्सकै कुरा गर्ने हो भने अहिले नेपाल भारतको आठौं ठूलो रेमिट्यान्सको स्रोत देश हो । अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चका अनुसार भारतले पाउने कुल ६३ अर्ब डलर रेमिट्यान्समध्ये नेपालबाट मात्रै ३.०२ अर्ब डलर भारत जान्छ । सोही संस्थाको रिपोर्टअनुसार भारतबाट नेपालले १.०२ अर्ब डलरमात्र कमाइ गर्छ । यो तथ्य जनताको तहमा पुग्ने हो भने भारतीयहरूमा नेपालीहरू श्रमिकमात्र हुन भन्न सोच पनि मेटिएर जान्छ । यो सोच परिवर्तन नभई भारतीयको नेपालप्रतिको दृष्टिकोण परिवर्तन हुँदैन । 

विप्रेषण वा रेमिट्यान्समा मात्र होइन नेपाल भारतका लागि आर्थिकरूपमा पनि ठूलो स्रोत हो । भारतले प्रत्येक वर्ष नेपालमा करिब ९० करोड डलर बराबरको सामग्री निर्यात गर्छ । यसको आधारमा भारतले निर्यात गर्ने देशमध्ये नेपाल ११ औं ठूलो देशमा पर्छ । तर, यो त आधिकारिक तथ्यांक हो । धेरैको अनुमानमा नेपालले आधिकारिकभन्दा दोब्बर सामान भारतबाट आयात गर्छ जुन औपचारिक गणनामा आउँदैन । यो सही हो भने भारतका लागि नेपाल चौथो सबैभन्दा ठूलो खरिदकर्ता हो । यो तथ्य भारतीय बुद्धिजीवी र मिडियाले बुझेको खण्डमा नेपालप्रतिको सम्मान स्वतः बढ्नेमा शंका छैन । नाकाबन्दीको बेलामा भारतीय व्यवसायीले भने यो कुरा निकै बुझेका देखियो जुन सीमा नाकाका व्यवसायीले स्वीकार पनि गरेका थिए ।

त्यसैले, नेपाल र भारतको सम्बन्धको विषयमा कुरा गर्दा हामीलाई भारतको सहयोग पनि चाहिन्छ, अपनत्व पनि चाहिन्छ तर सँगै समान हैसियतमा सम्मान पनि चाहिन्छ । भारतले नेपाललाई ठूलो आर्थिक सहयोग दिनु पर्दैन, ठूला विद्युत् आयोजनामा लगानी गर्ने र सो बिजुली किनेर आफ्नो देश विकास गर्ने सोच राखे पुग्छ । त्यसैले बुद्ध जयन्तीको अवसरमा अरुण चौथो जलविद्युत् विकास गर्ने सम्झौतामा भएको हस्ताक्षर स्वागतयोग्य छ । 

बुद्ध जयन्तीमा आएर “बुद्धको जन्मस्थल नेपाल हो” भन्ने तथ्य दोहोर्‍याएर भारतीय प्रधानमन्त्री मोदीले नेपालीको दुःखेको घाउमा मलम लगाएका छन् । यसभन्दा थप नेपालीलाई दुख्ने घाउ आफ्नो सार्वभौमसत्ता हो । भारतले अन्तर्राष्ट्रिय मञ्चमा र यस क्षेत्रको भूराजनीतिक विषयमा नेपाललाई एक समान राष्ट्रको इज्जतका साथ सँगै लाने हो भने नेपालीहरूलाई भारतबाट थप केही चाहिँदैन । अहिले मोदीले देखाएको नयाँ अवतार पक्कै पनि नेपालीको रुचिअनुसारको छ । सबै नेपालीका तर्फबाट हार्दिक धन्यवाद ! नयाँ अवतार लिएको हो भने सीमा विवाद, भैरहवा विमानस्थलका लागि बाटो, नेपाली उत्पादनको क्वारेन्टिनको समस्या, सीमा नाकामा नेपालीले पाएको समस्या आदि समाधान गरिदिनुपर्‍यो भनेर सम्झाइराख्नु त पर्दैन नि ?

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu