
स्थानीय तह निर्वाचनका लागि अबको केही समयपछि मौनअवघि सुरु हुँदैछ । सत्तारुढ दलहरुले कतै तालमेल त कतै मैत्रिपूर्ण प्रतिस्पर्धा गरेका छन् ।
तर, गठबन्धन भएका भरतपुर र पोखरा महानगरमा भने कांग्रेस कार्यकर्ताहरुमा चरम असन्तुष्ट छन् । त्यो असन्तुष्टि भुसको आगोझैँ फैलिइरहेको छ । यस्तो अवस्थामा कांग्रेस कति स्थानीय तह जित्ने आकलनमा छ ? असन्तुष्टि सम्वोधन गर्न कांग्रेस किन समर्थ भइरहेको छैंन ?
यस्तै प्रश्न बाह्रखरीका रमेश वाग्ले र रोमन आचार्यले नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतसँग गरेका छन् । प्रस्तुत छ डा. महतसँग गरिएको कुराकानीको सम्पादित अंश :–
मौन अवधि सुरु हुन लाग्यो, चुनावी माहोल कस्तो देख्दै हुनुहुन्छ ?
नेपाली कांग्रेको स्थानीय निर्वाचनमा राम्रो रेस्पोन्स हामीले जनताबाट पाएका छौँ । धेरै सिटमा हामी सफल हुँदैछौँ । विजयको झण्डा फहराउँदै छौँ ।
गठबन्धन भएर कति उमेदवार छन् र कति मैत्रिपूर्ण प्रतिस्पर्धामा भन्ने तथ्यांक त कांग्रेससँग छ नि ?
हामीसँग तथ्यांक छ । पार्टीबाट ३० हजार ६२८ जना उमेदवार बनेका छन् । जसमा नगरपालिका प्रमुखमा २६२ र गाउँपालिका अध्यक्षमा ३७२ जना रहेका छन् । यस्तै १९४ जना नगर उपप्रमुख र ३४० जना गाउँपालिका उपाध्यक्षमा हुनुहुन्छ । वडातर्फ भने ६ हजार ४३ वडामा हाम्रो उमेदवारी छ ।
हामीले धेरै ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरेका छौँ । जहाँ सम्भव छ त्यहाँ तालमेल पनि गरेका छौँ । शीर्ष नेताहरूको जहाँ तालमेल हुन सक्दैन त्यहाँ मित्रवत प्रतिस्पर्धा गर्ने सहमति नै थियो । एमालेलगायत अन्य दलहरूसँग गठबन्धन नगर्ने भनिएको थियो त्यहाँ पनि केही अपवादका घटनाहरु भएका छन् । तालमेल भएको छ । कांग्रेसको तर्फबाट भन्दा पनि अन्य दलहरुबाट देखिएको हो । समग्रमा भन्दा समझदारीअनुसार नै गठबन्धनको काम भएको छ, परिणाम उत्साहजनक आउँछ ।
उमेदवारी ६३४ वटा पालिकामा छ । कांग्रेसले जित्ने चाहिँ कति ठाउँमा हो ?
ठ्याक्कै यतिनै स्थानीय तह जित्छौँ भनेर घोषणा गर्न त म सक्दिन । यस्तो कामको जिम्मा विपक्षी दलका नेताहरूले लिएका छन्, उहाँले नै भन्ने गर्नुहुन्छ । मलाई लाग्छ बहुमत ठाउँमा हामी जित्छौँ र पहिलेको तुलनामा सिट संख्या बढ्छ । कांग्रेस एक्लैको ७५३ स्थानीय तहको बहुमत संख्या पुग्छ ।
विपक्षी दलले कांग्रेसमाथि सत्तामा बसेर काम गर्न नसकेको गम्भीर आरोप लगाएको छ । यसले तपाईंहरुका मतदातालाई केही असर गर्छ कि गर्दैन ?
अवश्य पनि मनोरञ्जन दिन खप्पिस हुनुहुन्छ विपक्षी दलका नेता ओली । उखान टुक्का सुनाएर हसाउनु हुन्छ । उहाँले भरपूर मनोरञ्जन दिनुहुन्छ । राजनीति भनेको मनोरञ्जन दिने विषय होइन । यो गम्भीर विषय हो यसमा इमान समर्पण र दुरदृष्टि पनि चाहिन्छ । उहाँका अभिव्यक्तिहरु क्षणिक मनोरञ्जन दिने मात्र हुन् वास्तविकतासँग कुनै तालमेल देखिँदैन ।
उहाँ केके बोल्नु हुन्छ त्यो सुन्नेले बिर्सिदिउन भन्ने कामना गर्दै बस्नुहुन्छ । सत्तामा हुँदा घर घरमा ग्यास पाइप जोड्ने, पानीजहाज ल्याउने, चीनबाट तीनवर्षमै रेल ल्याउने कुरा गर्नु भयो । तर, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा अस्ति भर्खर बल्ल रेलवेको सर्वेक्षण सहमति बन्यो र हस्ताक्षर भयो । उहाँले त बीचमा रेलनै ल्याइसक्ने कुरा गर्नुभएको थियो तर विडम्वना उहाँले त सर्वेक्षणको पनि समक्षदारी गर्न सक्नुभएको रहेनछ ।
कुलो र कुरो जता पनि लग्न सकिन्छ तर कुराले त जनताको आवश्यक्ता पूर्ति र पेट त भरिँदैन नि ।
त्यसैले आम जनताले पनि काम र आवश्यकता पूर्तिको हिसाब गर्न थालेका छन् । पाँचवर्षका लागि ठूलो बहुमतको साथ निर्वाचित गरेर सत्तामा पठाएपछि उहाँले के–के गर्नुभयो ? पाँचवर्षका लागि निर्वाचित गरेकोमा तीन वर्षमै उहाँले हात उठाएको होइन ? मैले सकिन भनेर एक पटक होइन २ पटक संसद विघटन गरेर म यो मतपरिणामबाट सत्ता संचालन नै गर्न सक्दिन भनेको होइन ? त्यसबाट पनि उहाँहरू कुराका लागि मात्र योग्य हुनुहुन्छ कामको लागि हुनुहुन्न ।
तपाईंहरु चाहिँ आफूले के के गर्यौँ भनेर पनि भन्न सक्नुहुन्न नि त होइन ? गर्नेले भन्नु स्वाभाविक होइन ?
अरु कुरा गर्छन् नेपाली कांग्रेस काम गर्छ हामीले भनेका छौँ । तर, हाम्रो विशेषता भन्ने कि कमजोरी हामी प्रचारमा एकदमै कमजोर नै छौँ । आफूले गरेको कामको बारेमा भन्दैनौँ । गरेका कुरा पनि नभन्ने पार्टीले झुट कुरा गर्ने कुरै भएन । अब काम गरेर मात्र पुग्दैन जनतामाझ पनि राख्नुपर्छ भन्नेमा हामी छौँ । उहाँहरुको शाशनकालमा वाक्क भएका जनताहरुका कारण पनि नेपाली कांग्रेसप्रति जनमत बढेको छ ।
स्थानीय सरकारबाट कांग्रेसले के गर्यो त ?
स्थानीय तहकै कुरा गर्ने हो भने पनि १० वटा उत्कृष्ट गाउँ नगर सरकारमा ६ वटा त कांग्रेसकै उत्कृष्ट देखियो ।
अरु तीनवटा पनि गठबन्धनमा आवद्ध दलबाट निर्वाचित छन् । एमालेबाट जितेका प्रतिनिधि नेतृत्वको एउटा मात्र पालिका छ । त्यसबाट पनि स्थानीय तहमा बढी जिम्मेवार दल कांग्रेस रहेछ भन्ने स्पष्ट भएको छ । स्थानीय तहको साधन स्रोतलाई जनताको आवश्यकताअनुसार खर्च गर्ने र सुशासन दिने काम भएको छ । दुरुपयोग भएको छैन भन्ने देखिन्छ ।
कांग्रेसको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र धरासायी भएको रिपोर्ट सार्वजनिक गरेको छ एमालेले । तपाईंहरु सुशासन र राष्ट्रप्रति अविभाविकीय भूमिका निर्वाह गर्छौ भनिरहनुभएको छ !
ओलीको पालामा ऋण लिएको १९ अर्ब प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आफ्नो कार्यकर्ताहरुलाई बाँडिदिनु भयो । शेरबहादुर देउवाको सरकार बनेपछि हामीले अनुदानमा पैसा लिने तर, अत्यावश्यक बाहेक ऋण नलिने भन्ने नीति लिएको छ । नेपाली कांग्रेसको यही नीतिका र पहलका कारण ६० अर्ब भन्दा बढीको एमसीसी सम्झौता संसद्बाट पारित भयो । ओलीले कुरामात्रै गर्नुभयो काम गर्न सक्नुभएन ।
त्यसको लगत्तै ८० अर्ब बराबरको अर्को अनुदान अमेरिकी सरकारले अहिले फेरि दियो । १४० अर्ब अनुदान अहिलेसम्मकै ठूलो अनुदान हो । ओली भइरहेकै बेला देश श्रीलंकाको बाटोमा उन्मुख थियो । पाँचवर्ष उहाँ बसेको भए देश श्रीलंकाको अवस्थामा पुग्थ्यो ।
एमालले तथ्यांकसहित रिपोर्ट सार्वजनिक गरेको छ । वैदेशिक मुद्रा संचिति, रेमिट्यान्स आप्रवाह, व्यापारघाटा सबै बढेको भनेर । अहिलेका अर्थमन्त्रीमाथि नै गम्भीर प्रश्नहरु उठेका छन् । यसलाई हल्का रुपमा लिनुभएको छ ?
त्यो आरोप सरासर गलत हो । अहिले पनि प्रशस्त वैदेशिक मुद्रा सञ्चिती छ, तनावको अवस्था छैन । ७–८ महिनाको रिजर्भ छ यो राम्रो रिजर्भ हो । नेपाल चाहिँ श्रीलंकाको बाटोमा जाँदैछ भन्ने हल्ला फिजाइयो, तर उहाँ भएको भए चाहिँ पक्का श्रीलंकाको बाटोमा जान्थ्यो । ओली जी को पालामा कोभिड महामारीमा पनि भ्रष्टाचारलाई प्राथमिकतमा राखियो । महामारीको कतिसम्म कुव्यवस्थापन थियो र धेरै ठूलो भ्रष्टाचार भयो । जनताहरुले हात मुख जोड्ने अवस्था थिएन । सारा देश महिनौँसम्म बन्द थियो । त्यस्तो संकटलाई पनि उहाँले भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनुभयो ।
यहाँ परिवारका सदस्यहरु बन्धक भएकाका बेला बाहिर बस्नेहरुले ऋण काढेर पनि पैसा पठाएका थिए । त्यो पैसा तिर्नुपर्दा बीचमा केही रेमिट्यान्स घटेको थियो । अहिले रेमिट्यान्स बढ्दैछ ।
यद्यपी अर्थ मन्त्रालयबाट व्यस्थित रुपमा नेतृत्व भएको भए यो अवस्थालाई अझ राम्ररी व्यवस्थापन गर्न सकिन्थ्यो । नेपाली कांग्रेसले जसरी हिजो अर्थ मन्त्रालय सञ्चालन गरेको थियो उत्तरदायी अभिभावक भएर यसरी हुनुपर्छ भनेर, अहिले अर्थ मन्त्रालयको नेतृत्वका कारण प्रश्न गर्ने ठाउँहरु होलान् । अझ राम्रोसँग व्यवस्थापन गर्न सकिन्थ्यो किन गर्न सकिएन भन्ने कुरा होलान् ।
राष्ट्र बैंकको नेतृत्वले जसरी मौद्रिक नीति चल्नुपर्ने हो त्यसो नगरिदिँदा तरलतामा समस्या देखिन पुग्यो । वित्तीय नीतिको क्षेत्रमा समुचित व्यवस्थापन नहुँदा समस्याहरु केही आएका थिए । तर, समग्रमा अर्थतन्त्र ठिक बाटोमा उन्मुख छ ।
फेरि ओलीलाई त जे भन्ने पनि छुट छ, उहाँलाई कुनै आचारसंहिता लाग्दैन ।
काण्डै काण्ड भनेर कांग्रेसले आरोप लगाईंरहँदा उनीहरु चितवन पोखरा र काठमाडौं महानगर जित्दैछौँ भन्दैछन् । संख्यात्मक हिसावले पनि सुधार आउँछ भनिरहेका छन् । त्यसमा तपाईंहरुको मूल्यांकन के छ ?
हामी काठमाडौं, पोखरा र चितवन नगर जित्दैछौं । यद्यपी हाम्रा साथीहरुको पोखरामा र चितवनमा गुनासोहरु छन् । मत प्रतिशत हाम्रो ज्यादा छ, जस्तो भरतपूर पोखरा वीरगन्ज तर नेतृत्व अरुले गर्ने कुरा प्राकृतिक भएन भनेर गुनासो आएको हो । त्यो गुनासो यर्थाथ पनि छ । तर, पनि राष्ट्रिय रूपमा जुन गठबन्धन अघि बढेको छ । ओलीको प्रतिगमनकारी प्रवृत्तिको कारण बृतद् एकताको खाचो छ ।
त्यही हुनाले नेपाली कांग्रेसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेतृत्व दिन सक्छ भनेर उहाँहरुले नेपाली कांग्रेसको नेतृत्व खोज्नुभएको हो ।
यो साथ सहयोगलाई आम निर्वाचनसम्म अघि बढाउने उद्देश्यका साथ कतिपय ठाउँमा नेपाली कांग्रेसले उदारताका साथ प्रस्तुत भएको हो त्यसमा दुइ मत छैन ।
असन्तुष्टि छ तपाईं आफैँले स्वीकार गर्नुभयो । यो तालमेल सफल हुनेमा चाहिँ कति ढुक्क हुनुुहुन्छ ?
कांग्रेस सफल हुन्छ । कतिपय हाम्रा साथीहरुलाई के लाग्छ भने रूखमा मतदान गरिरहेका छौँ किन हसिया हथौडा वा अरू चिह्नमा मत हाल्ने भन्ने पनि छ । भावनात्मक कोणबाट हेर्दा त्यो कुरा ठिक हो । तर, यो एकोहोरो होइने । हसिया हथौडामा मत हाल्नेहरुले पनि कलममा हाल्नेहरुले पनि रुखमा पनि मत हाल्छन् नि !
त्यसकारण यसलाई भावनाको कोणबाट नहेरेर रणनीतिकरुपमा हेरिदिन आह्वान गर्दछु । एक्लै चुनाव लड्दा राम्रै परिणाम आउन पनि सक्छ । तर, मिलजुल गर्दा परिणाम थप राम्रो र हुन सक्छ । परिणाम सामूहिक रुपमा हाम्रो पक्षमा आउँछ ।
चितवनका कांग्रेस त तपाईंहरुसँग आगो भएर बसेका छन् उनीहरुले पनि भोट हाल्छन् गठबन्धनमा ?
मलाई विश्वास छ, त्यस्तो हुँदैन । सुरुमा हाम्रो यति मत छ किन यसो गरेका होला भन्ने थियो । तर, विस्तारै नेतृत्व तहबाट बुझाए पछि साथीहरुले महसुस गर्नुभएको छ ।
तस्बिर ः हरिशजंग क्षेत्री