
विकासप्रेमी नेताका रूपमा परिचित मदनभक्त अधिकारी गैँडाकोट नगरपालिकाको मेयर पदका उमेदवार हुन् । पञ्चायतकालमा २० वर्ष प्रधानपञ्च भएर काम गरेका अधिकारी भ्रष्टाचार, अनियमिततामा मुछिएका छैनन् । स्वच्छ छवि बनाएका छन् । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उनै अधिकारीसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
घरदैलो अभियानको आज अन्तिम दिन । कस्तो भइरहेको छ घरदैलो अभियान ?
अहिलेसम्म घरदैलो अभियान राम्रो भइरहेको छ । जति घरदैलो गरेँ, उत्साहजनक छ । धेरै मतदाता मसँगै घरदैलो अभियानमा हिँड्नुभएको छ । म उत्साहित छु ।
मतदाताको प्रतिक्रिया कस्तो छ ?
राम्रो रेस्पोन्स पाएको छु । तपाईं यहाँ (गैँडाकोट)को पुरानो बासिन्दा पनि, कुनै किसिमको छलकपट, भ्रष्टाचार नगर्ने मान्छे हुनुहुन्छ भनेर मलाई मतदाताले हौसला दिइरहनुभएको छ ।
तपाईंको प्रतिस्पर्धा कोसँग हुने ठान्नुभएको छ ?
मेरो प्रतिस्पर्धा एमालेका छत्रराज पौडेलसँग हुन्छ । यसअघि उहाँ नै मेयर हुनुभएको थियो । अहिले पनि मेयरमा उहाँले मसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मेरो प्रतिस्पर्धा उहाँसँगै हुने हो ।
मेयर भएर पौडेलले काम गर्नुभयो । उहाँ नै प्रतिस्पर्धी हुँदा तपाईंलाई गाह्रो पनि त हुन्छ होला नि ?
उहाँ मेयर हुँदा राम्रो काम गर्नुभएको छ कि छैन भनेर बुझ्नको लागि जनतासामुन्ने जानुपर्छ । मैले भन्ने कुरा भएन । निर्वाचनको बेलामा आम नागरिक/जनताले भन्नुहुन्छ, कति राम्रो काम भयो कति भएन भनेर ।
तपाईं मेयरमा निर्वाचित हुनुभयो भने प्राथमिकतामा पर्ने विषय के–के हुन् ?
शिक्षा, स्वास्थ्य, बेरोजगार सबैभन्दा पहिलो प्राथकितामा पर्ने क्षेत्र हुन् । यस्तै, ढल निकासलगायत नगर क्षेत्रमा अन्य धेरै समस्याहरू छन्, ती समस्या समाधान गर्ने नै मेरो लक्ष्य हो ।
तपाईंलाई नै भोट किन दिने ?
गैँडाकोटमा २० वर्ष प्रधानपञ्च भएर काम गरेँ । त्यति बेला मैले कुनै किसिमको भ्रष्टाचार, छलकपट केही गरिनँ । सोही कारण पनि यहाँका जनताले विगतमा पनि तपाईंले भ्रष्टाचार गर्नुभएको थिएन, तपाईं इमानदार हुनुहुन्छ भन्नुभएको छ । मलाई हौसला दिनुभएको छ । मेरो जित्ने आधार पनि यिनै हुन् ।
कांग्रेसको राजनीतिमा मात्रै ५० वर्ष बढी योगदान गरिसक्नुभयो । मेयरकै लागि किन अगाडि बढ्नुभयो ?
हो, गैँडाकोटवासीले मलाई सांसद मात्रै नभई मन्त्री भएर काम गरेको हेर्न चाहेका थिए । अहिले म ७२ वर्ष पुगेँ । यो डा. शशांक कोइरालासहित हाम्रो क्षेत्र हो । उहाँलाई छोडिदिएर मैले मेयरलाई नै रोजेको हो । मेयर भएर नै धेरै र राम्रो काम गर्न सकिन्छ । जनताको सेवा गर्न पाइन्छ भनेर नै मेयर रोजेको हो ।
मेयरका अवसर र चुनौती के हुन् ?
अवसरभन्दा पनि धेरै चुनौती छन् । ती चुनौतीलाई चिर्दै अगाडि बढ्ने मेरो पहिलो प्राथमिकता हुन्छ । पहिलाको मेयरले कति काम गरे/गरेनन्, यहाँका जनताले छुट्ट्याउनुहुन्छ । तर, जति काम गर्नुपर्ने थियो, त्यति भएको छैन । ती कामहरूलाई पूरा गर्नेतर्फ म लाग्छु ।
तपाईं निर्वाचित भए मतदाताको अपेक्षा कसरी पूरा गर्नुहुन्छ ?
म निर्वाचित भएपछि हरेक मतदाताको घरदैलोमा पुग्छु । उहाँहरूको समस्या के छ बुझ्छु, बुझेको पनि छु । उहाँहरूको समस्यालाई उहाँहरूकै प्राथमिकताका आधारमा काम गर्नेछु ।
उमदेवारले निर्वाचन जितेपछि सेवा होइन, शासन गर्न खोज्छन् भन्ने मतदाताको गुनासो छ नि !
म घरदैलोमा गएको बेलामा मतदाताले त्यो मलाई पनि भन्नुभयो । चुनावको बेलामा मात्रै आउँछन्, चुनाव सकिएपछि आउँदैनन् भन्ने गुनासो उहाँहरूको छ । तर, म के विश्वास दिलाउन चाहन्छु भने– म निर्वाचित भए भने हरेक मतदाताको घरदैलोमा पुग्नेछु । उहाँहरूको समस्या, पिरमर्का समाधान गर्नेतिर लाग्छु ।