काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसबाट दुई पटक क्षेत्रीय सभापति भएका उपेन्द्र कार्की उमेदवार छन् । उनी नगरपालिकामै दोस्रोपटक प्रतिस्पर्धामा छन् । उनी नगरपालिकालाई समुन्नत बनाउन ‘नयाँ काम होइन, भइरहेका काममा नयाँ शैली मात्र अपनाउनुपर्ने’ बताउँछन् ।
प्रस्तुत छ, बाह्रखरीका रमेश वाग्लेले कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश ।
तपाईंं कागेश्वरी मनोहरामा दोस्रोपटक उमेदवार हुनुहुन्छ । स्थानीय तहमा यहाँको उमेदवारी के का लागि ?
मुलभूत रूपमा राज्य पुनःसंरचनापछि मेरो आफ्नो दृष्टिकोणमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने र एक्सन ओरिएण्टेड (कार्य उन्मुख) भएर काम गर्ने सबैभन्दा प्रभवकारी थलोको रूपमा मैले स्थानीय पालिकालाई बुझेँ । त्यो बुझाइका कारणले नै मेरो आकर्षण पालिकामा भयो ।
स्थानीय सरकारमार्फत आफ्नो क्षमताले भ्याएसम्म जनताको काम र सेवा गरुँ भन्ने हुटहुटीले म यस नगरपालिकाको प्रमुखमा उमेदवारी दोहोर्याएको हुँ । अहिले पालिका सरकारहरू जसरी अघि बढिरहेका छन् त्यसलाइ साँचो अर्थमा अघि बढाउन, जुन सोचका साथ स्थानीय सरकारको गठन भएको हो, त्यसको मर्म र भावना समातेर स्थानीय सरकार अघि बढाउन, सुशासन स्थापित गर्न मैले स्थानीय तहमै काम गर्ने लक्ष्य राखेको हुँ ।

स्थानीय सरकारमा त्यति धेरै आकर्षण छ ?
मूलतः ०६२/६३ को जनआन्दोलन व्यवस्थापन गर्ने क्रममा जुन नयाँ संविधान बन्यो–त्यो संविधानले देशको समुन्नतिका लागि शक्तिको विकेन्द्रीकरण र प्रत्यायोजनको अवाधरणा लिएर जानुपर्छ भन्ने जुन लोकतन्त्रको उच्चतम अन्तर्राष्ट्रिय मान्यता अनुरूप केन्द्रका अधिकारहरूलाई तल्लो तहसम्म पुर्याउने गरी राज्य पुनर्संरचना गर्यो । यसले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । स्रोत, साधन, अधिकार र संवैधानिक मान्यता पनि स्थानीय तहलाई वितरण गरियो ।
मैले राजनीति गर्दैजाँदाको अनुभवमा के देखेँ भने जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुरालाई सम्बोधन गर्ने गरी काम गर्ने थलो या त प्रधानमन्त्री पद हो या त स्थानीय तहको नेतृत्व नै हो । यदि नमुनाको रूपमा आफूमा काम गर्ने क्षमता छ र जनतासमक्ष गएर प्रमाणित गर्नुछ भने पालिका नै उपयुक्त थलो हो भन्ने मेरो ठम्याइ छ ।
गएको स्थानीय तह निर्वाचनमा पनि म नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुख उमेदवार थिए । त्यसबेला हिजोको सिंगो नेकपा एमालेसँग ४८२ मतले पराजित हुनुपरेको थियो । त्यसमा मेरा प्रविधिक त्रुटीहरू पनि रहे तर, जे होस म जनप्रतिनिधि हुन सकिन ।
तपाईं पराजित भएपछि नगरवासीका लागि के गर्नुभयो ?
पराजित भएपछि पनि पाँच वर्षको अवधिमा म र मेरो टिमले नगरपालिकालाई राम्रो फिडब्याक दिने र सुधारका सुझावहरू दिने काम गरिरह्यौँ ।
अब तपाईंले देखेको सुन्दर नगरको सपना चाहिँ के हो त ?
म त्यसमा सुधार ल्याउन चाहन्छु । हामी २१औँ शताब्दीमा बाँचिरहेका छौँ । संसार एउटा ग्लोबल भिलेजको अवधारणामा गइसकेको छ । हामीले यति धेरै अधिकार सम्पन्न स्थानीय सरकारको मोडल कहाँबाट ल्यायौँ भन्दा युरोपका केही देशमा भएका मोडलहरू र विकसित राष्ट्रमा भएका भएका उच्चतम अभ्यासका परिणाम हेरेर ल्याएका हौँ । विकास समुन्नति हासिल गरेका मोडलहरूलाई हेरेर हाम्रो राज्य पुनर्संरचना भएको हो । यो पनुर्संरचनाले स्थानीय सरकारलाई सबैभन्दा सबल सरकारका रूपमा स्थापित गर्ने भावनाबाट पुनर्संरचना भएको छ ।
त्यो कुरालाई अघिल्लोपटक निर्वाचित भएका जनप्रतिनिधिहरूले हिजोका स्थानीय तहका अधिकारकै रूपमा अधिकारप्राप्त व्यक्तिले आफ्नै नीति, आफ्नै कार्यक्रम लागू गर्ने र त्यसबाट ‘पावर इन्जोय’ (शक्तिभोग) गर्ने र ‘अनयुजल बेनेफिट’ (अनुचित लाभ) ग्रहण गर्ने कुरामा बढी केन्द्रित भएको जस्तो देखियो हाम्रो नगरपालिकामा ।
म यति भन्न चाहन्छु –यो नगरलाई आधारभूत यति चिज भयो भने संसारकै वेस्ट म्युनिसिपल (उत्कृष्ट नगर) भएका मोडलहरू छन् त्यो बाटोमा जान सक्छ र हामी लान सक्छौँ ।
संक्षेपमा भन्दा यो नगरपालिकालाई भोलि सुशासन कायम गर्दै स्थानीय सरकारकोे अवधारणा अनुरूप अघि बढाउँछु ।
संवैधानिक व्यवस्थाको मर्म र भावना अनुरूप नगरपालिका सञ्चालन गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ । त्यसअनुसार हरेक विकास निर्माणका प्रक्रिया (छनौट, कार्यान्वयन र अनुगमनसम्म) त्यहाँका स्टेकहोल्डर्सहरू (जनता, समाजका विभिन्न संघसंस्था स्थानीय सरकारकै अर्को पाटो हुन्)को सहभागिता सुनिश्चित गर्ने मेरो प्राथमिकता हुनेछ ।
दोस्रो : नगरपालिकाको विकासलाई सुशासनयुक्त ढंगले संचलन गर्दै २१औँ शताब्दी सुहाँउदो प्रविधिसँग जोडेर प्रशासन सञ्चालनको पद्धति बसालिने छ । यहाँको विकास निर्माणमा पनि प्रविधि जोड्न आवश्यक छ ।
मलाई भित्रैबाट अनुभव भइरहेको कुरा र राष्ट्रिय, अन्तर्राष्ट्रिय विकासका विज्ञहरूको बहसका आधारमा भन्नुपर्दा नेपालको विकासमा ‘टेक्नोलोजी ब्लाइन्डेड सिन्ड्रोम’ देखिएको छ । विकासमा प्रविधिलाई जोड्ने कुरामा हाम्रो ध्यान नै छैन । प्रविधिमा हामी अन्धो भएका छौँ । यो नगरपालिकामा विकास र प्रविधिलाई जोड्ने कुरामा यो नगरपालिकालाई नमुना पालिका बनाउने मेरो लक्ष्य छ ।
विकासलाई प्रविधिसँग जोडेपछि अनावश्यक खर्चलाई कसरी घटाउँछ, कसरी विकासलाई चाँडो गर्छ, कसरी हामीले गरेको विकासलाई दिगो बनाउँछ भन्ने कुराको अनुसन्धानबाट विकासलाई प्रविधिसँग जोड्ने मेरो लक्ष्य छ ।
तेस्रो : महानगरपालिकाका वरिपरि रहेका नगरपालिकाहरूमा तीव्र गतिमा बस्ती विकास भइरहेको छ । त्यसमध्ये कागेश्वरी मनोहरा पनि एक हो । त्यो बस्ती विकास व्यवस्थित गर्न सकिएको छैन । मैले त सोचेको थिएँ, निर्वाचित भएको नेतृत्वले केही नमुना बस्ती निर्माण गर्छ, विकासमा भइरहेका गलत ढाँचालाई हटाएर एउटा सुल्टो बाटोमा लिएर जान्छ । तर, त्यस्तो हुन सकेन । सहरी विकास मापदण्ड अनुरूप एउटै खालका घरका शैलीहरू, बाटोघाटा सेवासुविधामा समान मापदण्ड लागू भएका बस्तीहरू, बस्तीका लागि आवश्यक अन्य पूर्वाधारहरू कार्यान्वयन हुन सकेन ।
बस्ती विकास गर्दा जग्गा खण्डीकरण गर्ने, घर बनाउने, अनि बाटो खोज्नुपर्ने, बाटो बनाएपछि खनेर ढल बनाउनुपर्ने, ढल बनाइसकेपछि फेरि खनेर खानेपानीको पाइप जोड्नुपर्ने त्यसका लागि ढल काट्नुपर्ने यो सबै उल्टो रूपमा आजसम्म विकासको मोडल सञ्चालन भइरहेको छ–त्यसलाई सुल्टो गतिमा लिएर जाने मेरो उद्देश्य छ । म त्यो सपना देखिरहेको छु र म त्यो गर्न सक्छु भनेर हेरिरहेको छु । भोलिको दिनमा व्यवस्थित बस्ती विकास मेरो योजनामा छ ।
त्यसो गर्नका लागि हरेक वडामा त्यहाँका जग्गा धनी, नगरपालिका र निजी क्षेत्रसँग समन्वयन गरेर अघि बढ्ने मेरो योजना छ ।
एकैपटक हजारौँ रोपनीमा नयाँ बस्ती विकास गर्नसके त्यो ‘सो फार द वेस्ट’ (सबैभन्दा राम्रो) तर, त्यसो हुन सकेन भने पनि सानो सानो काम गर्न सकिन्छ । मेरो नेतृ शैलजा आचार्यको भनाइ सम्झन्छु–‘स्मल इज ब्युटिफूल’ । हामीले पाँच वर्षको अवधिमा ९ वटा वडाहरूमा एक एक वटा नमुना बस्ती–त्यो २५ रोपनी, ५० रोपनीको होला तर एउटा नमुना बस्ती विकास गर्ने मेरो प्रतिबद्धता छ । म त्यो पूरा गर्न चाहन्छु ।
त्यसपछि पूर्वाधार विषयमा धेरै काम गर्नुछ । हरेक बस्ती, टोलटोलमा ढल, सडक, खानेपानी पाइपहरू वितरण, सडक बत्ती यावत चिजहरू हामीले गर्नुछ । तर, शुद्ध खानेपनी सबैभन्दा प्राथमिकतामा छ । पाँच वर्षभित्र हरेक घरसम्म शुद्ध खानेपानी पुर्याउन म काम गर्नेछु ।
शिक्षा, स्वास्थ्यमा भएका लगानी पर्याप्त भइरहेका छैनन् । त्यसमा लगानी थप गर्न आवश्यक छ । भइरहेको शिक्षा र स्वास्थ्य क्षेत्रको लगानी वृद्धि गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तन गरेर काम गर्नेछौँ ।
कागेश्वरी नगरपालिकाका मतदातालाई के भन्न चाहनुहुन्छ ?
आदरणीय मतदाता र नगरबासीहरू, विगत पाँच वर्षमा कागेश्वरी नगरसपालिकाले जुन गति लिनुपथ्र्यो त्यो लिन सकेन ।
विकासतर्फको पाइला अघि बढ्न नसकेकै हो । यो नगरलाई समृद्धिको अभियानमा लिएर जानुछ । सर्वप्रथम नगरपालिकालाई सुसाशनमा हिँडाउनुछ । त्यसपछि यसलाई विज्ञान र प्रविधिसँग जोडेर सुशासन र विकासलाई अघि बढाउँनुछ । यहाँको अव्यवस्थित बस्ती विकासलाई व्यवस्थित विकासमा लिएर जानेछौँ, यहाँ खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्दै खानेपानीलाई घरघरमा पुर्याउन काम गर्नेछौँ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानी बढाउँदै सुत्केरी, अशक्त र जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा पुर्याउन काम गर्नेछौँ । विद्यालय शिक्षासँगै पौष्टिक आहारलाई जोड्नेछौँ । बागमती र मनोहारा नदी संरक्षण गर्दै स्वच्छता कायम गर्न र शिवपुरी जलाधार क्षेत्रको संरक्षणका लागि नगरपालिकाले ठोस कार्यक्रम सञ्चलन गर्ने छ । समग्रमा नगरपालिकालाई अभिभावकीय संस्थाका रूपमा विकास गर्नेछौँ ।
आदरणीय मतदाताहरू, हामीले यी सपनाहरू तपाईंमार्फत नै देखेका हौँ । यो सपना तपाईंले चाहेको समुन्नतिको सपना हो ।
यसलाई पूरा गर्न हाम्रो यो कांग्रेस–माओवादी गठबन्धनलाई नेतृत्व कायम गर्ने अवसर दिनुस् । हामी नगरबासीको शिर झुक्न दिनेछैनौँ । तपाईंले दिने अवसलाई नगरपालिकाको समृद्धिको अभियानको थालनीका रूपमा विकसित गर्नेछौँ । हामी नयाँ नौलो चिज गर्नका लागि होइन, भइरहेकै कामलाई फरक ढंगले गर्दै राम्रो परिणाम निकाल्न एकपटक हामीलाई भोट दिएर अवसर दिनुस् । हाम्रो टिमलाई भोट दिनुस् ।