
अनेरास्ववियुबाट विद्यार्थी राजनीति हुँदै एमालेको केन्द्रीय सदस्य बनेकी कमला बोहोरा कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुखको उमेदवार छिन् । कञ्चनपुर जिल्लामा एमालेको सहइन्चार्जको जिम्मेवारीमा समेत रहेकी बोहोरा आफ्नो नगरपालिकाका समस्या समाधान गरी 'आदर्श नगर' बनाउने योजना लिएर घरदैलो गरिरहेकी छन् ।
आरक्षपीडित र सुकुम्बासीका समस्या सम्बोधन, खानेपानी र तटीय क्षेत्रको कटान नियन्त्रणसहितका कार्यक्रम लिएर निर्वाचनमा होमिएकी उनी विगतमा हारेका स्थानबाट एमालेमा नेतृत्व फर्काउने कसरतमा छिन् । विगतमै माओवादी केन्द्रले जितेको बेलौरीमा अहिले गठब्नधसमेत भएको अवस्थामा एमालेबाट जित्ने आधार के हुन् त ? प्रस्तुत छ, बाह्रखरीले उनै बोहोरासँग गरेको कुराकानीको सम्पादित अंश :
बेलौरी नगरपालिकाको प्रमुखमा किन चुनाव लड्दै हुनुहुन्छ ?
बेलौरी नगरपालिकामा चुनाव लड्नुका थुप्रै उद्देश्य छन् । मेरो उपस्थिति, मेरो उमेदवारी र भोलि मेरो विजयले यहाँका जनताका आवश्यकता पूरा गर्नका लागि, यहाँका जनताका साना भन्दा साना समस्या पनि समाधान गर्नका लागि मेरो उमेदवारी हो ।
अघिल्लोपटक माओवादी केन्द्रले जितेको थियो । यसपटक त गठबन्धन समेत भएको छ । तपाईं हार्न चुनाव लड्नुभएको ?
अघिल्लोपटक हाम्रो पार्टीले राम्रो उमेदवार दिन सकेन त्यसकारण दोस्रो हुनुपर्ने अवस्था थियो । अहिले फरक अवस्था निर्माण भएको छ । पार्टीले गठबन्धनका विरुद्धमा मलाई उठाएको छ । सबैभन्दा यहाँको हाम्रो पार्टी, सक्षम र तटस्थ जनता र म एउटा महिला पनि भएका कारण महिला समुदायले एउटा सशक्त महिला भएका कारण मलाई भोट हाल्ने भनिरहनुभएको छ । यही आधारमा चुनाव जित्छौँ भन्ने हामीलाई लागेको छ ।
हाम्रो यहाँको कुल भोटर ३४ हजार ५३९ भोटर छन् । यसको आधा भोटर महिला छन् । नगरप्रमुखमा महिला उमेदवार म मात्र भएकाले एउटा जितको आधार यो हो । दोस्रो एउटा पढेलेखेको व्यक्ति जसले भोली यो नगरपालिकाको मुहार फेर्न सक्छ भन्ने जनविश्वास छ ।

त्यसबाहेक भ्रष्टाचार नियन्त्रणको कुरा छ, शिक्षा, स्वास्थ्य रोजगारीको कुरा छ । उनीहरूलाई श्रम र उत्पादनसँग जोड्ने कुरा छ । यी सबैको प्रतिनिधित्व हुने खालको वातावरण मेरो नेतृत्वमा हुनेमा जनताको विश्वास रहेकाले पनि मेरो जित सुनिश्चित छ ।
नगरपालिकाको विगतको नेतृत्वको कार्यकालप्रति तपाईंको मूल्यांकन के छ ?
बेथितिको एउटा रूपमा बेलौरी नगरपालिका भएको छ । यहाँ अनुदानमा बेथिति, विकासका कुराहरूमा बेथिति, परिवारवाद र नातावाद कृपावादको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले गरेको छ । यहाँको स्थानीय जनतप्रतिधि मेयरदेखि सांसदसम्म माओवादी केन्द्रकै हुनुहुन्छ । यस बीचमा भएका जघन्य समस्या आउँदा सहज समाधानको पहल हुन सकेन ।
कोरोना महामारीले विक्षिप्त बनाउँदा, कात्तिकमा आएको बाढीले धान नष्ट हुँदा जनताका समस्यासँग माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले सरोकार नै नभएको झैँ व्यवहार गरेका छन् । जनताका समस्या जुन प्रकारको भूमिका खेल्नुपर्थ्यो त्यो भूमिका निर्वाह हुन सकेन । बेलौरी नगरपालिकालाई कमिसनको खेलबाट विकास नै रोक्ने काम गरेको छ । फेरि पनि उनीहरूलाई नै बेलौरीको नेतृत्व दिँदा जनताको हित हुँदैन भन्ने यहाँका जनताको बुझाइ रहेको छ ।
म अहिलेसम्म सार्वजनिक लाभका पदमा नबसेको, पाएका जिम्मेवारी विना भेदभाव पूरा गरेकाले पनि यहाँका जनताको विश्वास र भरोसा मसँग रहेको छ ।
हिजो एक्लै चुनाव जितेको माओवादीले गठबन्धन गरेको छ । अब तपाईंलाई जित्न अझ मुस्किल हुन्छ होला नि ?
हाम्रोमा गठबन्धन हुने भनिएपनि हुन सकेन । देशभर गठबन्धन भए पनि हाम्रो पालिकामा सबै पार्टी एक्लाएक्लै चुनाव लडेको अवस्था छ । यसकारणले पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा कडा हुन सक्छ । तर, यो प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्छु भन्नेमा म विश्वस्त छु ।
तपाईंले देखेको बेलौरी नगरपालिका कस्तो छ ?
सबैभन्दा पहिलो त यहाँको समृद्धि हो । समृद्धिसँग जोडिएको शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, नगरलाई सुव्यवस्थित गर्नुछ । त्यसबाहेक बाटोघाटो पुल पुलेसा निर्माण गर्नुछ । नदीको तटबन्धन गर्नुछ । सीमासँग जोडिएको नगर हुँदा सीमा समस्याका विषयलाई राष्ट्रियस्तरको मुद्दा बनाएर समाधान गर्नुछ, महिलाहरूको स्वास्थ्यसँग जोडिएका कुाराहरू छन् । सबैभन्दा ठूलो समस्या सुकुम्बासी र आरक्षा पीडितहरूको छ । यी समस्या समाधान गर्नुछ । अहिले पनि जंगलकोबिचमा सुकुम्बासी भएर बस्नुपर्दा नारकीय जीवन बिताउनुपरेको छ । यी कुराहरूलाई सम्बोधन गरेपछि बल्ल साँच्चिकै बेलौरी नगरपालिकालाई समतामुलक र सुशासन भएको आदर्श नगरपालिका बनाउन सकिन्छ ।
सबै जनताले न्यायपूर्ण जीवन बिताउन पाउने पालिका, शासक बस्ने ठाउँ होइन जनताले संघर्षबाट ल्याएको व्यवस्थाको पहिलो हकदार जनता हुन भन्ने ज्ञान भएको जनताको सेवकको नेतृत्व भएको ठाउँ बनाउनुछ ।
पालिका गाउँघरको सिंहदरबार हो । यहाँ सम्पूर्ण समस्या समाधान हुन्छन् भन्ने कुरा स्थापित गर्नुछ ।