site stats
अन्तर्वार्ता
जनता सचेत भइसके, मासु भातको प्रलोभनमा भोट बेच्ने छैनन् 

गिरीश गिरी पत्रकारिता तथा लेखन क्षेत्रमा नौलो नाम होइन । मूलधारका मिडियामा लामो समयसम्म रहेर पत्रकारिता गर्नुका साथै ‘वीरगन्ज’ र ‘सत्यमोहन’ पुस्तकका लेखक गिरी राजनीतिमा भने नयाँ खेलाडी हुन् । २०६० सालमा वीरगन्जका मनोनीत नगरप्रमुख स्व.गोपाल गिरीका छोरा गिरीशले वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उमेदवारी दिएका छन् । 
गिरीश गिरीको उमेदवारी, वीरगन्जको अहिलेको अवस्थालगायतका विषयमा बाह्रखरीका लागि पर्साबाट सूर्यनारायण विकले गरेको कुराकानीको सम्पादित अंश :  

पत्रकारिता, लेखक हुँदै अब राजनीति गर्ने सोच बनाउनुभएछ । महानगरको मेयरमा तपाईंको अपर्झट उमेदवारी किन ?

मैले लामो समयसम्म पत्रकारितामार्फत् थुप्रै मुद्दाहरु समस्याहरु उठान गरेँ । ‘वीरगन्ज मेरो सहरको कथा’ पुस्तकमा पनि मैले वीरगन्जका धेरै विषयवस्तुलाई उठाउने प्रयास नगरेको होइन । म जन्मिएको, हुर्किएको वीरगन्ज आजको वीरगन्ज होइन । 

Himalayan Bank
Agni Group

हरेक ठाउँमा क्रमिकरुपमा विकास हुन्छ । तर वीरगन्ज क्रमिकरुपमा विनाश हुँदै गयो । विकासप्रेमी नेतृत्व र नेताहरु कहिले आउलान् र वीरगन्जलाई पहिलेकोजस्तै बनाउलान् भनेर पर्खिरहेँ ।

मेरो बुबाले ३ महिनासम्म गरेको काम अहिले पनि उदाहरणीय छन् । उहाँले वीरगन्जका लागि देखेको सपना पूरा नहुँदै उहाँको हत्या गरियो । अब आफैँ नआउँदासम्म वीरगन्जको विकास हुन्छ जस्तो नलागेपछि मैले उमेदवारी दिने निधो गरेको हुँ । 

Global bank

बुबाले देखेको सपना पूरा गर्न भनिरहँदा यहाँलाई बुबाको सहानुभूतिमा भोट माग्न लागेको भन्ने आरोप पनि लागेको छ, के भन्नुहुन्छ ?

आरोप त जे पनि लगाउन पाइयो । तर खासमा मान्छेको नियत सही हुनुपर्छ । यदि सहि नियत भएका व्यक्तिहरु नेतृत्वमा आइदिएको भए म पत्रकारिता र लेखन कार्य छोडेर राजनीतिमा आउनुपर्ने आवश्यकता नै थिएन ।

आज देशैभर हेर्नुहोस्, शिक्षित एवम् सक्षम युवाहरुको जमात पनि राजनीतितर्फ आकर्षित हुँदैछ । अहिलेसम्म नेतृत्व गरिरहेकाहरुबाट कुनै पनि परिवर्तन र विकासको विश्वास नगरेपछि सबै आफैँबाट परिवर्तन गर्नुपर्छ भन्ने संकल्पकै परिणाम हो मेरो उमेदवारी पनि । 

यदि विकास र परिवर्तनकै लागि उमेदवारी हो भने राजसंस्थासहितको हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपा पार्टी नै किन रोज्नुभयो ? 

अहिलेको परिवेशमा मैले सबैभन्दा धेरै सामना गर्नुपरेको प्रश्न यही हो । यहाँ त पद र पैसाका लागि विचार बदल्नेहरुको अनि टिकट पाउनकै लागि पार्टी बदल्नेहरु सबैले चिनिसके । म त आफुलाई भाग्यमानी ठान्छु, मेरो बुबा पनि हलो छापबाट चुनाव लड्नुभयो अनि म पनि हलो छापबाटै । 

राजसंस्थाको कुरा जहाँसम्म छ, मलाई के लाग्छ भने पार्टीको एजेन्डा र विचार आफ्नो ठाउँमा छ । तर म त वीरगन्जको विकासको लागि अवसर दिने पार्टीको रुपमा राप्रपालाई लिन्छु ।

सुरुमा यहाँको जिल्ला समितिले मलाई प्रस्ताव राखेपछि मैले घरपरिवारसँग सल्लाह गरेँ र, पछि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको फोन आएपछि उहाँसँग मेरो विचार मिलेको हुँदा मैले निर्वाचन लड्ने प्रस्तावलाई स्वीकार गरेँ । उहाँले पनि चुनाव खर्चिलो र भड्किलो भएकोमा आपत्ति जनाउनुभयो । मेरो पनि विचार चुनाव खर्चिलो हुनुहुँदैन भन्ने नै हो । 

तपाईंका प्रतिद्वन्द्वीहरुले त करोडौँ खर्च गर्दैछन् भन्ने चर्चा छ । अब तपाईंले खर्च नगरेपछि कसरी चुनाव जित्नुहोला त ? मतदाताले भोट दिन्छन् भन्नेमा कसरी विश्वास गर्ने ?

सबैभन्दा ठूलो आधार नै यही हो कि उहाँहरुले पैसा खर्च गर्नुहुन्छ । जनता अहिले पनि मुर्ख छन् र ? केही पैसा दिँदैमा अनि मासु चिउरा खुवाउँदैमा र मोटरसाइकलमा पेट्रोल भर्दैमा भोट दिइहाल्छन् भन्ने भ्रममा उहाँहरु हुनुहुन्छ । 

तर मलाई पूर्ण विश्वास छ जनताले मलाई नै भोट दिनुहुनेछ भनेर । र, म सबैलाई आग्रह पनि गर्छु, जसले जति पैसा दिन्छ लिनुहोस्, जे खुवाउँछ खानुहोस् किनभने त्यो तपाईंकै पैसा हो, भ्रष्टाचार गरेर कमाएको पैसाले अहिले चुनाव लडिरहेका छन् । त्यही भएर खाने र लिने कुरामा पछि नपर्नुहोस् तर मतदान गर्ने बेला भनेर सोचेर पछि पछुताउनुपर्ने अवस्था नआउनेगरी दिनुहोस् । 

तपाईंले वीरगन्जको लागि गरेको परिकल्पना के हो ?

वीरगन्ज एउटा ऐतिहासिक सहर हो । म अझै पनि स्मरण गर्न चाहन्छु त्यो दिन, जुन बेला हामी वीरगन्जको त्रिजुद्ध स्कुलमा पढ्थ्यौँ । त्यहाँ एउटा सामान्य रिक्सा, ठेला चलाउने मजदुरका छोरा पनि मसँगै बसेर पढ्थे भने यहाँका धनी उद्योगी व्यवसायीका छोराहरु पनि हाम्रै बेञ्चमा बसेका हुन्थे । त्यो हो खासमा समानता ।

तर अहिले त ठेला चलाउनेहरुको छोरा अर्कै स्कुलमा धनाड्यहरुका छोरा अर्कै स्कुलमा यो पनि कहीँ समानता हो ? हामीले सोचेको वीरगन्ज हामीले चाहेको शिक्षा प्रणाली यस्तै हो त ? कदापी हैन ।

सरकारी स्कुलहरुको दुरावस्थालाई सुधार गरेर पुरानै अवस्थामा फर्काउने अनि स्वास्थ्यको क्षेत्रमा रकम अभावकै कारण कसैले पनि ज्यान गुमाउन नपर्ने अनि बाहिरबाट कोही आउनेबित्तिकै हराभरा अनि स्वच्छ र सफा सहर होस् । एक दिनको लागि आउने व्यक्ति दुई दिन बसोस्, फेरि फेरि आउने इच्छा व्यक्त गरोस् । यो मेरो मात्रै होइन समस्त वीरगन्जबासीले परिकल्पना गरेको सहर हो । 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्