site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले गौरवका आयोजना नै सुरु गर्न सकेन, योपटक एमालेले जित्छ 

नेकपा (एमाले)का तर्फबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको  प्रमुख पदका उमेदवार हुन्, उद्धव विष्ट । २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वरमा एमाले पराजित भएको थियो ।

विष्ट अहिले भने जित्ने दाबी गरिरहेका छन्, त्यो पनि चार हजार मतान्तरले । आफूले जिते भ्रष्टाचारमुक्त नगर बनाउने बताइरहेका उनै विष्टसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
 
अघिल्लो निर्वाचनमा प्रमुख पदमा एमाले हजारभन्दा बढी मतान्तरले पराजित भएको थियो । अहिलेको निर्वाचनमा के होला ? 

नेपाली कांग्रेसले घोषणापत्रमा गोकर्णेश्वर नगरपालिकामा गौरवको योजना घोषणा गरेको थियो । त्यसमध्ये नगरको प्रशासनिक भवनसमेत सुरुवात गर्न सकेन । जनताबाट व्यापक रूपमा कर उठाउने र त्यो रकम कार्यकर्ता पोस्ने, भ्रमण, विविध नाममा भोजभतेरमा सिध्यायो । हिजो आफैँले घोषणा गरेका गौरवका योजना नै सुरु नगरेकाले जनताले कांग्रेस बोल्छ, काम गर्दैन् भन्ने निष्कर्ष निकालेका छन् ।

जनताको बुझाइमा काम गर्ने पार्टी एमाले हो । हामी हिजोका गल्ती दोहोर्‍याउँदैनौँ, एमालेलाई जिताएर नगरको विकास चाहन्छौँ भनेका छन् । अहिलेसम्मको स्थितिमा कांग्रेसभन्दा चार हजार बढी मतान्तरले निर्वाचित हुनेमा ढुक्क छु ।

अघिल्लो निर्वाचनमा पार्टी सिंगो थियो । अहिले विभाजित भएको छ ।  धेरै मत आउँछ ? 

अदालतले जुन बेला एमाले र माओवादी फरक–फरक दल हुने गरी फैसला गर्‍यो, त्यसपछि हिजो माओवादीमा रहेका साथीहरू एमालेमा नै हुनुहुन्छ । ०७४ सालको चुनावमा एमाले र माओवादी छुट्टाछुट्टै चुनाव लडिरहेको थियो । एमालेका केही व्यक्ति मात्रै पार्टीमा हुनु हुन्न । पार्टी विभाजनको असर छैन । कांग्रेससँगको मतान्तर चार हजार हुने देखेको छु । अरू पार्टीको चुनौती छैन ।

तपाईंलाई नै जनताले भोट दिने आधार के हो ?

नेकपा (एमाले)ले चुनाव हारेपछि पनि जनताको काम नगरेको भन्ने छैन । हामीले जित–हार जे भए पनि जनताको र विकासको पक्षमा काम गरिरहेका छौँ । नगरपालिको सुशासनका लागि, भ्रष्टाचाररहित नगरपालिका बनाउन, नगरबाट पाउने सेवा सुविधा सहज ढंगले पाउनका लागि जनताको मत दिन अपरिहार्य छ ।

मेयरमा जित्नुभयो भने पहिलो के काम गर्नुहुन्छ ?

पहिलो कुरा त मैले प्रशासन नै सुधार्नुपर्छ । प्रशासनमा रहेको विकृति, विसंगति हटाउनुपर्छ । त्यहाँ रहेको भ्रष्टाचारलाई निर्मुल पार्नुपर्छ । त्यहाँ जनता जतिसुकै बेला आए पनि सिस्टमले काम गर्ने व्यवस्था मिलाउनुपर्छ । कसैको सोर्स, फोर्सविनै कानुनले दिएको स्थानीय तहका अधिकार जनताले सहजै पाउने वातावरण बनाउँछौँ ।

अरू प्राथमिकतामा के–के छन् ? 

दोस्रो, प्रशासन भवन बनाउनुपर्नेछ । तेस्रो, फोहोरमैला यहाँको समस्याका रूपमा छ । त्यसलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नेछौँ । खानेपानी, शिक्षा, खेलकुद, स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै छन् । भन्नुभन्दा पनि गरेर देखाउँछु । निर्वाचित भएर आएपछि नगरपालिकामा भएका विशेषज्ञ, सबै पार्टीका साथीहरू, बुद्धिजीवीलाई राखेर प्लानिङसहित सबैको साझा व्यक्ति भएर काम गर्न चाहन्छु ।

फोहोरमैला व्यवस्थापन गर्छु भन्नुभयो । कसरी, योजना के छ ?

अहिले ठेकदारी प्रथाबाट फोहोर उठिरहेको छ । जुनसुकै समयमा फोहोरमैला उठाउने, गाडी दौडिरहेको देखिन्छ । हामीले जिते स्कुल र अफिस टाइमभन्दा पछि राति १० बजेपछि फोहोर उठाउने व्यवस्था गर्नेछौँ । काठमाडौं महानगरपालिका र सरकारसँग समन्वय गरेर आधुनिक प्रविधिलाई जोडेर सुन्दर, सफा नगरपालिका बनाउनेछौँ ।

नेताहरू चुनावका बेला भाषण गर्छन्, जितेर गएपछि काम गर्दैनन् भन्ने सुनिन्छ नि !

राम्रो र नराम्रो आचारण भएका मानिस सबै पार्टीमा छन् । राम्रो कामको प्रचार नगर्ने र नराम्रो कामको प्रचार गर्ने ट्रेन्ड नै छ ।

नराम्रो काम गर्नेहरूले यो व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम गरेको देखिन्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो । यहाँ जनातले तिरेको पैसा केका लागि खर्च भइरहेको छ भनेर देखाउन सक्नुपर्छ । जनतालाई कर लगाउँदा, फरफारक गर्दा वार्षिक कति खर्च भयो, के विषयमा कति कर उठ्यो भनेर सबै पारदर्शी ढंगले काम गरेमा जनताको आकर्षण बढ्छ ।

निर्वाचित भएपछि सेवक नभएर शासकका रूपमा प्रस्तुत हुँदा जनतामा वितृष्णा भएकाले प्रश्न उठेको हो । मैले जिते यस्ता भ्रम चिरेर जनताको अपनत्व हुने गरी काम गर्छु ।

बितेको कार्यकालमा गोकर्णेश्वर नगरपालिकामा भएका कामको कसरी मूल्यांकन गर्नुहुन्छ ? 

केही काम नै भएको छैन । उहाँहरूको घोषणापत्रमा प्रशासनिक भवन, वाग्मतीमा ड्याम थुनेर स्ट्रिमर चलाउने, तारेभिरमा बुद्ध र शिवको ठूलो मूर्ति बनाउने, जगडोलदेखि शिवपुरीमाथिसम्म केबलकार चलाउने भन्नुभएको थियो । त्यो कुनै पनि सुरु गर्नुभएको छैन । मैले आरोप लगाएको होइन । वास्तविकता यही हो ।

तपाईंका पनि त्यस्ता योजना होलान् नि ?

हाम्रो त्यस्ता ठूला खालका योजना छैनन् । सामान्य योजना छन् । उज्यालो नगरपालिका बनाउने, भ्रष्टाचाररहित नगर बनाउने, नगरका विकृति हटाउने, समयानुकूल, आवश्यकताअनुसारको कुराहरू बुद्धिजीवीहरूसँगको छलफलमा मास्टर प्लान बनाएर अघि बढ्छौँ ।

भोलि तपाईंमाथि नै भ्रष्टाचारको आरोप लाग्यो भने ! 

त्यस्तो हुँदैन । मैले राजनीति सुरु गरेको ३५ वर्ष भयो । यदि, कानुनी रूपमा भ्रष्टाचार गरेको प्रमाणित भयो भने राजनीतिबाटै सन्न्यास लिन्छु ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro