site stats
अन्तर्वार्ता
कांग्रेस, माओवादी र समाजवादीका असन्तुष्टहरू मलाई भोट हाल्दै छन्  

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंको दक्षिणकाली नगारपालिकामा नेकपा (एमाले)ले थोरै मतान्तरले नगर प्रमुख पदमा पराजय भोगेको थियो । पार्टीबाट प्रमुखका उमेदवार शशी शर्मा अर्याल नेपाली कांग्रेसका उमेदवार मोहन बस्नेतसँग ४३० मतले पराजित भएका थिए । नगर उपप्रमुखतर्फ पनि एमाले ४१९ मतले पराजित भएको थियो ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेले कांग्रेससहित सत्ता गठबन्धनका दलहरूको एक्लै सामना गर्दै छ । एमालेले उमेदवार फेरेको छ । अर्यालको ठाउँमा श्रीराम आचार्य उमेदवार छन् । अघिल्लोपटक कांग्रेससँग हारेको एमाले योपटक नयाँ उमेदवारसहित गठबन्धनलाई नै हराउने दाबी गरिरहेको छ । प्रस्तुत छ, उनै आचार्यसँग बाह्रखरीका रोमन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

अघिल्लोपटक एमालेले थोरै मतान्तरले नगर प्रमुख र उपप्रमुख गुमाएको थियो । योपटक तपाईं उमेदवार बन्नुभएको छ । जित्ने सम्भावना कति छ ? 

Himalayan Bank
Agni Group

पाँच वर्षअघि कांग्रेसले ४३० मतले मात्र जितेको हो । त्यो भनेको साढे २०० मतको मात्र खेल हो । अहिले गठबन्धन उनीहरूले गरिरहेका छन् । नेकपा (एमाले) एक्लो, उनीहरू पाँचवटा शक्ति एक छन् ।

कागजी कुरा हेर्दा त हामीले उमेदवारी नदिँदा पनि हुन्छ होला नि हैन ! तर, अवस्था त्यस्तो हैन । नेकपा (एमाले) विगतमा नतिजा हेर्दा पनि अरू पार्टीभन्दा हाम्रो जनमत बढी नै हो । अहिले पनि अवस्थामा खास फरक छैन । मैले जित्ने आधार भनेको पनि जनताको अभिमत हो । अहिलेसम्म मलाई गरेको भरोसा हो । पार्टीले मात्र होइन, यहाँका राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायत पार्टीहरूका साथीहरूले पनि मलाई पत्याउनुभएको छ ।

Global bank

परमादेशबाट बनेको सरकार जोगाउन गठबन्धनको नाममा आफ्ना कार्यकार्ताहरूमाथि जुन खेलबाड गर्नुभएको छ, त्यसले अवसर आए कुनै पदमा बसेर जनताको सेवा गरौँला भन्ने सपना पालेर बस्नुभएका कार्यकर्ताहरूको भावनामा चोट पुर्‍याएको छ । त्यो प्रतिशोधको मल्हम लगाउने एमाले हो, म नै हुँ । तलका कार्यकर्ताहरूको भावना नसमेट्दा के हुन्छ भनेर माथिकालाई सबक सिकाउन पनि अन्य दलका साथीहरूले मलाई मत हाल्नुुहुन्छ ।

तर, गठबन्धनका कारण एमालेलाई अर्थात् तपाईंहरूलाई चुनौती पक्कै छ हैन र ? 

मैले यसलाई बिलकुलै चुनौती ठानेकै छैन । सरसर्ती हेर्दा चुनौती देखिन्छ, तर सँगै हामीलाई ठूलो अवसर पनि छ । म त अझ चुनौतीसँग रमाउने मान्छे हो । तर, गठबन्धनलाई मैले बिलकुलै चुनौती ठानेकै छैन ।

गठबन्धन एक ढिक्का भए पो चुनाव जित्नु ! माओवादी नै एक छैन । माओवादीको एक–दुई शक्ति हामीसँग जोडिनुभएको छ । उहाँहरूसँग भएको त माओवादीको एउटा ध्रुव न हो । कांग्रेसका लामो समय त्याग गर्नुभएका, संघर्ष गर्नुभएका साथीहरू उमेदवार बन्न पाउनुभएको छैन । गठबन्धनको नाममा भद्रगोल भएको छ । यतिले मात्र जित्ने पनि हैन ।

आम नागरिक र कुनै पनि राजनीतिक दलमा आस्था राख्ने साथीहरू जसले दक्षिणकालीको मुहार फेर्न चाहनुहुन्छ, रूपान्तरण चाहनुहुन्छ, समृद्धि र विकास चाहनुहुन्छ, उहाँहरूले अहिले मात्र हैन, हिजैदेखि मलाई पत्याउनुभएको छ । दक्षिणकाली नगरपालिका भएर बीचमा खोसिएको थियो । हामीले राज्य पुनर्संरचना हुँदा यसलाई नगरपालिकाको रूपमा फिर्ता गराउन सफल भयौँ ।

तपाईंकै पार्टी एमाले पनि विभाजन भएको छ । यसको असर त स्वाभाविक रूपमा पर्छ नि हैन ? 

यो तर्क स्वाभाविक हो । पार्टी विभाजन हुनु अवश्य पनि राम्रो होइन । तर, नेकपा (एमाले) कार्यकर्ताको कारणले विभाजन भएको पनि हैन ।

प्रचण्ड र माधव नेपालको गुटगत स्वार्थ र आरिसले पार्टी विभाजन भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको देशभर ‘केपी बा’ का रूपमा उदाएको क्रेजलाई पचाउन नसकेर उनीहरूले पार्टी विभाजन गरे । अवसरका भकारीहरूले हाम्रो पालो नआउने भयो भनेर बूढानीलकण्ठमा शेरबहादुर देउवको पाउमा गएर लम्पसार परेर पार्टी विभाजन भएको हो ।

तपाईंकै मिडियाबाट घोषणा गरौँ कि त्यो नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टीको संगठन नै छैन । त्यसको एउटा छाया पनि हाम्रो नगरपालिकामा छैन । सम्पूर्ण जनप्रतिनिधिहरू एक ढिक्का हुनुुहुन्छ । वडादेखि केन्द्रसम्म रहेका कमरेडहरू पार्टीमा एकढिक्का हुनुहुन्छ । टिकट फाइनल मेरो भएर आएपछि अहिले पार्टीबाटै मेयरका आकांक्षी साथीहरू मसँगै घरदैलोमा हुनुहुन्छ र चुनावी मोर्चा उहाँहरूले नै हाँक्नुभएको छ । उपप्रमुखतर्फ पनि अवस्था उस्तै छ । यो एकता देखेर त्यो ‘एस’ भन्ने र गठबन्धन दलको सातो उडेको छ । नेकपा (एमाले) सिंगो, सबल र प्रबल छ । मेरो जितको आधार नै यही हो ।

०७४ को स्थानीय निर्वाचनमा अन्तिम समयमा टिकट पाउनु भएन । अहिले उमेदवार हुनुहुन्छ । तपाईंलाई जनताले पत्याउनुपर्ने कारण के छन् ? 

अघिल्लोपटक पनि एक हद टिकट फाइनल भएकै हो । तर, पार्टीभित्र गुट–उपगुटको सिकार बन्दा मेरो टिकट खोसियो । त्यति बेला दक्षिणकालीका जनताले मलाई यहाँको संस्थापक मेयरको जिम्मेवारी दिन चाहनुभएको थियो । अहिले पार्टीका साथीहरूले पनि जनताले रूचाएका पात्रलाई चुनाव लड्नबाट वञ्चित गर्दा नतिजा नआएको स्वीकार गर्नुभएको छ ।

नगरपालिका पुनर्स्थापित गराउने कार्यमा मैले सबै दलका नेताहरूमाझ पुगेर गरेको प्रयासलाई जनताले नजिकबाट हेर्नुभएको छ । नगर प्रमुख बनाउन सक्यो भने हाम्रो घरदैलोमा अनेकन् काम गर्छ भन्ने बुझाइ जनतामा छ । अरू राजनीतिक दलमा भोट हाल्ने साथीहरूले पनि एकपटक मेरो नेतृत्व चाहनुभएको छ ।

मैले यहाँका जनता र मेरो पार्टीका नेताहरूलाई पनि बाचा गरेको छु । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर म जितेर आर्शीवाद थाप्न आउनेछु भनेको छु । विपक्षीहरू मेरो उमेदवारी देखेर आत्तिएका छन् । सबै दललाई अटाउने र घुलमिल भएर काम गर्ने क्षमता मसँग छ । घरदैलोमा पुग्दा जनताले देखाएको सद्भाव र माया देखेर पार्टीले पनि टिकट दिएर सही निर्णय गरेछौँ भन्ने निचोडमा पुगेको छ ।

नगरवासीका लागि तपाईंको योजना के हो ? 

यो दक्षिणकाली भनेको नामभित्रै पहिचान बोकेको नगर हो । यो धार्मिक र पर्यटकीय क्षेत्र हो । हामी प्राकृतिक रूपले सम्पन्न छौँ । हरेक डाँडाले काठमाडौंको सुन्दर दृश्य देखाउँछ । फूलचोकी डाँडा, ऐतिहासिक पोखरी, हात्तीवनको डाँडा, चम्पादेवी, भालुखोपको डाँडालगायत हाम्रा शिर हुन् । यहाँबाट पर्यटन क्षेत्रमा विकास गर्न सक्छौँ । होमस्टे चलाउन सक्छौँ । युवालाई रोजगारी दिन, पूर्वाधारको विकास गर्न पनि असहज छैन ।

यो आफैँमा पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात छ । आन्तरिक र बाह्य पर्यटकको आवागमन बढाउन सके नगरको कायापलट हुन समय लाग्दैन । कृषि, स्वास्थ्य, शिक्षा र यातायातलगायत विकासका आधारभूत विषयले पूर्णता पाउँदै गएको छ ।

यहाँको विशेष सम्भावना भनेको मदनभण्डारी मार्ग हो, जसले काठमाडौं र हेटौँडालाई जोड्छ । तराईसँग जोड्ने फास्ट ट्रयाक हाम्रै नगरपालिकाको फेदीबाट गइरहेको छ । यी यावत् कारणले हाम्रो नगरको भविष्य सुन्दर छ, उज्ज्वल छ । तर, कर्मयोगी मान्छेको अभाव छ ।

अन्त्यमा, तपाईंले जित्नुभयो भने पाँच वर्षमा नगरभित्र कस्ता काम हुन्छन् ? पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, घरेलु उद्योग, प्राकृतिक सम्पदालगायत सबैलाई विकासमा लगाउँछु । विकासलाई जनतासँग जोड्ने प्राथमिकता मेरो छ । फर्पिङ नासपातीको पकेट क्षेत्र हो । यहाँ अर्ग्यानिक तरकारीको पकेट क्षेत्र पनि छ । यहाँ अवस्थाअनुसार पकेट क्षेत्र घोषणा गरेर म काम अघि बढाउनेछु । अघि नै भनेका डाँडाहरूमा पर्यटकीय विकास गर्ने हो । एक घर एक होमस्टे अवधारणाअनुसार काम अघि बढाउने हो । कोर सहरबाट मानिसलाई आनन्दमय वातावरणमा समय व्यतीत गर्ने स्थल बनाउने हो । सहरको सुन्दरतालाई बचाउने हो । अर्ग्यानिक खानेकुराको प्रवर्द्धन अर्को मेरो उद्देश्य हो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय