जनकपुरधाम । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । उमेदवारहरूको प्रचार प्रसार तीव्र छ । घरदैलोमा नेता कार्यकर्ताको दौडधुप पनि उस्तै छ । मतदाता रिझाउँने गतिविधिहरू पनि व्यापक रूपमा भइरहेको छ । मधेश आन्दोलनको विगुल फुक्ने सहरले कस्तो नेतृत्व पाउला ? आकलन सुरु भइसकेको छ । यसपाली जनकपुरधामको मतदाता भने केही सचेत देखिएका छन् । जनमुखी मेयरको खोजीमा छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीका श्याम साहले गत चुनावमा नगरवासी अभिभावको चयनमा चुकेको बताउँछन् । यसपाली जनता केही जागरुक र अनुभवी भएकाले योग्य उमेदवार चयन गर्ने उनको विश्लेषण छ । “पछिल्लो चुनावबाट अधिकांश अयोग्य उेमदवार निर्वाचित भएका थिए,” उनले भने, “जनतालाई धेरै कुरा थाहा पनि थिएन । तर यसपाली जनप्रतिनिधिले दिएको दुःख र काम गराउँदा हुने समस्याको अनुभव पनि छ, जनतासँग ।” सोही वस्तीका ३४ वर्षीया रिना देवी राउत छोराछोरी पढेको नीजि शैक्षिक संस्थाको शुल्क र्तिदार्तिदै दिक्क छिन् । उनले शिक्षामा सुधार गर्ने मेयरलाई मतदान गर्ने बताउँछिन् ।
जनकपुरधाम उपमहानगरपालिका पुलचोकस्थित मुसहर वस्तीका मतदाता पनि सचेत देखिएका छन् । उनीहरू यसपाली पैसा दिनेभन्दा गरिबको सुख दुःखमा साथ दिने नेता खोजिरहेका छन् ।
नेताहरूले एक दिन पैसा दिएर पाँच वर्ष पैसा असुल्ने गरेको ४४ वर्षीया घुरनी देवीले आरोप लगाइन् । “नेताहरू घरदैलोमा आउँदा एकदिन पैसा दिन्छन् । पछि जनताले काम लिएर जाँदा विभिन्न बहाना बनाएर पैसा असुल्छन्,” उनले भनिन्, “यसपाली विकास गर्ने, घर बनाइदिने र हाम्रो छोराछोरी पढाउने व्यक्तिलाई भोट दिन्छु ।” उनले नेताहरूले मत जित्न अनेकन आश्वासन बाँडेको बताएपनि आश्वासनको मुद्दा र उमेदवारको बारेमा खुलाउन चाहिनन् ।
जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरकी भिखारी देवीले पनि मत जित्नेलाई नभइ मन जित्ने उमेदवारलाई जिताउने बताउँछिन् । गएको साउनमा हवाहुरीले उनको घर उडाएपनि उनले राहत नपाएको दुखेसो पोखिन् । “पटक पटक वडाध्यक्षलाई ध्यानाकर्षण गरायौँ । घरमा आएर लेखेर पनि जानुभयो । तर खोइ मैले केही पाइन,” उनले भनिन्, “अझै भत्किएको घरमै बसिरहेको छु ।” दैनिक मजदुरी गरेर बनाएको घर भत्किएपछि पैसा अभावमा घर बनाउन नसकेको उनले बताइन् । करिब तीन लाखको समान घर भत्केर नष्ट भएको थियो ।
कसको नेतृत्वा आउला ?
जनकपुरधाममा एक सय २७ पदको लागि एक हजार ८२ जनाले उमेदवारी दिएका छन् । मेयरमा ३९ र उपमेयर २७ जना प्रतिस्पर्धामा छन् । २५ वडाको अध्यक्षको लागि तीन सय २३ जना र एक सय वडासदस्यको लागि ६ सय ८९ जना उमेदवारी दिएका छन् ।
पार्टीभित्र अकांक्षी धेरै भएपछि व्यवस्थापन हुन नसक्दा दलभन्दा बढी स्वतन्त्र उमेदवारी परेको छ । यस्तो अवस्थामा जनकपुरधामले कस्तो नेतृत्व पाउला भनी आकलन गर्न कठिन छ ।
यद्यपि, गत चुनावी प्रतिस्पर्धालाई हेर्ने हो भने जनकपुरधाममा मेयर/उपमेयरसहित १२ वडाध्यक्ष जितेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) विलीन भइसकेको छ । पुर्व राजपाका नेताहरू अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरी चुनावी मैदानमा छन् ।
लोसपाका केही नेताहरू तीन टुक्रामा विभाजित भएका छन् । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाबाट नगरप्रमुखमा निर्वाचित लालकिशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन् । ०७४ को निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साहभन्दा दोब्बर बढी मतले विजय भएका थिए ।
साह नहुँदा लोसपालाई असर गर्ने नेताहरूको विश्लेषण छ । जनकपुरका केही परिचित अनुहारहरू पनि लोसपाबाट अलग्गिएर तमलोपा गठन गरि चुनावी प्रतिस्पर्धामा छन् । यो अवस्थामा लोसपा निकै कमजोर रहेको धेरैको बुझाइ छ ।
सत्तारुढ दलले गठबन्धन गरेर उमेदवार उठाएपनि जनकपुरमा त्यसको पालना नहुने आशंका गरिएको छ । जनकपुरको मेयर जसपालाई दिने निर्णय भएपछि नेपाली काँग्रेसका नगर सभापति मनोज साह पार्टी त्याग गरी स्वतन्त्र उमेदवारी दिएका छन् । सत्तागठबन्धनबाट उमेदवारी दिएका लालकिसोर साहको कार्यकाल धेरै आलोचित र विवादै विवादामा बितेको अवस्थामा बागी उमेदवार साहले काँग्रेसीको साथ पाउने सम्भावना बढी छ ।