site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
देशभरमै कम खर्च गरेर चुनाव लड्ने म नै होला 

बुटवलको स्थानीय तहको निर्वाचनलाई उत्साहका साथ हेरिएको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, घनश्याम भुसालको गृह जिल्लाको एकमात्र उपमहानगर भएकाले पनि बुटवल उपमहानगरको निर्वाचनलाई चासोको साथ हेरिएको हो ।

यही बुटवल उपमहानगरको मेयरमा कांग्रेस नेता खेलराज पाण्डेले उमेदवारी दिएका छन् । पाण्डेले नेपाली कांग्रेसको नगरसभापतिको रुपमा तीन कार्यकाल नेतृत्व गरिसकेका छन् । २०२६ साल फागुनमा स्याङ्जाको तत्कालीन आलमदेवी २ मा जन्मिएका पाण्डेले पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा छन् । ०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङजामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सूरु भएको हो । 
 

रुपन्देहीमा ०५२ सालमा नेविसंघको सचिव, ०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै ०६० सालमा तरुण केन्द्रीय सदस्य भएका पाण्डे ०६७ सालमा नेपाली कांग्रेस बुटवल नगरसभापति भएका थिए । 
 

गत मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली कांग्रेस बुटवल नगरसभापतिमा निर्वाचित भएका थिए । मेयरमा पाण्डेको यो दोस्रो पटकको उमेदवारी हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी एमालेका शिवराज सुबेदीसँग करिब २४ सय मतान्तरले पराजित भएका थिए । 
 

नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्षसमेत रहेका शिवराज सुवेदी २३ हजार २४९ मत ल्याएर बुटवलको मेयरमा निर्वाचित हुँदा पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए ।
 

Global Ime bank

गठबन्धनको तर्फबाट पाण्डे मेयरमा, उपमेयरमा चिनबहादुर गुरुङ उमेदवार बनेका छन् । उनै पाण्डेसँग उनको उमेदवारी, कार्ययोजनालगायतमा बाह्रखरीकर्मी पूजा पन्थीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं दोस्रोपटक बुटवलको मेयरको उमेदवार बन्नुभएको छ । अघिल्लोपटक पनि गठबन्धनकै उमेदवार हुनुहुन्थ्यो, पराजित हुनुभयो । अहिले पनि गठबन्धनकै उमेदवार, यो पटक मेयर जित्ने के योजना छ ?

अघिल्लो पटक बुटवलबासीको धेरै माया स्नेह पाउँदा पाउँदै म विजयी हुन सकिनँ । त्यो बेलाका योजना अधुरा छन् । मुलरुपमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या सामाधानका उपायहरु जुन बुटवलको स्थानीय तहबाट गर्न सकिने अल्पकालीन योजनाहरु अपुरा छन् । दीर्घकालीन रुपमा त राष्ट्रिय भूमि आयोगबाट नै यसको टुंगो लाग्छ । यो बाहेक मेलमिलापको लागि सबै राजनीतिक दलहरु र संघसंसथालाई एकै ठाउँमा राखेर मेलमिलापको नीति अनुसार बुटवल उपमहानगरपालिका चलाउनुपर्छ भन्ने मेरो धारणा छ । अहिले बुटवल, अन्य पालिकाभन्दा पछाडि पर्नुको कारण यहाँको मेलमिलापमा कमि हुनु हो । 

यहाँका राजनीतिक दल तथा नेृतत्त्वलाई उपेक्षा गरेर हामीले कुनै विकासका कामहरु गर्न सक्दैनौँ । सबै राजनितिक दल र नेतृत्वलाई सम्मान पूर्वक नगरपालिका भित्र ल्याउने बाटो मैले बनाउने छु । सबै संघसंस्थाको विज्ञताका आधारमा, अनुभवका आधारमा सल्लाह लिएर कामहरु गर्नेछु । जो विज्ञ हुनुहुन्छ, उहाँसँग नै सल्लाह गरेर काम गर्नेछु । सबैका कुरा सुन्नेछु । बुटवललाई सबैको साझा चौतारीको रुपमा विकास गर्नेछु । अहिलेको बुटवल उपमहानगरपालिका कसैको मात्रै उपमहानगर भएको छ, म सबैको साझा उपमहानगर बनाउनेछु । 

बुटवलमा अहिले धेरै समस्या छन् । तिनाउ करिडोरका कारणले कैयौँ घर विस्तापित हुँदैछन् । विस्थापित घरका लागि जग्गाको व्यवस्थापन र उनीहरूको घर बनाउने उपायहरुको खोजीमा सबैको राय सुझाब अनुसार लाग्नेछु । ज्योतिनगर पहिरोको लागि अल्पकालीन र दीर्घकालीन योजनाहरुको खोजी गर्नेछु । राष्ट्रपति चुरे संरक्षण समितिसँग मिलेर ज्योतिनगर पहिरोको व्यवस्थापनमा काम गर्नेछु । मोतिपुर औद्योगिक क्षेत्र, जुन अहिले बिबादमा छ । त्यहाँको अढाईसय बिगाहा जग्गा त्यहाँका स्थानीय जनताको जग्गालाई हकवालालाई फिर्ता गराएर बाँकी रहेको साढे सात सय बिगाह जग्गामा स्मार्ट औद्योगीक क्षेत्रको निर्माणका लागि प्रयास गर्नेछु । 

यहाँ प्रश्न उठ्न सक्छ, स्थानीय तहले गर्ने कुरा मात्रै गरे हुन्थ्यो भन्ने । बुटवलको राजमार्ग चौराहादेखी चिडिया खोलासम्मको सडकले बुटवललाई गिज्याइरहेको छ, बाहिरका मानिस आउँदा बुटवलको पहिचानमा नै समस्या भएको छ । भाडामा बस्ने, व्यवसाय गर्नेलाई चुनौती थपिएको छ । यसलाई जसरी हुन्छ, कालोपत्रे गरेर धुवाँ र धुलोरहीत बुटवलको लागि काम अगाडि बढाउनेछु । 

सहमति, सहकार्य र एकताका लागि बुटवलका राजनीतिक दलहरूलाई सँगै राखेर सल्लाह लिएर काम गर्नेछु । यहाँ जुन–जुन क्षेत्रमा अनुभवी विज्ञहरु हुनुहुन्छ, सबैँसँग सहकार्य गरेर, कसरी देशकै सवल आर्थिक केन्द्र बुटवल बनाउन सकिन्छ, आर्थिक रुपमा देशकै सबैभन्दा प्रमुख सहर बनाउन सकिन्छ यसमा काम गर्नेछु । हिजो व्यापार, उद्योग, यातायात, स्वास्थ्य, शिक्षालगायतमा अगाडि बढेजस्तै अब आर्थिक रुपमा एक नम्बरमा पुर्याउनेगरी कामहरु गर्नेछु । पर्यटनलगायत  कुराहरुलाई थपेर बुटवललाई उत्कृष्ठ उपमहानगरको रुपमा बिकास गर्नेछु । बुटवललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउन, गर्नुपर्ने हरेक भूमिकामा सक्रियताका साथ लाग्ने कुराको नेतृत्व लिनेछु । यी मुख्य योजनाले मलाई यो पटक विजयी बनाउनेमा म ढुक्क छु । 

तपाईंले ल्याउनु भएका यी योजना जनताले सहजै बुझ्छन् ? कसरी बुझाउनु हुन्छ ? 

बुटवलका बासिन्दाले मेरा योजना सहजै बुझ्नुहुनेछ । हामीले जुन क्षेत्रको समस्या हो, त्यही क्षेत्रमा त्यो योजनालाई प्राथमिकताका साथ अगाडि बढाउनेछौँ । एउटा वडा तथा टोलको समस्या हो भने अर्को वडा तथा टोलमा गएर हामीले त्यसको बारेमा ब्याख्या गर्ने छैनौँ । 

जुन वडामा समस्या आउनेछ, त्यही वडाबाट हामीले समस्याको समाधान गर्नेछौँ । बुटवलभरका मुख्य समस्याको हकमा सबै पक्ष र नेतृत्वलाई राखेर राय सल्लाह, सहयोग लिएर हामी अगाडि बढाउने छौँ । 

धेरै दुःख गरेर प्रदेशको राजधानी बनाएका थियौँ, त्यो राजधानीलाई फर्काउने काम भयो । राजधानी फर्काइएकोमा धेरै बुटवलबासीको मन दुखेको छ । हिजो राजधानी ल्याउँदा जुन कठिन अवस्था थियो । त्यसको महत्त्व नबुझेर ल्याएको कुरालाई फर्काइएको छ । यस्ता घटना नदोहोरियोस् । बुटवलमा आएको सानो विकास पनि सबैको साझा विकास हो भनेर बुझ्नुपर्छ ।

बुटवलको मेयर हुनु भनेको नगर पिता हुनु हो । पिता भनेपछि कसैलाई भेदभाव गर्ने, कसैलाई काखापाखा गर्ने हुनुहुँदैन । सबैलाई साझा देख्ने सबैलाई आफ्नो देख्ने खालको मेयरको नीति र विधि हुनुपर्छ । त्यो कुरा हामीले राम्रोसँग बुझेका छौँ । 

पार्टीभित्र केही असन्तुष्टिहरू झल्किए, क्षेत्रीय सभापतिले राजीनामा दिनुभयो, पार्टिभित्रको असन्तुष्टिलाई कसरी मिलाउनु भयो ?

पार्टीमा अहिले केही समस्या छैन । साथीहरू मभन्दा बढी समय दिएर खटेर यो निर्वाचनको उमेदवार म नभई पार्टी सबै नेता कार्यकर्ता हो भनेर हिँड्नुभएको छ । जित र हारको प्रश्न हामीमाथि नै आउँछ भनेर सबैजना क्रियाशील भएर लागिरहनु भएको छ । 

गठबन्धनबाट उमेदवार हुनुहुन्छ, कत्तिको सहयोग होला ? 

यो केन्द्रदेखि नै भएको गठबन्धन हो । अघिल्लो पटकको तुलनामा यो पटक निकै फरक कारणले गठबन्धन भएको छ । प्रतिगमनविरुद्धमा भएको गठबन्धन प्रभावकारी हुनेछ । बुटवलमा यो पालना हुनेछ । केही साथीले उमेदवारी दिए पनि फिर्ता लिइसक्नु भएको छ । अब हामी सँगै हिड्छौँ । 

निर्वाचन भडकिलो बन्दै गएको भन्ने पनि सुनिन्छ, कति खर्च गर्दैहुनुहुन्छ ? 

मलाई लाग्छ देशभरमै कम खर्च गरेर चुनाव लड्ने म नै होला । निर्वाचनमा धेरै खर्च गरेर चुनाव जित्ने भन्नु भ्रष्टाचारको सुरुआत गर्ने भन्ने हो । कम खर्च गरेर चुनाव जित्नुपर्छ । यो नमुना हुनुपर्छ । भ्रष्टाचार गर्नुहुँदैन । यही सोचले पनि यहाँका मतदाताले मलाई भोट दिनुहुनेछ भन्नेमा म पूर्ण आश्वास्त छु । मैले अघिल्लोपटक पनि पैसा खर्च गरेको होइन । मलाई पैसा चाहिन्छ भनेर कोही सोध्न पनि आउनुभएन । अहिले पनि आउनुभएको छैन । अरूले टिकट लिन जाँदा पैसा खर्च गर्छन् भनिन्छ । मलाई जसले टिकट दियो, उहाँहरूकै चिया खाएर टिकट लिएर आएँ । चुनाव प्रचार पनि त्यहीअनुसार हुन्छ । म जनताको सहानुभूतिका कारणले चुनाव लड्ने हो । पैसा खर्च गरेर चुनाव लड्ने मान्छे होइन ।

खर्च नगर्ने चुनावमा पछि पर्छन् भनिन्छ नि ?

राजनीति सामाजिक सेवा हो । यसलाई सामाजिक सेवाकै रुपमा बुझ्न जरुरी छ । सामाजिक सेवालाई लगत ढंगले बुझ्नु हुँदैन ।

कमाउन छ भने व्यापार व्यवसायमा लाग्दा हुन्छ । राजनीतिलाई लगत बाटोमा लगाउनु हुँदैन । मलाई अघिल्लो ५ वर्ष र अहिलेमा केही फरक पाउनुहुन्न । अबको ५ वर्षपछि पनि म यस्तै हुन्छु । म विगत ३५ वर्षदेखि बुटवलमा डेरामा नै बसिरहेको छु । मेरो यातायताको साधन पनि छैन । 

यातायातको साधन छैन भन्नुभयो, घरदैलो कसरी गर्नुभएको छ ?

मेरो आफ्नै साधन नभएको हो, मेरा कांग्रेसीजनका साधनहरू छन् । साथीहरूले मलाई पूर्ण साथ र सहयोग गरिरहनु भएको छ । 

बुटवललाई एमालेको गढ भन्दै प्रचार गरिरहेको छ एमालेले, एमाले उपाध्यक्ष विष्णु पौडेल आफैँ आएर चुनावी कार्यक्रम गरिरहनु भएको छ, उहाँहरुको प्रभाव कत्तिको पर्ला ?

कोही आउँदैमा पूरै फेरिने र नआएर फरक पर्ने भन्ने हुँदैन । सबैभन्दा पहिले त मलाई गृहमन्त्री बालकृष्ण खाँण दाइको माया छ । सूर्यप्रसाद प्रधान दाइको विरासत म माथि छ । को आयो को आएन, भन्ने कुरा होइन । बुटवलबासीको माया मलाई छ । कसैले गढ भन्दैमा सधैँभरी त्यो सत्य नै हुन्छ भन्ने छैन । बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । बुटवल र बुटवलबासीको लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तीनका जनप्रतिनिधिले केही गरेनन् भन्ने थाहा छ । विगतमा झुटा आश्वासन बाँडेर उनीहले जनतालाई झुक्याएका हुन् । अब यहाँका नगरबासी कोही कसैले झुक्याउँदैमा झुक्किनुहुन्न भन्ने कुरामा म विश्वस्त छु । मैले यो नगरपालिकालाई सबैको साझा नगरपालिका हो भन्ने अनुभूती गराउनेछु ।

तपाईंले चुनाव जित्ने आधार के–के हुन् ?

म हिजो पनि जनताको सुख दुःखमा साथी थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । यो कुरा मेरा नगरबासीले पनि बुझनु भएको छ । विगतदेखि मेरो उहाँहरूसँग सुख दुःखमा भेटघाट भैरहन्छ । कुनै पनि व्यक्ति चुनावको बेला भेटिने र अरुबेला खोजेर नभेटिने पनि हुन सक्छन् । अरु बेला कताबाट हुन्छ आफू र आफ्नाका लागि धनसम्पत्ति कमाउने, कमाएर थन्काउने अनी निर्वाचन आएपछि बल्ल जनताको दैलो चाहार्ने प्रबृत्ति सबैभन्दा घातक हो ।

नेता भनेको जनताको सेवक हो । चाहे त्यो पदमा हुँदा होस् या नहुँदा । यहाँका जनताले यो कुरा बुझनु भएको छ । यसअघि जनप्रतिनिधि नहुँदा पनि मैले नगरबासी सबैका माझमा आफूलाइ राखेर सेवा गर्ने प्रयास गरेको हुँ । 

तपाइँले जित्नु भयो भने पहिलो के काम गर्नुहुन्छ ?

मेलमिलापको नीतिलाई अगाडि बढाएकोले सबैभन्दा पहिले विजयी भएसँगै बीपी पुष्पलाल पार्क बनाएर सबै राजनीतिक दलहरुलाई जम्मा हुने वातावरण बनाउँछु । 

तपाईंका प्रतिस्पर्धी व्यवसायी हुनुहुन्छ, व्यवयासीका भोट आउँछन् त ? 

मैले मेरा प्रतिष्पर्धीमा सद्भाव राख्छु । उहाँप्रति मेरो केही टिप्पणी छैन । अर्को कुरा रह्यो व्यवसायीको । बुटवलका सबै व्यवसायीको भोट मलाई नै आउँछ । एमालेले धेरैपटक नगरमा, संसदमा जितेको हुनाले बुटवलको व्यवसाय विस्थापित हुँदै छ ।

यहाँका व्यवसायीले गुहार पाएको अनुभूति छैन । बारम्बार उद्योग वाणिज्य संघमाथि आक्रमण भइरहेको छ । व्यवसायीहरुमाथि आक्रमण भइरहेको छ । कर बृद्धि भएको छ । हामीले जितेमा साना व्यवसायीका कर छुट गराउनेछौँ । हाटबजार व्यवसायीका करहरु छुट गराउने छौँ । घरबहाल कर, ई–रिक्साका कर, ठेला, रिक्साका करलगायत सानासाना करहरु छुट गर्नेछौँ । ठूला व्यवसायीलाई सम्मान गर्नेछौँ । करको दायरा बढाउने छौँ । 

एमालेले पटक पटक जितेकै कारणले बुटवल अगाडि बढ्न सकेन, देशको सबल आर्थिक केन्द्र बन्न सकेन भन्ने प्रचार भइरहेको छ । एमालेले मात्रै जित्दा बुटवल बन्दोरहेनछ भन्ने सबैमा ज्ञान आइसकेको छ । अन्य दललाई अधिकार चाहिदोरहेछ भन्ने कुरा जनताबीचमा भावना जागेको छ । त्यसकारणले सबैलाई सन्तुलित राख्न पनि यो पटक मैले जित्नुपर्छ । 

बुटवलको निर्णायक भोट कुन समुदायको हो ? 

बुटवलमा सबैको मतको उत्तिकै महत्वपूर्ण छ, उत्तिकै निर्णायक छ । उद्योगी व्यवसायी, मध्यम वर्गीयको मत पनि उत्तिकै महत्व छ । सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा बस्नेको पनि उत्तिकै महत्वपूर्ण र निर्णायक छ । म वर्गीय राजनीतिमा अलि बढी विश्वास गर्छु । सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा बस्ने साथिहले बढी मत मलाई दिनुहुनेछ । किनकि म पनि उहाँहरु जस्तै छु । मेरो पनि सम्पत्ति केही छैन । उहाँहरुको पीडालाई सबैभन्दा पहिले मैले बुझेको छु । उद्योगी व्यवसायीहरु विस्थापित हुँदैछन् भन्ने कुरामा म जानकार छु । साना व्यवसायी, हाटबजार, ई–रिक्सा, ठेला व्यवसायीहरू कसरी विस्थापित हुँदैछन्, कति  दुःख पाएका छन् भन्ने कुरामा म उनीहसँग दैनिक सम्पर्कमा छु । मोतिपुरदेखी समेलारसम्मको क्षेत्र, जसका कारणले बुटवल उपमहानरपालिका बन्यो, त्यो क्षेत्र कसरी विकास हुन सकेन, कस्तो अपमानबोध उहाँहरुले गर्नुभयो, उहाँहरूको पीडासँग म नजिक छु । त्यसैले बुटवलका हरेक क्षेत्र, भूगोल, हरेक जाति, धार्मिक क्षेत्रका बारेमा मेरो नियमित उठबस भएको कारणले उहाँहसँग घुलमिल र दुःखसुखमा सधैँ साथमा भएकोले उहाँअरुले मलाई विश्वास गर्नुहुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu