काठमाडौं । सरकारले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव गरेको छ । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव गरेका हुन् ।
मन्त्री श्रेष्ठले आज मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग भएको द्विपक्षीय भेटवार्तामा नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा छलफल गरेका छन् ।
नेपाली कामदार मिहिनेती र इमान्दार हुने चर्चा गर्दै मलेसियन गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका छन् । नेपाली युवालाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबीसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
नेपालमा सुरक्षा गार्ड सम्वन्धि तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीच छलफल भएको छ । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् ।
छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुने बताइएको छ।