1651230370.jpg)
ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरको उमेदवार बनेका चिरिबाबु महर्जन अघिल्लो स्थानीय चुनावमा झिनो मतान्तरले विजयी भएका थिए । त्यतिबेला चार सय भन्दा कम मतले निर्वाचित भएका महर्जनलाई आफ्नो उमेदवारी कायम राख्न समेत धौधौ परेका थियो । उनी आफ्नै पार्टी सभापति शेरबहादुर देउवाले 'चुनाव जित्दैनौ ब्याक हौ' भनेपछि बाजी राखेर चुनावमा होमिएका थिए । ललितपुरमा कांग्रेसले २९ मा १० वडा मात्र जित्दा महानगर प्रमुख जितेर उनले बाजी नै मारे ।
अहिले उनी देउवाले आफ्नो प्रशंसा गरेको बताउँछन् । महानगरमा विपक्षीहरू चुनावअघि नै हारको मानसिकतामा पुगेका उनको दाबी छ । आफू देशभरबाट राम्रो काम गर्ने प्रमुखहरूको सूचीमा रहेको बताउने उनी अर्को कार्यकालपछि ललितपुर महानगर स्मार्ट सिटी बनिसक्ने बताउँछन् ।
उनी आफू सम्पदा संरक्षण, भौतिक विकास र वातावरणसँगै नगरवासीको खुसी मापन गर्दै अघि बढ्ने बताउँछन् । नगरवासीलाई शिरमा राखेर काम गरेकैले आफूले दोस्रो कार्यकालका लागि टिकट पाएको दाबी गर्छन् ।
प्रस्तुत छ, महर्जनसँग बाह्रखरीका रमेश वाग्ले, रोमन आचार्य र कुञ्जमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
ललितपुर महानगर प्रमुख पदमा दोहोर्याएर उमेदवारी दिनुभयो । सेवा सुविधाबाट लोभिनुभएको हो ?
मलाई सेवा सुविधाले खासै आकर्षण गरेको छैन । म बाल्यकालदेखि नै सामाजिक कार्यमा दृढ संकल्पित थिए । पुल्चोकमा सानैदेखि धेरै सामाजिक कार्यहरू हामीले गर्यौँ । मठ, मन्दिर, शिवालय, देवालय, ढुंगेधारा निर्माणदेखि टोल छिमेक सफाइ अभियान सानैदेखि गर्दै आएका हौँ । लाइब्रेरी स्थापना, वृद्धवृद्धाहरू जो अस्पताल जान सक्नुहुन्न उहाँहरूलाई पिठ्युमा बोकेर अस्पताल पुर्याउने काम हाम्रो टिमले सानै उमेरदेखि गरेको थियो । यस्ता अनेक सामाजिक कार्यहरूमा निकै अग्रसर भएको कारणले पनि महानगरवासीहरूले मलाई विश्वास गरेका हुन् ।
मैले पाँच वर्ष नगरप्रमुख भएर काम गर्दा चाहिँ सामाजिक क्षेत्र र 'ग्राउन्ड जिरो' मानिसहरूको अवस्थामा बढी ध्यान गयो । सामान्य कामदेखि प्रत्येक नगरवासीको सेवा गर्न पाउँदा म औधी खुसी हुन्छु । त्यसकारण पनि हुनसक्छ महानगवासीबाट 'चिरिबाबु महर्जन योपटक तिमी नै आउनुपर्छ' भन्ने आग्रह भएको छ । त्यही कारण मैले महानगर प्रमुखको कार्यकाल दोहोर्याउने निर्णय गरेको हुँ । स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ भन्दा ज्यादा समाज सेवा गर्ने अवसर पनि हो । यसबाट धर्म पनि कमाउँछु भन्ने मेरो इच्छा हो ।
तपाईंलाई ऐस आराम, सन्तानको भविष्य र धर्ममा कुन प्यारो छ ?
ऐस, आराम, सम्पत्तिले आत्मसन्तुष्टि हुँदैन । आत्मसन्तुष्टि प्राप्त गर्न आम नगरवासी र अति विपन्न व्यक्तिहरूको तर्फबाट आर्शिवाद पाउनुपर्छ । जमिनमा रहेका मानिसको आर्शिवाद पाउनुजत्तिको सुःखद क्षण अरू हुँदैन ।
यो परिदृश्यमा तीनपटक वडाध्यक्ष भएर काम गरेँ । ज्यापू समाजको अध्यक्ष भएर समुदायको हित र सांस्कृतक संरक्षणमा काम गरेँ । मैले महानगरपालिकाको प्रमुख भएर काम गर्दैगर्दा यो अवधिमा 'चिरिबाबु तैँले नराम्रो काम गरिस्, खराब व्यक्तित्व प्रस्तुत गरिस्' भन्ने ठाउँ दिएको छैन । अहिलेसम्म यो कुरा कसैले पनि भनेको छैन ।
तसर्थ मैले जे जति सेवा गरे नगरवासीहरूलाई शिरमा राखेर उहाँहरूको अनुरोधलाई स्वीकार गरेँ र त्यसलाई सधैँ कार्यान्वयन गरेँ । नगरवासीको हरेक सुखदुखमा म सहभागी भए । अब पनि एक कार्यकाल उहाँहरूका सुख दुखमा साथ रहेर आर्शिवाद लिन लागेको छु ।
पाँच वर्षलाई फर्केर हेर्दा तपाईंले देखिने काम केके काम गर्नुभयो ? जसले तपाईंलाई फेरि नगरवासीले भोट हालून् ?
देखिने कामको सन्दर्भ कोट्याएर यहाँ बताउने हो भने मलाई धेरै समय दिनुपर्ने हुन्छ । यति छन् कि छोटो समयमा बताएर सकिँदैन । यसलाई सारांशमा नै यहाँ उल्लेख गरौँ ।
हामीले सम्पदा क्षेत्रमा कायापलट हुनेगरी काम गर्यौँ । स्वास्थ्य क्षेत्रमा यो कोभिड संक्रमणको समयमा मुलुकको अन्य स्थानीय तहमध्ये हामीले अब्बल हुने गरी काम गर्यौँ । यो सहरलाई स्मार्ट सिटी बनाउने सन्दर्भमा धेरै कम्पोनेन्टहरू कार्यान्वयन गरिसकेका छौँ । सुशासनको सन्दर्भमा पनि हामीले उल्लेख गर्न लायक काम गरेका छौँ । हामीले भए गरेको कामको लिस्ट राख्ने हो भने यहाँ लामो हुन्छ ।
तपाईंसँग त्यस्ता योजनाहरू पनि छन्, जसलाई तपाईं नै दोहोरिए मात्र पूरा गर्न सहज हुन्छ ?
म महानगरको प्रमुख हुँदैगर्दा धेरै प्रोजेक्टहरू कार्यान्वयनको चरणमा छन् । त्यसमध्येका उदाहरण– पाटन दरबार स्क्वायरमा बेस्सरी पानी पर्यो भने त्यहाँ पोखरी बन्छ । पाटन दरबार स्क्वाएरको छेउमा रहेको तीन सय वर्ष पुरानो ढुंगेधारामा डुबान हुन्छ । महापालमा पानी जमेर जलमग्न हुन्छ ।
यो समस्या निराकरणका लागि हामीले एसिएन डेभलोप्मेन्ट बैंकबाट ५४ करोड रुपैयाँ ‘ऋण होइन ग्रान्ट’ लिएर प्रोजेक्ट सुरु गर्यौँ । हुन त त्यो प्रोजेक्ट ५४० दिनमा सम्पन्न गर्नुपर्ने थियो । तर, कोभिड महामारीका कारण बिचमा रोकियो । अहिलेसम्म यो ४० प्रतिशत सफल भयो बाँकी ६० प्रतिशत काम गर्न मैले जित्दा सहज हुन्छ ।
अर्को ललितपूर महानगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने विषयमा पहिलो फेज अन्तर्गत चारवटा बाटोहरूमा झलमल्ल हुने गरी स्मार्ट लाइट राख्यौँ । दोस्रो फेजमा हामीले ११५० वटा बत्तीको व्यवस्थापन गर्न गइरहेका छौँ । त्यसका लागि पनि ठेकेदार 'मोबिलाइ'ज भइसकेको छ । त्यो काम पनि सुरु हुन गइसकेको छ । यो काम सम्पन्न गर्न मैले जित्दा सहज हुन्छ ।
तेस्रो महानगरका ८१ हजार घरदैलोलाई जीपीएस सिस्टमको सडक सन्जालमा आधारित ब्लक नम्बरको हामीले व्यवस्थापन गरेका छौँ । यसमा पनि लगभग ७० प्रतिशत घरदैलोलाई ब्लक नम्बरको व्यवस्थापन गरिसक्यौँ । यसलाई पनि पूर्णता दिनुछ ।
हामीले मठ, मन्दिर, शिवालय, देवालय मूर्त र अमूर्त संस्कृतिको सन्दर्भमा पनि धेरै नै काम गरेका छौँ । त्योमध्ये ४, ५ वटा प्राजेक्टहरू हामीले सुरु गरिसकेका छौँ ।
उदाहरणका लागि मंगलबजार पाटन दरबार स्क्वायरको चाहिँ देवी तलेजुको अहिले निर्माण कार्य सुरु भइसकेको छ । यस्तै बालकुमारीको बालकुमारी मन्दिर, पाटन दरबार क्षेत्रको नरसिंह मन्दिर, खोकनाको रुद्रायणी मन्दिर, बुङमतीको मछिन्द्रनाथको रातो शिखर शैलीको मन्दिरलगायत मन्दिरहरू बनाउन सुरु भइसकेको छ ।
यसको सम्पन्नताका लागि पनि म प्रमुख भएर फेरि आँउदा सहज हुन्छ ।
त्यसकारण यी कामहरू हेर्दा म पुनः दोहोरिएको अवस्थामा अझ धेरै नगरवासीको चाहाना पूरा गर्न र जीवनस्तर माथि उकास्न काम गर्ने छु । वातावरण सुधारका लागि मैले थालेका कामले पूर्णता पाउँदा राम्रो हुन्छ भन्ने मेरो मात्र होइन नगरवासीको पनि ठम्याइ छ ।
तपाईं सुशासनको कुरा गर्दै हुनुहुन्छ । तर, तपाईं प्रमुख भएकै बेला कर्मचारी प्रशासनसँग द्वन्द्व परेर झण्डै असफल सावित हुनुभएको थियो । त्यो घटना स्मरण गर्दा तपाईंलाई सुशासन सहज छ भन्ने लाग्छ ?
हामी चुनावबाट जितेर जानुअघिका १८ वर्षसम्म स्थानीय तह निर्वाचन भएको थिएन । राजनीतिक संयन्त्रले कर्मचारीलाई सहयोग गरेर प्रशासन चलिरहेको थियो र विकास निर्माणको काम केही पनि भएको थिएन । खालि विधि र प्रक्रिया पुर्याउने काम मात्रै भइरहेको थियो ।
हामी गइसके पछि कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई सहयोग गरेर जानुपर्ने भयो । हामीले घोषणापत्रमा गरेका वाचा र प्रोजेक्टहरू जनतामाझ ल्यायौँ । हामी जाँदा महानगरको प्रोजेक्ट बैंक रित्तै थियो । त्यसकारण छिटो–छिटो काम गर्ने सन्दर्भमा चाहिँ अलिकति असहयोग भएकै हो ।
तर, त्यो पछि गएर मेकअप भयो । अहिले उहाँहरूबाट मैले राम्रो सहयोग पाएएको छु । तसर्थ ललितपुर महानगरमा हामीले पाँच वर्षमा उल्लेखनीय कामहरू गर्न सफल भयौँ । सुशासनको आभास गरायौँ भन्ने मेरो ठम्याइ हो ।
काठमाडौंको भव्य कार्यक्रम गरेर मोनोरेल सञ्चालन गर्ने सम्झौता गर्दा तपाईंले अंग्रेजीमा भाषण गर्नुभएको थियो । त्यो परियोजना अघि बढ्दैछ कि सेलायो ?
यो काठमाडौं महानगरपालिकाको प्रस्ताव हो, जुन चक्रपथमा गुड्ने हो । चक्रपथको ७.९ किलोमिटर ललितपुर खण्डमा पर्छ ।हामीपनि सहभागी भयौँ भने काम छिटो हुन्छ भन्ने मेरो अभिप्राय थियो ।
तसर्थ कामपाको प्रस्ताव र योजनामा ललितपुर महानगरपालिकाले किन सहयोग नगर्ने भनेर हामीले यसमा सहयोग गरेका थियौँ । त्यसको प्रिफिजिबिलिटी स्टडी भएको थियो । तर, चक्रपथ निर्माण कहिले सकिने भन्ने ठेगान भएन । ललिपुरको ७.९ किलोमिटर बनाइसक्यो । काठमाडौंतर्फ सम्पन्न हुन सकेको छैन । तसर्थ पनि यो प्रोजेक्ट कार्यान्वयन हुनेमा अनिश्चितता देखियो ।
तपाईंसँग त्यस्तो के कार्ययोजना छ, जसले फेरि पनि महानगवासीले तपाईंलाई पत्याउने ?
म तीनपटक वडाध्यक्ष भएँ । एकपटक महानगर प्रमुख भएँ । अब त म अनुभवले खारिसकेँ । यो चार कार्यकालको दौरानमा मैले गलत नियतबाट काम गरेको छैन ।
मैले महानगरवासीहरूलाई पुर्याउनुपर्ने सेवासुविधामा किन्चित कमी गरेको छैन । अनुभवबाटै म अझ परिस्कृत भएको छु । अब दोस्रो कार्यकाल काम गर्न पाएमा हिजोको भन्दा बढी काम गर्न सक्ने हुन्छ । मेरो विशेष अनुरोधलाई मध्यनजर राखेर नगरवासीले सहयोग गरिदिनुहुनेछ भन्ने विश्वासमा पनि छु ।
महानगर प्रमुख भएर पाँच वर्षको कार्यकाल पूरा गरिरहँदा सम्पूर्ण नगरवासीहरूलाई मैले शिरमा राखेर उहाँहरूको प्रत्येक सुखदुखमा सहभागी भएर अगाडि बढेको छु ।
यसक्रममा पार्टीको केन्द्रीय सभापतिदेखि अन्य नेताहरूले पनि मलाई विश्वास गर्नुभएको छ । 'काम गर्ने मान्छे हो, बोलेपछि काम गरेर देखाउँछ' भन्ने उहाँहरूको पनि ठम्याइ रह्यो ।
नगरवासीले पनि मलाई त्यही दृष्टिकोणले हेर्नुभएको छ । तसर्थ मैले अझै बढी राम्रो काम गरेर उहाँहरूको स्यावासी पाउनुपर्ने छ ।
पाँच वर्षको दौरानमा यो भन्दा बढी राम्रोसँग काम गर्छु भन्ने महानगरवासीहरूमा मेरो अनुरोध छ । तसर्थ नगरवासीहरूले जिताइदिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईंले ०७४ को स्थानीय चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवासँग बाजी जित्नुभएको थियो । यसपटक देउवाले बाजी राख्ने कुरा गर्नुभएन ?
(हाँस्दै) यसपटक उहाँले बाजी राख्नुभएन । बाजी राख्नुभयो भने पनि उहाँ हार्नुहुन्छ नि त ! पहिलै हारिसक्नुभयो ।
सभापति देउवासँग बाजी जितेको पैसा के गर्नुभयो ?
मेरो ढुकुटीमा राखेको छु । त्यो पैसा खर्च गर्नुहुन्न । मेरो नाती पनाती पुस्तालाई देखाउनु छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी