काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
सार्वजनिक घोषणापत्रमा उसले नेपाल भौगोलिकरुपमा एक भए पनि भावनात्मकरुपमा एक हुन नसकेको बताएको छ । लोसपाले नेपालमा रहेको भौगोलिक र सांस्कृतिक विविधतालाई नेपालको सौन्दर्य र शक्ति दुवै भएको भन्दै यसलाई बुझ्ने नेतृत्व नपाउँदा भावनात्मक एकता हुन नसकेको बताएको छ ।
“नेपालको विविधता नेपालको सौन्दर्य मात्र होइन, नेपालको शक्ति पनि हो तर, विडम्बना विविधतायुक्त नेपालको यो सौन्दर्यलाई रुचाउन नसकेका, विविधता, विविधता अन्तरनिहीत यो शक्तिलाई मनन् गर्न नसकेका, नेपाललाई सबैको साझा बनाउने, नेपालप्रति सबैको अपनत्व जगाउनुको सट्टा केही पक्ष र पात्रहरुद्वारा नेपालको विविधताभित्र विभेद, विद्वेष र विभक्तिको खेल खेली नेपालको अद्वितीय सामाजिक विन्यासलाई कुरूप पार्ने चेष्टा गरियो,” लोसपाले घोषणपत्रमा भनेको छ, “फलस्वरुप, नेपाल भौगोलिक रुपमा एक भएता पनि यो भावनात्मक रुपमा एक हुन सकेन ।”