site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पञ्चायतमा एकदलीय तानाशाही थियो, अहिले दुईदलीय, २० हजार बढी मतान्तरले जित्छु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

भक्तपुर नगरपालिकाको मेयर बनिसकेका सुनील प्रजापति पुनः मेयरको उमेदवार बनेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल मजदूर किसान पार्टीका तर्फबाट उनले मेयर पदमा उमेदवारी दिएका छन् । वि.सं. २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धीभन्दा १९ हजार १७० मत बढी ल्याएर विजयी भएका थिए । आसन्न निर्वाचनमा मतान्तर बढाउने गरी लागिपरेको उनी बताउँछन् । अघिल्लो कार्यकालमा गरेका काम, अबको नगर विकासको योजनालगायत विषयमा उनै प्रजापतिसँग बाह्रखरीका रोमन आचार्य कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

मेयरका लागि पुनः उमेदवार बन्नुभएको छ, तपाईं नै हुनुको कारण ?
पार्टीले मलाई नै उठाउने निर्णय गर्‍यो । पार्टीको जे निर्णय हुन्छ, त्यो हामीले मान्नुपर्छ । निर्वाचन आयोगमा फाइल खोलेपछि को उमेदवार हो भनेर थाहा हुन्छ । दर्ता भएपश्चात् फाइल खोल्दा थाहा भयो, यो स्थानीय चुनावमा पार्टीबाट भक्तपुर नगरमा एकतिहाइ नयाँ अनुहार छन् ।

हाम्रो पार्टीको केन्द्रबाट जे निर्णय भएर आउँछ त्यसमा एकजनाले पनि असहमति राख्न पाउँदैन । जो प्रतिनिधि बन्न जान्छ त्यसले बढी त्याग गर्नुपर्छ । भएको जागिर, भएको व्यापार सबै छाड्नुपर्ने हुन्छ । अरू पार्टीले फाइदा लिन्छन् । तर, हाम्रो पार्टीमा जति माथिल्लो पदमा पुग्यो त्यति त्याग गर्नुपर्ने हुन्छ । हाम्रोमा को हुन्छ, को हुँदैन भन्ने प्रश्नै छैन । माथिल्लो निकायले गरेको निर्णय जे छ त्यो तल्लो तहसम्म पालना गर्नुपर्छ भन्ने हाम्रो पार्टीको नीति छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तपाईं २०६४ सालको संविधानसभा सदस्य । त्यसअघि पनि सांसद हुनुहुन्थ्यो । संघीय सांसद भइसकेको व्यक्ति मेयर नै बन्नुपर्ने परिस्थिति कसरी आयो ? 

हाम्रो पार्टीमा संसदीय, सरकारी पदलाई खासै मान्यता दिइँदैन । ०४३ सालको सांसद गोविन्द दुवाल म मेयर हुँदा नगरसभा सदस्य हुनुहुन्थ्यो । त्यस्तै, प्रधानपञ्च भइसकेका व्यक्ति पनि अहिले वडाध्यक्ष हुनुभयो ।

Royal Enfield Island Ad

जसले जहाँ गए पनि जनताको सेवा गर्ने भन्ने हाम्रो भावना हो । कुनै पद ठूलो सानो भन्ने कुरा हुँदैन । पुँजीवादी पार्टीहरू संसदीय पदलाई महत्त्व दिन्छन् । हाम्रोमा त्यो पद, यो पद भन्ने हुँदैन ।

संघमा मन्त्री भइसकेका व्यक्तिहरूको स्थानीय तहमा आकर्षण बढेको छ । सेवा गर्न कि अरू कारण छन् ?

हामी त इमानदारपूर्वक जनसेवा गर्न भनेर लागेका हौँ । जहाँ बसे पनि त्यही हो । अरूको कुरा त उहाँहरूलाई सोध्नुभयो भने राम्रो हो, मन्त्री नै छोडेर आउने अवस्था बनेको छ । मेरो कुरा गर्नुहुन्छ भने म सांसद पनि भएँ, संविधानसभा सदस्य पनि भए अहिले मेयर छु । म जनसेवक हुँ । मलाई योभन्दा बढी भावना कहिल्यै आएन । लोभ जागेन पनि र जाग्दैन पनि । ४३ सालदेखि निरन्तर जनसेवामा छु ।

संसद्मा रहँदा र नगरपालिकाको नेतृत्वमा बस्दा के फरक पाउनुभयो ? 

संसद् र नगरपालिकामा हुँदा भूमिका फरक छ । संसद्मा बस्दा विभिन्न कानुन अध्ययन गर्थ्यौँ । क्युबा, कोरिया, चीन, पूर्वसोभियत संघको संविधान अनुवाद  गरेर ६०१ जनालाई वितरण गर्ने हामी नै हौँ, यसरी संविधान बनाउने भनेर । त्यति बेला नयाँ संविधानमा कसरी जनताको कुरा राख्ने, कसरी काम गर्ने भनेर माओवादीका मुख्य धेरै कुरा संशोधन गर्‍यौँ ।

त्यहाँको भूमिका भनेको नीति निर्माणको भूमिका । अहिले कार्यकारी भूमिकामा छौँ । त्यहाँभन्दा हामी धेरै व्यस्त हुनुपर्छ । त्यहाँ अध्ययनको हिसाबले व्यस्त हुन्थ्यौँ भने अहिले जनताको सेवामा व्यस्त हुन्छौँ । त्यहाँ पनि यहाँ पनि जनताको काम हो । संसद्मा बस्दा नीति निर्माण गर्‍यौँ । यहाँ बसेर त्यसलाई कार्यान्वयन गर्दै छौँ ।

अरू नगरपालिकाहरू अलमलमा रहँदा हामी अलमल भएनौँ । यो पाँच वर्षको अवधिमा ४८ वटा कानुन बनायौँ । हामी अलमलमा छैनौँ । संसद्को अनुभव काम लाग्यो ।

पाँच वर्षमा तपाईंले नगरपालिकामा गरेका कामहरू के–के हुन् ? 

हरेक निर्वाचनमा राजनीतिक दलहरूले घोषणापत्र जारी गर्छन् । हामीले पनि घोषणापत्र जारी गर्‍यौं । त्यो जनताका बीचमा गरेको एक प्रकारको बाचा हो । जनताका बीच गरेको कबुललाई हामीले एक–एक गरी पूरा गरेको जस्तो लाग्छ । जनताका समस्यालाई ध्यानमा राखेर हामीले काम गर्‍यौँ ।

जस्तो, भूकम्पको समयमा १२० भन्दा बढी सम्पदा क्षति भएको थियो । भक्तपुरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्छ भनेर सम्पदालाई जोड दियौँ । त्यो आधारमा हालसम्म भूकम्पबाट मात्रै नभएर उत्खनन गरेकासम्म १२२ वटा सम्पदा निर्माण भइसकेको छ । अझै पनि दर्जनौँ सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । हामीले सम्पदा संरक्षण गर्छौँ भनेर बोलेका थियौँ । हामीले बोलेका कुरामा जनताले खुला रूपमा सहयोग गर्नुभयो । आर्थिक, जिन्सी सहयोग र श्रमदान गर्नुभयो ।

जनपरिचालनले पनि देशमा केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ । यहाँ कैयौँ सम्पदा बनाउँदा लिएका १० लाखभन्दा बढी पैसा फिर्ता भएको छ । एउटै सम्पदाका निम्ति करोडौँ चन्दा उठेको छ । जनताको मन जितेर काम गर्न सक्यौँ भने हरेक कुराहरू सम्पन्न गर्न सकिन्छ भन्ने पाठ सिकाएको छ । श्रमदान, आर्थिक सहयोगको परम्परालाई भने निरन्तरता दिइराखेका छौँ । सम्पदा संरक्षणमा राम्रो प्रगति भएको ठानेका छौँ ।

दोस्रो, शैक्षिक क्षेत्र । तीन दशकअघिलाई फर्केदा हेर्दा देशको कम साक्षर भएको क्षेत्र हो । साह्रै थोरै कम विद्यार्थी मात्रै पढ्थे । अहिले घरघरमा उच्च शिक्षा लिएका व्यक्तिहरू छन् । इन्जिनियर वडावडामा छन् । हाम्रै कलेजबाट १२ सय इन्जिनियर उत्पादन भइसकेका छन् । नर्सहरू वर्षको ४० जना उत्पादन भएका छन् । यही वर्ष स्नातकोत्तरमा सात हजार विद्यार्थी पढिरहेका छन् ।

हामीसँग इन्जिनियर पढाउने ४३२ कोटा छ । तर, २२ सयको आवेदन आउँछ । हामीले बारम्बर शिक्षक साथीहरूलाई भन्ने गरेका छौँ, पास मार्क ३२, ४० होइन ६० राख्नुपर्छ । यो वर्षको स्नातकोत्तरको रिजल्ट आयो, २० जनामा एकजनाले जाँच दिएनन् । अरूको डिस्टिन्सन आयो । त्यो हिसाबले हामीले शैक्षिक रूपमा परिवर्तन हुने कोसिस गर्‍यौँ ।

त्यस्तै, मास्टर डिग्री गरेका फ्याकल्टी मेम्बर र चिफहरूलाई सात वर्षभित्र पीएचडी गर्न भन्यौँ । अब पीएचडीमा जाँदै छौँ । मास्टर्सका त धेरै भइसके नि ! शैक्षिक क्षेत्रमा नगरपालिकाले पनि गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छौँ ।

त्यसैगरी, गरिब विद्यार्थीका लागि छात्रवृत्ति दिएका छौँ । वार्षिक तीन करोडबराबरको छात्रवृत्ति प्रदान गरिरहेका छौँ, हाम्रो कलेजमा मात्रै । पोलिटिकल साइन्स, हिस्ट्री, जियोग्राफी, कल्चर र नेपालभाषामा बाहिर पढ्न जाने भक्तपुरवासीलाई पनि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । त्यति मात्रै नभएर गरिबीका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने हाल ३१४ विद्यार्थीलाई पाँच लाखका दरले ऋण पनि उपलब्ध गराएका छौँ ।

वडावडामा शिशुशाला, नगरको कलेज र बाहिर पढ्न जानेहरूलाई पनि छात्रवृत्तिको व्यवस्था र ऋणको व्यवस्था गरेका छौँ । शैक्षिक क्षेत्रमा देशले चाह्यो भने परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छौँ ।

त्यसैगरी,  निर्वाचित भएर आएको सय दिनमा हामीले घरघरमा नर्सिङ सेवा तीन वडामा पाइलट प्रोजेक्ट सुरु गर्‍यौँ । त्यसको नौ महिनापछि १० वटै वडामा सुरु गर्‍यौँ । नसर्ने रोगहरू मिर्गौला, मुटु, क्यान्सर भएकालाई १०–१० हजार रुपैयाँ दिने भन्यौँ । त्यसपछि लुकाएर राखेका रोगहरू नगरपालिकामा दर्ता हुन आए । नसर्ने रोग लागेकाहरू कति छन् भन्ने विवरण राख्न सहज भयो ।

तर, कोरोनाका बेलामा हामीलाई गाह्रो पनि भयो । किनभने, प्रदेश र संघले जुन सहयोग, समन्वय गर्नुपर्ने हो त्यो हुन सकेन । कोरोनाको बेलामा हामीले लिनुपर्ने साढे ६ करोडजति पैसा सरकारले रोकिदियो । नगरको स्वामित्वमा रहेका अस्पतालामा १३५ कर्मचारी छन् । ती कर्मचारीहरूलाई मात्रै तलब खुवाउने हो भने पनि महिनाको करिब ५० लाख चाहिन्छ । समस्या परेपछि हामीले जनतालाई आधा घण्टाभित्र दिइँदै आएको सुविधा कटौती हुन्छ भन्यौँ । भोलिपल्टदेखि नै सुविधा कटौती नर्गनू भनेर चन्दा संकलन सुरु भयो ।

एक महिनाभित्रै साढे ६ करोड जनताले नै त्यो पैसा जम्मा गरिदिए । त्यो देख्दा हामी आश्चर्यमा पर्‍यौँ । त्यो पैसा जनतामा नै लगायौँ । हामीले सहज रूपमा सेवा दिइरहेका छौँ । न सरकार न विदेशीको मुख ताकेका छौँ । हामी आत्मनिर्भरतर्फ अघि बढिरहेका छौँ । हामीले पूर्ण स्वामित्व रहेको अस्पतालमा ११ घण्टा ओपीडी सेवा दिइरहेका छौँ । अर्थात्, हामीले सम्पदा शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिइरहेका छौँ ।

सांस्कृतिक सहर बनाउने भन्नुहुन्थ्यो, त्यो पूरा भयो ?

हो, हामीले भनेका थियौँ । तर, हामीसँग अधिकार नै भएन । त्यो अधिकार प्रदेशलाई रहेछ । हामीसँग सांस्कृतिक क्षेत्र घोषणा गर्ने अधिकार मात्र रहेछ । सांस्कृतिक क्षेत्र घोषणा गरेर त्यहाँभित्र घर बनाउनेलाई काठ, इँटालगायत वस्तुमा ३५ प्रतिशत अनुदान दिन्छौँ । अस्ति भर्खरै पनि ९० लाखजति दिएका छौँ । नगरको मौलिकतालाई जोगाइराख्ने हो भने घरजग्गा खरिद–बिक्री पनि नगरवासीहरूकै बीचमा हुनुपर्छ । तर, सर्वोच्च अदालतमा मुद्दा परेर अन्तरिम आदेश जारी भयो, हामी यसमा पनि सफल भएनौँ । कला–संस्कृति संरक्षण विधेयक भनेर पास गरेका छौँ । ऐनमा केही प्रावधान राख्यौँ । तर, त्यो आउनेबित्तिकै मुद्दा पर्‍यो । हामीले यहाँ विदेशी र एनजीओहरूको सहयोग पनि लिएका छैनौँ । हामी हाम्रो पहिचान विदेशीको सहयोगमा स्थापित गर्न चाहँदैनौँ ।

पाँच वर्ष स्थानीय सरकार चलाउँदाका चुनौतीहरू के–के रहे ?

सरकारले सहयोग नगर्नु ठूलो चुनौती हो नि ! संविधानको भावनाअनुरूप भए त स्थानीय सरकारलाई बलियो बनाउनुपर्‍यो । स्थानीय स्वायत्तता दिनुपर्‍यो । अधिकार विकेन्द्रित गर्नुपर्‍यो । संविधानले दिएको अधिकार पनि केन्द्रले खोस्दै गएको छ ।

संघ र प्रदेशबाट स्थानीय सरकार सञ्चालनमा कत्तिको समन्वय र सहयोग भयो ?

हुँदै नभएको त होइन, तर जति हुनुपर्ने त्यो भएन । प्रदेशले यस्तो गर भनेर चिठी आउँछ । हामी आदेशपालक त होइन नि ।

संविधानले स्थानीय सरकार भनेको छ । आदेश दिएको त हामी मान्दै मान्दैनौँ । मन्त्री रामकुमार झाँक्रीले उपभोक्ता समितिलाई काम नगर्न भनेर पात्र काट्नुभयो, जुन संविधानविपरीत हो । मैले उपभोत्ता समितिको काम रोक्दै रोक्दिनँ भनेर भनेँ । यस्ता असहयोग हुने गरेको छ ।

तपाईं दोहोरिनुभयो भने नगरका लागि गर्ने कामहरू के–के हुन् ?

अधुरा कामहरू धेरै छन् । ८०० वर्ष पुरानो पोखरी निर्माण गरिरहेका छौँ । ठूलो मठ छ, त्यो बनाइसकेका छैनौँ । तीन–चार करोडमा मन्दिर बनाउँदै छौँ । कला संग्रहालय रहेको दरबार स्क्वायर टेको लगाएर राखेका छौँ । मल्लकालीन शैलीमा बनाउने कि राणाकालीन भन्ने ठूलो प्रश्न उठ्यो । पुरातत्त्व विभाग र पर्यटन मन्त्रालयसँग हाम्रो विवाद नै भयो । धेरै समय त्यसैमा बित्यो ।

हामीले मल्लकालीन बनाउने भन्यौँ, उहाँहरूले राणाकालीन भन्ने अडान राख्नुभयो । अन्त्यमा मल्लकालीन शैलीमा बनाउने निर्णय भयो । तर, विश्वसम्पदा सम्पदा सूचीमा सूचीकृत भएकाले पनि समस्या भयो । नयाँनयाँ कलेजहरूको स्थापना, विश्वविद्यालय बनाउने योजना, मेडिकल कलेजको स्थापना, सस्तो मूल्यमा पढाइ गराउनेलगायत यावत् एजेन्डा छन् ।

अबको चुनावमा मुख्य प्रतिस्पर्धी को होलान् ?

उहाँहरूको केही तयारी होला । हाम्रो आफ्नो तयारी छ । विचारको प्रतिस्पर्धा हो । तर, अहिले विचारको प्रतिस्पर्धा पनि भन्न नमिल्ने खालको अवस्था छ । रुखमा छाप हानेर माओवादीका उमेदवारलाई जिताउनुपर्ने अवस्था छ । एमालेलाई राप्रपाले भोट हालेर जिताउनुपर्ने ।

यो प्रजातन्त्र हैन, मनोनीत सिस्टम हो । वैचारिक प्रतिस्पर्धा हुनुपर्थ्यो, घोषणापत्रबीचको लडाइँ हुनुपर्थ्यो । कांग्रेस, एमाले, हामी, माओवादी, राप्रपाले आफ्नो एजेन्डा राख्थे अनि कसले जित्थ्यो त्यो पो मज्जा आउथ्यो त ! प्रजातन्त्र भनेको त त्यो हो नि । अहिले यहाँ दुईदलीय तानाशाही हो नि ! पञ्चायतमा एकदलीय थियो, अहिले दुईदलीय । टाउको काट्ने र काटिनेबीचको अनैतिक गठबन्धन भइरहेको छ । यहाँ त सत्तापक्ष एक भएर प्रतिपक्षलाई हराउन लागिपरेको छ ।

अघिल्लोपटक करिब १९ हजारको मतान्तर थियो, योपटक त्यो संख्यामा के होला ?

हामी त्यसभन्दा बढी मतान्तरका साथ जित हासिल गर्ने कोसिसमा छौँ । जनताले कसरी मत दिन्छन् त्यसमा भर पर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro