जनकपुरधाम । मधेस प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा उमेदवारी दिन एक सांसदले राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा सचिवालयमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद शेख अवुल कलाम अजादले राजीनामा दिएका हुन् ।
सांसद अजाद स्वतन्त्र निर्वाचित भएपनि पछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए । अब जसपाबाटै गढीमाई नगरपालिकामा मेयरमा उमेदवारी दिने उनले जानकारी दिए । उनकाअनुसार पार्टीबाट उनको नाम मेयरको लागि सिफारिस भइसकेको छ ।
गढीमाईमा गठबन्धन गर्ने प्रयास जारी रहेपनि हालसम्म हुन सकेको छैन । तर, गठबन्धन नभए पनि आफूले उमेदवारी दिने अजादले बताए ।
मन्त्री पनि राजिनामा दिने तयारीमा
मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पनि सिराहा नगरपालिकामा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । उनी सिराहा निर्वाचन क्षेत्र नम्बर ३ को 'ख' बाट निर्वाचित सांसद हुन् ।
नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका यादवको नाम मेयर पदका लागि एकल सिफारिस भएको हो । पार्टीले मेयरमा लड्ने निर्णय गरेको भन्दै शनिबारसम्म राजीनामा दिने उनले बताए । सिराहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) गठबन्धन गर्न तयार छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद परमेश्वर साह सुडी पनि जनकपुरधाम उपमहानगरपालिकामा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । पार्टीले टिकटको आधिकारिक निर्णय गरेपछि राजिनामा दिने उनले बताएका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को 'ख' बाट निर्वाचित सांसद साह पार्टीले टिकटको लागि टुङ्गो लगाएपछि राजीनामा दिएर चुनावी मैदानमा जाने जानकारी दिए । लोसाले आज नै महानगर र उपमहानगरको उमेदवार टुङ्गो लगाउने तयारी गरेको छ ।
यस्तै, जनकपुरधाममा जसपाबाट मेयरको उमेदवार अझै टुङ्गो लागेको छैन । जसपाले जनकपुरमा सांसद राम अशिषलाई यादवलाई उठाउने चर्चा भइरहेको छ ।