site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदाता रिझाउन मधेसमा चुनावी स्टन्ट : कतै सडक निर्माण, कतै शौचालय सामग्री वितरण

जनकपुरधाम । गत चैत २६ गते जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बलराम महतोले स्वतन्त्र उमेदवारी घोषणा  गरे । लगत्तै उनी बस्ती–बस्ती पुग्न थाले ।

महतोले आफ्नो व्यक्तिगत लगानीमा चैत २९ गते रेल्वे स्टेसनदेखि सीता चोकसम्म सडक बनाउन लगाए । त्यसयता उनी मतदाता रिझाउन निरन्तर सामाजिक कार्यमा लागेको देखिन्छन् ।

वैशाख १ गते उनले सडक पेटीमा रोपिएको बिरुवाहरूमा पानी हाल्न लगाएर टोल–टोलका स्थानीयसँग मत मागे । उनी मतदातालाई आफूले नागरिकको सेवाका लागि उमेदवारी घोषणा गरेको बताउँछन् ।

“जनकपुरधाममा अहिले पनि मेरो चार करोड व्यक्तिगत लगानी छ । मलाई अवसर दिनुस् । म कमाउन आएको होइन । सेवा गर्न आएको छु,” उनले मतदातासँग भन्ने गरेका छन् । 

महतो रमण कन्ट्रक्सनका सञ्चालक थिए । अहिले छोरा पवन र रमण महतोद्वयलाई काम सुम्पिएर उनी चुनावी मैदानमा छन् ।

निर्माण व्यवसायीबाट सन्न्यास लिएको बताउने महतोमाथि कर छली गरेको आरोपमा राजस्व विभागले मुद्दासमेत चलाएको छ । अहिले उनीमाथि मुद्दा अदालतमा विचारधीन छ । विभागले २० करोड ८७ लाख बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

धनुषाकै औरही गाउँपालिका २ देउरी पासमान टोलमा पनि मतदाता फकाउन अकांक्षीहरूको दौडधुप बढेको छ । स्थानीय ४५ वर्षीय बालचन्द मण्डल पछिल्ला दिनहरूमा बिहान बेलुका बस्तीमा नेताहरूको दौडधुप बढाएको बताउँछन् । उनकाअनुसार चैत तेस्रो सातादेखि अकांक्षीहरू आएर विभिन्न आश्वासन र केही समानहरू बाँडिरहेका छन् ।

दुई साताअघि यहाँका २५ गरिब दलित परिवारलाई शौचालयको सिट एक थान र रिङ तीन थान वितरण गरिएको उनले जानकारी दिए । मदन यादव र मोहन यादवले युनिसेफ नामको गैरसरकारी संस्थाको सहयोगमा वितरण गरिए पनि गाउँमा व्यक्तिगत लगानी वितरण गरेको दाबी गर्दै मतदाता फकाइरहेका छन् । मोहन औरहीमा मेयर पदका अकांक्षी हुन् । उनले हालसम्म पार्टी खुलाएका छैनन् । 

जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लगदासमेत बस्तीमा नआएको नागरिकको गुनासो छ । पाँचसय मिटर सडकबाहेक अन्य कुनै पनि काम पासमान बस्तीमा नभएको स्थानीय बताउँछन् । 

“शौचालय बनाउन समान त पायौँ । तर बनाउने कहाँ ?,” ५६ वर्षीया सुकमरीया पासवानले भनिन्, “घडेरी नै छैन ।”

जग्गा अभावकै कारण गाउँका कतिपयले ट्वाइलेट बनाउन दिइएका सामग्री लिएनन् । बस्तीमा २५ घरधुरी मण्डल, २० घर पासमान, १८ घर महरालगायतको बसोबास छ । तर, ९० प्रतिशत घरमा शौचालय छैन् । शौचालय अभावमा स्थानीय खुला स्थानमा शौच गर्न बाध्य छन् । 

महोत्तरीको भंगहा नगरपालिका ९ मा मतदाता रिझाउन वर्तमान वडाध्यक्ष राजबाबु यादवले विभिन्न आश्वासन र सामान बाँडिरहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका यादव अबको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष पदका अकांक्षी हुन् । उनले मतदाता रिझाउँन 'ह्यम पाइप' वितरण गरिरहेका छन् । उनीमाथि सरकारी सम्पत्तिको दुरूपयोग गरी आफू निकटका मतदातालाई मात्र ह्याम पाइप वितरण गरेको आरोप लागेको छ ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख श्रिधर पन्थी मतदातालाई सामान वितरण गर्न नहुने बताउँछन् । कुनै पनि उमेदवारले मतदातालाई प्रभावित बनाउने खालको गतिविधि गरेमा अचारसंहिता विपरीत हुने उनले बताए । वैशाख ८ गतेपछि अनुगमन समिति सक्रिय हुने र आचारसंहिता उल्लङ्घनका लिखित उजुरी आए आवश्यक कारबाही गरिने उनले बताए ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले त्यसतो विषयमा लिखित उजुरी आए सुरक्षा तथा अनुगमन समितिले अध्ययन गरेर कारबाही गर्ने बताउँछन् । “भाषण गरेर वा मतदातालाई आश्वासन गरेर काम गरेको छ भने त्यो गलत छ,” उनले भने, “यो विषयमा हामीले बुझ्ने छौँ । सम्बन्धित व्यक्तिलाई बोलाएर स्पष्टीकरण लिन्छौँ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro