चितवन विद्रोहीकाे थलो हो । आफ्नाे थातथलाे छाडेर नौलो ठाउँमा बसाइँ सर्नु एक प्रकारकाे विद्राेह नै हाे । हुनत, अहिले राजनीतिमा प्रायः चितवनमै जन्मिएकाहरू सक्रिय हाेलान् । परन्तु, तीमध्ये अधिकांशका बाबुआमा वा अझ अगिल्लो पुस्ता अन्तैबाट बसाइँ आएका हुन् ।
यसैले चितवनवासीको संस्कारमै विद्रोहकाे झिल्को छ । र चितवन मूलतः नेपाली कांग्रेसका नेता बखानसिंह गुरुङकाे अगुवाइमा बसालिएकाे बस्ती हाे । औलो उन्मूलन नहुँदै त त्यहाँ सम्म मैदानमा वन्यजन्तुसँगै थारूहरूमात्र बस्थे । पहाडमा चेपाङहरूकाे बस्ती थियो ।
विद्रोहकाे बीजारोपण
स्थानीय तहकाे चुनावमा विशेषगरी भरतपुर महानगरपालिकाको निर्वाचनमा गठबन्धनकाे सम्भावनाले जन्माएकाे विद्रोहमा चितवनकाे मौलिक संस्कार व्यक्त भएकाे देखिन्छ । पहिले जिल्लाका नेताहरूले महानगरकाे प्रमुख कांग्रेसले छाड्नु हुँदैन भनेका थिए । गठबन्धनकाे बन्धक हुनपुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमै तिनकाे कुरा सुनिदिएका भए सम्भवतः विद्रोहकाे बीउ रोपिने नै थिएन ।
चितवनबाट नेपाली कांग्रेसकाे केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू, जिल्ला समितिका वर्तमान र पूर्वसभापतिहरूलगायतका नेता काठमाडौंबाट निराश भएर फर्केपछि जिल्लामा बढी नै आक्रोश देखियो । विशेषगरी महानगरपालिका प्रमुखमा २०७४ को चुनावमा नेकपा (माओवादी केन्द्र)काे उमेदवारलाई केन्द्रकाे करमा समर्थन गरेका कांग्रेसका कार्यकर्ता पछिल्लो निर्वाचनमा साथ पाउने अपेक्षामा थिए । परन्तु, पुष्पकमल दहालले एकाएक ‘धोका’ दिएपछि स्तब्ध र क्षुब्ध भए ।
उनीहरू अर्को चुनाव पर्खेर बसे । यसबीच महानगरपालिकाकी प्रमुख पनि कृतघ्न भइदिइन् । विडम्बना, २०७९ काे चुनावभन्दा पहिले नै केन्द्रमा अहिलेको गठबन्धन बन्यो । चितवन कांग्रेसले फेरि कृतघ्न माओवादी केन्द्रको भारी बोक्नुपर्ने सङ्केत बलियाे हुँदै गयाे । उनीहरू थप क्षुब्ध भए ।
असन्तुष्टिको उपेक्षा
सभापति देउवाले कुरा नसुनेपछि नेताहरूमा निराशा र कार्यकर्तामा आक्रोश बढ्यो । पहिले महानगरका सबै वडा सभापतिहरूले स्वतन्त्र उमेदवार उठाउने घोषणा गरे । त्यसपछि केही युवा कार्यकर्ताले पार्टी त्यागेकाे घोषणा गरेका छन् । तिनकाे सङ्ख्या सानो छ तर बुझ्न खोजे त्यसकाे सङ्केत गहिरो र फराकिलो देखिनेछ ।
सिद्धान्त नमिल्ने दलहरूबीच गठबन्धन सजिलो हुँदैन । त्यसमाथि चुनावपूर्वको गठबन्धन सफल हुन कठिन हुन्छ । अगिल्लाे स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रसले गठबन्धन गरेर केही पाएन । माओवादीलाई पनि भरतपुरकाे मेयरबाहेक अरू खासै उपलब्धि भएको देखिएन ।
यसैबीच पोखरा र वीरगन्जमा पनि असन्तोषकाे आगो दन्किन खोजेकाे छ । तर, त्यहाँ आक्रोशकाे विस्फोट चितवनमा जति भएको छैन । सम्भवतः नहाेला पनि । पर्सा र कास्की दुवै विद्रोहभन्दा अन्तर्घातको थलो हो । चितवनमा जस्तो धोका त्यहाँका कांग्रेसले पाएका पनि छैनन् ।
नौरंगी गठबन्धन
त्यसाे त गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा गठबन्धनबाहिरमा दलसँग चुनावी तालमेल गर्ने समाचर आएको छ । यो बिस्तारै सबैतिर सक्कली गठबन्धन बन्दै जाने सङ्केत हुनसक्छ ।
दमकमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीलाई देखाइदिन उनकै गृह नगर दमकमा राजावादी राप्रपासँग गठबन्धनका नेताले तालमेलकाे प्रयास गरिरहेका छन् । ओलीले त एकैपटक हिन्दुवादी राप्रपा नेपाल र एभान्जलिस्ट परिवारदलसँग तालमेल गर्ने निर्णय गरेका छन् ।
विद्रोहकाे ढबढाँचा
अझै यसै भन्न त सकिँदैन तर चितवनमा विद्रोहको सम्भावना छ । विद्राेह हुन प्रकारकाे हुसक्छ - १. गठबन्धनबाट कांग्रेसले उमेदवारी दिएकाे जति पदमा छाडेर अरूमा विद्राेही उमेदवार उठाउने । अर्को सबै पदमा विद्रोही उठाउने । सबै पदमा विद्रोह गरे मत विभाजित हुनसक्छ । तर, कार्यकर्तालाई झारपात बराबर ठान्ने देउवा प्रवृत्तिलाई भने ठूलै जवाफ हुनेछ ।
बखान बा र मैयाँ दिदी
‘अन्याय त भयाे तर लिडरले भनेपछि मान्छु’ भन्ने बखानसिंह गुरुङ त अहिले थोरै होलान् तर मैयाँदेवी र चिजकुमार श्रेष्ठ अर्थात् अन्यायका विरुद्ध विद्रोह गर्न तम्सने धेरै जना निस्कन सक्छन् । तिनै बखानसिंहले पनि बीपीकै जीवनकालमा २०३४ मा पार्टी छाडेका थिए । चितवनमा अर्को विद्रोह भयो भने त्यसले नेपालकाे इतिहासमा कस्तो प्रभाव पार्ला ?
हुन पनि अर्काे चिह्नमा मत दिने बानी पर्दै गए आफ्नाे चुनाव चिह्नै बिर्सने जाेखिम बढी हुन्छ । राप्रपा बिस्तारै एमालेमा समाहित हुनसक्छ । हुनत ढिलाेचाँडाे प्रगतिशील उदारवादी, अनुदार परम्परावादी खेमामा ध्रुवीकरण हुन्छ । कांग्रेस र माओवादी एकअर्कामा समाहित हुने सम्भावना भने कमै देखिन्छ । * सूर्य चिह्नमा हृदयेश त्रिपाठीसँगै चुनाव जितेकाहरूमध्ये अहिले धेरै त एमालेमै समाहित भएका छन् ।
गठबन्धनले दलका नेताकाे कमजोरी पनि ढाकछोप गरिदेला तर यथार्थ जनसमर्थन भने थाहा हुँदैन । माओवादीका लागि कांग्रेससँगकाे गठबन्धन खासै फलदायी नहुने सम्भावना नै धेरै छ । त्यसपछि पुष्पकमल दाहाललाई फेरि कम्युनिस्ट एकता नभए प्रतिगामी शक्तिको पुनरुत्थान हुने ‘ब्रह्मज्ञान’ प्राप्त हुन र आत्मालोचनासहित अर्को समीकरण बन्न बेर नलाग्ला ।
चुनाव पूर्व नै कार्यकर्ताकाे मनाेबल गिराउने काम कांग्रेसको नेतृत्वले गरिरहेकाे छ । यस्ताे त शल्यले पनि गरेनन् । उनी सेनापति नहुँदासम्ममात्र कर्णकाे मनाेबल कमजाेर बनाउन लागेकाे महाभारतकाे कथाले भन्छ । देउवा र उनका कार्यकर्ता के भन्छन् ?
र अन्त्यमा
गठबन्धनकाे मार सबैभन्दा पहिले महिला प्रतिनिधित्व पर्ने लगभग निश्चित देखियाे । एउटा पदमा मात्र उमेदवारी दिँदा महिला उठाउन अनिवार्य भएन । जे भने पनि पुरुष नेताले हाँकेका दलहरूले आफ्नै सन्तान वा निकट आफन्तबाहेक प्राथमिकता त पुरुषलाई नै दिन्छन् । के महिलाहरू पनि चितवनका कांग्रेसहरू स्वतन्त्र उमेदवारी दिने र महिलालाई नै भोट दिने अभियान चलाउलान अगाडि सर्लान् ?