site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपलब्धिलाई राजनीतिले छायामा पारेको वर्ष
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । वर्ष २०७८ मा नेपाली खेलकुदको सुखद सुरुवात भए पनि अन्त्य दुःखद रह्यो । यस वर्ष नेपाली खेलकुदले केही ऐतिहासिक सफलता हासिल गर्‍यो । तर खेल पदाधिकारीको राजनीतिले त्यसलाई छायामा पारिदियो ।

समग्रमा २०७८ मा खेलकुद क्षेत्र र उपाधिभन्दा पनि पदाधिकारीको राजनीति हाबी भयो । 

नेपाली क्रिकेट टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलाको उपाधि जित्दै सुरु भएको वर्ष २०७८ को यात्रा कीर्गिस्थातानमा फुटसल टोलीको लज्जास्पद बर्हिगमनमा टुंगिएको छ ।

KFC Island Ad
NIC Asia

योबीचमा नेपाल ओलम्पिकमा सहभागी भयो । तर, विवादरहित हुन सकेन । नेपाल ओलम्पिक कमिटी आफैँ विवादमा मुछियो । एथ्लेटिक्सका गोपीचन्द्र पार्कीको सट्टामा सरस्वती चौधरीलाई पठाइयो । जसका कारण गोपीचन्द्रको महिनौँको मिहिनेत खेर गयो । 

त्यसैगरी, ओलम्पिक कमिटी नेतृत्वले जापान पठाउने अफिसियलमा पनि नाङ्गो हस्तक्षेप गरेर एक खेलको व्यवस्थापकमा अर्कै खेलका पदाधिकारी जानेसम्मका हर्कत भए । 

Royal Enfield Island Ad

संघीय सरकार परिवर्तनसँगै युवा तथा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भए । नयाँ मन्त्री बनेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पनि नेतृत्व परिवर्तन गराइयो । जसको असर कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद र खेलाडीले भोगे । गण्डकीमा हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सकेन ।

चीनमा हुने एसियन गेम्स मिति अब पाँच महिना मात्रै बाँकी रहँदा नेपालले प्रतियोगितामा सहभागी हुने खेलाडी टुंगो लगाउन सकेको छैन । यस्तै, कर्मचारीले केही महिनायता तलब खान सकिरहेका छैनन् । 

फुटबलमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद सतहमै छताछुल्ल बन्यो । त्यही विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि मुछिए । जसका कारण हासिल भएका सफलता छायामा परे । 

वर्षको अन्त्यमा सहिद स्मारक ‘ए’ डिभिजनका क्लब र नेपाल सुपर लिग (एनएसएल)बीचको विवादले पनि चर्को रूप लियो । क्लब र एनएसएलबीचको विवादमा एन्फाको राजनीति घुसेपछि प्रतियोगिता नहुने अनिश्चित बन्यो ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीबीचको शीतयुद्ध निर्वाचित सचिव अशोकनाथ प्याकुर्‍यालको राजीनामासँगै विष्फोट भएको थियो । पदाधिकारी मात्र नभई क्यान र खेलाडीबीचको विवाद पनि सतहमा आयो । 

खेलाडीले क्रिकेट नै नखेल्नेसम्मको चेतावनी दिए । अहिले केही समयका लागि विवाद मत्थर भएको छ । तर, मैदानमा विवादको असर अझै बाँकी छ । जसका कारण अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाल  छनोट हुन सकेन ।

त्यस्तै, बक्सिङ संघभित्रको विवादले पनि निरन्तरता पाइरह्यो । महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले संघका अध्यक्ष राम अवाले एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको आरोप लगाइरहे । 

माघ १५ गतेको साधारणसभा रोक्न उनीहरूले राखेपलाई गुहार्नुपर्ने स्थिति बन्यो । बक्सिङभित्र मात्र होइन कराते, तेक्वान्दो, बुद्धिचाललगायत सबै संघ विवादमा फसेका छन् । 

नेपालको यो रोग पुरानै हो । जसका कारण खेलाडी सधैँ मर्कामा परिरहे । २०७८ सालमा खेलाडी छायामा पर्नुका कारणमध्ये यो मुख्य हो ।

क्रिकेट

मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखला जितेको नेपाली क्रिकेट टोलीले ओमानमा सम्पन्न पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि क्लिन स्विप गरेको थियो । लगत्तै भएको अमेरिका र ओमानविरुद्धको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालले मिश्रित नतिजा निकाल्न सफल भयो ।

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीको विवादमा फसेको नेपालीको क्रिकेटले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा खराब प्रदर्शन गर्‍यो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल पुनः मिश्रित नतिजामा चित्त बुझाउन बाध्य भयो । त्यहाँबाट फर्किएपछि नेपाली क्रिकेटले अर्को धक्का बेहोर्‍यो । पीएनजीविरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २–० ले पराजित भयो । 

तर, उक्त घाउमा नेपालले मलेसिया र पीएनजी सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलाको उपाधि जितेर मलम लगाउन सफल भयो । 

मैदानभित्र नेपाली क्रिकेटको प्रदर्शन जति उचारचढावपूर्ण रह्यो । मैदानबाहिरको विवाद अझै धेरै उतारचढावपूर्ण बन्यो । संघभित्रको विवाद चरम उत्कर्षमा पुगेपछि निर्वाचित सचिव अशोक प्याकुर्‍याल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिए । क्यानको निर्वाचनमा एक ढिक्का भएर विनयराज पाण्डे प्यानलसँग प्रतिस्पर्धा गरेका चतुरबहादुर चन्द र प्याकुर्‍याल अन्ततः दुई धारमा विभाजित भए । 

अहिले अध्यक्ष चन्दले प्याकुर्‍याल पक्षलाई पूर्ण रूपमा किनारा लगाएको छ । र, चन्दको टिमभित्रै पनि अहिले मनमुटाव सुरु भएको छ । अध्यक्ष चन्द नै किनारको साक्षीमात्र बन्नुपर्ने अवस्था बनेको छ ।

ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलेर फर्किएपछि क्यानले गरेको खेलाडी वर्गीकरणमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सिनियर खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीले सार्वजनिक रूपमै विरोध गरे । अन्य खेलाडीले असन्तुष्टि जनाएका थिए । क्यानले सञ्चारमाध्यममा गएर संघविरुद्ध अभिव्यक्ति दिएको भन्दै चारै खेलाडीलाई अनुशासनको कारबाही गर्‍यो । 

ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट हटाउनुका साथै चारै खेलाडीलाई २०२२ को सुरुको ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गरेको थियो । क्यानले सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो । क्यानले अझ ज्ञानेन्द्रलाई टिमभित्र गुटबन्दी गरेको गम्भीर आरोप लगाएको थियो । 

खेलाडीले क्यानको आफ्नो निर्णय नसच्याएमा ‘बल र ब्याट बिसाउने’ चेतावनी दिए । संस्थापनसँग असन्तुष्ट पक्ष खेलाडीको कारबाहीको विरोध गर्‍यो । र, क्यान नेतृत्व एकलौटी रूपमा अघि बढेको आरोप लगायो । लामो समयको विवादपछि क्यान र खेलाडीबीचको विवाद तत्कालका लागि मत्थर भए पनि त्यसको असर मैदानमा पर्न थालेको छ । प्रमुख प्रशिक्षक पुबुदु दाशनायकले टिममा पहिलोजस्तो ‘टिम स्पिरिट’ नभएको गुनासो गरेका थिए । 

मलेसिया र पीएनजी सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलाको उपाधि जित्दा टिम पुनः एकजुट देखिएको छ । त्यो क्षणिक हो कि दीर्घकालीन हो भन्ने आगामी दिनमा देखिने छ । 

क्यानको सबैभन्दा महत्वकांक्षी योजना ‘नेपाल प्रिमियर लिग’को विवाद पनि अझै सकिएको छैन । क्यान नेतृत्वले निर्वाचित हुँदा सबैभन्दा महत्त्वका साथ र चर्को स्वरमा उठाएको ‘नेपाल प्रिमियर लिग’ कार्यकाल सकिने दिन नजिकिए पनि टुंगो लाग्न सकेको छैन । आफू–आफू विवादमा फसेपछि क्यानले अहिलेसम्म घरेलु क्रिकेट संरचनाको खाका प्रस्तुत गर्न सकेको छैन । राखेपले गरिदिएको प्रधानमन्त्री कपलाई घरेलु प्रतियोगिता भन्नुपर्ने स्थिति सिर्जना भएको छ ।

फुटबल

फुटबल नेपालको लोकप्रिय खेल हो । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत पर्छ । फुटबल नेपाली खेलकुदमा सबैभन्दा चलायमान संघ हो ।

नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनायो । तर, उक्त सफलतालाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अभिव्यक्तिले छायामा पारिदियो । सामाजिक सञ्जालमा गरिएको कमेन्टलाई लिएर अल्मुताइरीले नेपाली सञ्चारमाध्यममाथि नै अपुष्ट आरोप लगाउन भ्याए ।

फाइनल खेलअघि आफू कहिल्यै नेपाल नफर्किने अभिव्यक्ति दिए । जसका कारण उनको चर्को आलोचना भयो । फाइनलमा नेपाल चीरप्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भयो । नेपाल पराजित भएसँगै अल्मुताइरीको बोली फेरियो । तथापि, उनी माल्दिभ्सबाट सिधै कतार गए । नेपाल कहिल्यै नफर्किने आफ्नो अभिव्यक्तिमा अल्मुुताइरी लामो सयम टिक्न सकेनन् । उनी नेपालसँगको सम्झौता नवीकरण गर्दै नेपाल फर्किए । 

त्यसअघि पनि अल्मुताइरी विवादमा तानिएका थिए । ‘वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले काम गर्न सक्ने स्थिति नबनेको र एन्फामा राजीनामा बुझाउन जाने’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि विवाद चुलिएको थियो । 

अल्मुताइरीको अभिव्यक्तिले अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको दूरी झनै बढाएको थियो । त्यही घटनापछि प्रवक्ता किरण राईले पदबाट राजीनामा दिए । नेम्वाङ र अल्मुताइरीबीचको विवाद मिलाउन नेपालीका लागि कतारी राजदूतसमेत सक्रिय बन्नुपरेको थियो । 

अल्मुताइरीको प्रशिक्षणमा नेपालले १५ खेल खेलेको छ । जसमा थाइल्यान्डका स्थानीय क्लब चोनबुरी एफसीविरुद्धको खेल समावेश छैन । त्यसमध्ये नेपालले पाँच खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । बाँकी खेलमा पराजित भएको थियो । तर, मैदानमा खेलाडीको प्रदर्शनलाई सधैँ अल्मुताइरीको विवादास्पद अभिव्यक्तिले छायामा पारिरह्यो ।

वर्षभर वरिष्ठ उपाध्यक्ष नेम्वाङ समूहले अध्यक्ष शेर्पाविरुद्ध एकलौटी रूपमा विधि र विधान मिचेर काम गुर्नका साथै आर्थिक अनियमिता गरेको आरोप लगाइरहे । जसका कारण दुई पक्षबीचको विवाद सतहमा आइरह्यो । एन्फाले जेठ १५ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । तर, त्यो मिति परिवर्तन भएर असार ६ का लागि तय भइसकेको छ । ‘बी’ र ‘सी’ डिभिजन लिगबाट प्रतिनिधि चयन गर्ने विषयमा कुरा नमिल्दा एन्फामा कार्यालयभित्रै तोडफोड नै भएको थियो । यसैबाट थाहा हुन्छ, दुई पक्षबीचको दुस्मनी कुन तहसम्म पुगेको छ भनेर । 

एन्फाले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई नेपाल सुपर लिग (एनएसएल) गर्नका लागि अनुमति दिएको थियो । 

गत वर्ष कोभिड–१९ का बीच पनि एनएसएल सफलतापूर्वक सम्पन्न भएको थियो । तर, यसपटक एनएसएल हुन सकेन । सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबले आफ्नो अनुमति आफूसँग अनुबन्ध भएका खेलाडीलाई अक्सनमार्फत एनएसएलका क्लबमा अनुबन्ध गरिएको भन्दै आपत्ति जनाएका थिए । 

एकैपटक एकै खेलाडी दुई क्लबमा अनुबन्ध हुनु फिफाको नियमविपरीत थियो । त्यसकारण क्लब यसपटक डगमगाएनन् । अन्तिमसम्म आडानमा अडिग रहे । एन्फाले अक्सन रोक्नका लागि पत्र काटे पनि आयोजकले अक्सन गरायो । 

त्यसपछि एन्फाले एनएसईएमलाई स्पष्टीकरण सोध्यो । ‘ए’ डिभिजन लिगका क्लबको निरन्तर विरोधपछि एन्फाले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनायो । 

चैत ९ गते बसेको कार्यदल बैठकले चार महत्त्वपूर्ण निर्णय गर्‍यो । उक्त निर्णयमा दोस्रो संस्करणसँगै एन्फा र एनएसईएमबीचको सम्झौता स्वतः रद्द हुने, खेलाडी ट्रान्सफर क्लबको आपसी समझदारीमा गर्ने, प्रतियोगिता चैत २५ गतेबाट जेठ १ गतेसम्म गर्ने, खेलाडी र क्लब दर्ता एनएसएल आफैँले गर्नेछन् । त्यससँगै एनएसएलमा आबद्ध दश क्लब र आयोजक एनएसईएमले चैत १० गते विज्ञप्ति निकालेर एन्फाको निर्णयप्रति आपत्ति जनाए ।

त्यसपछि प्रतियोगिता हुने/नहुने अनिश्चित बनेको छ । जसका कारण फुटबलबाट निजी क्षेत्र विकर्षित हुनसक्ने एनएसएलका पदाधिकारीको भनाइ छ । फुटबलमा पर्दा पछाडिका यस्तै विवादले मैदानभित्रको सफलतालाई सधैँ छायामा पार्‍यो ।

ओलम्पिकको विवाद

नेपाल एथ्लेटिक्स संघले टोकियो ओलिम्पिक २०२० का लागि खेलाडी छनोट गर्न नेपालगन्ज म्याराथन प्रतियोगितालाई मान्यता दिएको थियो । नेपालगन्ज म्याराथन विजेताले ओलम्पिकमा भाग लिन पाउने भनिएको थियो । जहाँबाट गोपीचन्द्र पार्की छनोट भए । त्यसपछि पार्कीले आफ्नै खर्चमा तयारी थाले । धावक म्याराथनमा वैकुण्ठ मानन्धरको दक्षिण एसियाली कीर्तिमान भंग गर्ने लक्ष्य पार्कीको थियो । 

तर, ओलम्पिक नजिकिँदै थियो । जापान प्रस्थान गर्ने दिन नजिक आउँदै थियो । पार्की ओलम्पिकका लागि छनोट नभएको समाचार बाहिरिए । ओलिम्पिक जाने खेलाडीलाई बन्द प्रशिक्षणका लागि होटेलमा राखिएको थियो । त्यहाँ पार्कीलाई बोलाइएन । 

समाचार बाहिरिएको भोलिपल्टै नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै पार्की ओलिम्पिकमा नभएको औपचारिक जानकारी गराए । 

विज्ञप्तिमा भनिएको थियो, “सहभागिता सुनिश्चितताका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने हुँदा म्याराथनको कोटा भन्दा धेरै आवेदन परेकाले म्याराथन नभई १०० मिटर दौडमा कोटा छुट्टाएको जानकारी प्राप्त भएको छ ।”

पार्कीको स्थानमा १०० मिटर दौडका लागि सरस्वती चौधरीको नाम पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख थियो । ओलम्पिक कमिटी र एथ्लेटिक्स संघको लापरबाहीका कारण एउटा खेलाडीमाथि भएको अन्यायबारे राखेपले छानबिन गरी कारबाही गर्नुपर्ने थियो । तर, तत्कालीन सदस्यसचिव सिलवाल संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेर उक्त कूकर्मको छड्के साक्षी बसे । 

त्यतिमात्र होइन ओलम्पिकमा चार खेलका पाँच खेलाडी सहभागी थिए । सुटिङबाट कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह एथ्लेटिक्सकी सरस्वती चौधरीले ओलम्पिक प्रतिस्पर्धा गरेका थिए । सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमान पनि बनाइन् । 

तर, जापान जाने पदाधिकारीको लर्कोले कल्पनाको सफलता पनि छायामा पर्‍यो । जुन खेलका खेलाडी गएका छन्, त्यसमा पदाधिकारी पनि सोही खेलबाट जानुपर्ने हो । तर, ओलम्पिक कमिटीबाट सम्बन्धित खेलका विषयमा अनभिज्ञ अर्कै खेलका पदाधिकारीलाई जापान पठाएको थियो । 

जुडोको व्यवस्थापकका रूपमा तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा र कबड्डी संघकी अध्यक्ष तुलसा थापा जापान पुगे । थापा वामदेव गौतमकी श्रीमती पनि हुन् । त्यस्तै, सुटिङको व्यवस्थापकका रूपमा फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठलाई पठाइयो । त्यस्तै, पौडीको व्यवस्थापकका रूपमा बक्सिङ संघका अध्यक्ष राम अवाले जापान पुगेका थिए । तैपनि ओलम्पिक नेतृत्वले गर्वका साथ ‘कुनै जात्रा नभएको’ सुनाइरहेका थिए ।

राखेप विवादः नवौँ राष्ट्रिय खेलकुद र एसियन गेम्सको तयारीमा असर 

संघीय सरकार परिवर्तन भएपछि अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्ने नीतिको असर खेलकुदमा पनि देखियो । सरकारले राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्‍यो । त्यस्तै, सरकारले राखेपका बोर्ड सदस्यलाई हटाउने निर्णय गर्‍यो । त्यसपछि नियामक निकाय नेतृत्वविहीन हुन पुग्यो । 

जसको प्रत्यक्ष प्रभाव २०७७ असारमा जारी राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र एसियन गेम्सको तयारीमा पर्‍यो । लगभग ६ महिना खेलकुद क्षेत्रमा नीतिगत कार्य ठप्पजस्तै भए । 

बर्खास्तीमा परेका सिलवालले २८ कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरे । तर, सरकारले १२ मंसिरमा खुला प्रतिस्पर्धाबाट टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गर्‍यो । सिलवालले पुनः नयाँ नियुक्तिविरुद्ध पनि २१ मंसिरमा रिट दायर गरे । दुवै रिटको प्रारम्भिक सुनुवाइपछि ३० मंसिरमा न्यायाधीश हरिप्रसाल फुयालले अल्पकालीन अन्तरिम आदेश जारी गरे ।

अदालतको आदेशपछि राखेप सदस्यसचिवविहीन बन्यो । सर्वोच्चमा रिटको सुनुवाइ सरेकोसर्‍यै गर्‍यो । सदस्यसचिव नुहँदा सबै नीतिगत र आर्थिक काम ठप्प भए । राखेपका कर्मचारी तलब सुविधा निकासाका लागि आन्दोलित हुनुपर्ने स्थिति बन्यो ।

नवौँ राष्ट्रिय खेलकुद नहुने अवस्था भएपछि आगामी भदौमा चीनको हान्झाउमा हुने १९औँ एसियन गेम्सको तयारी पनि अन्योलमा परेको छ । जसका कारण खेलाडी आन्दोलित हुन पुगे । सडकमै ब्यानर बोकेर उत्रिएपछि ‘कानमा तेल हालेर बसेका’ मन्त्री महेश्वरजंग गहतराज जागे । 

त्यसपछि मन्त्रालयले फागुन ४ गते राखेप कर्मचारी कुलबहादुर थापालाई निमित्त सदस्यसचिवको जिम्मेवारी दियो । यसपछि मात्रै आर्थिक गतिविभि सुरु भयो । 

२२ चैतमा सर्वोच्च अदालतले सिलवालको रिट खारेज गरिदिएपछि बल्ल नवनियुक्त सदस्यसचिव राखेप फर्किएका थिए । पुनः कार्यभार सम्हालेपछि उनले यसै आर्थिक वर्षभित्र नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने र एसियन गेम्सको तयारी सुरु गर्ने बताएका छन् । तर, अझैसम्म एसियन गेम्समा सहभागी गराउने खेलाडीको टुंगो लाग्न सकेको छैन ।

भलिबल
कोभिड–१९ महामारीका कारण खुम्चिएको नेपाली खेलकुद पछिल्लो समय चलायमान बनेको छ । नेपाली महिला र पुरुष टोलीले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गरेका थिए । महिला टोलीले उपाधि जितेर फर्किए । 

पुस १३ गते सम्पन्न फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो । नेपाली महिला टोलीले अपराजित रहँदै उपाधि उचालेको हो । नेपाल पहिलो खेलमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग दुई–दुई सेटमा पराजित भए पनि बाँकी सबै सेट जितेको थियो ।

नेपालले लिग चरणमा आयोजक बंगलादेश, माल्दिभ्स र कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो ।

नेपाली पुरुष टोली भने समूह चरणमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराएर श्रीलंका र बंगलादेशसँग पराजित भयो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

बक्सिङ
नेपालकी पुनम रावलले थाइल्यान्डको फुकेटका सम्पन्न थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भइन् । ६० किलो तौल समूहमा पुनम सेमिफाइनलमा फिलिपिन्सको बक्सरसँग ३–२ अंकमा पराजित भए ।

नेपालले थाइल्यान्ड ओपन बक्सिङमा १२ वर्षपछि पदक जितेको नेपाल बक्सिङ संघले जनाएको छ । यसअघि, २०१० मा दीपक महर्जनले कास्य पदक जितेका थिए । नेपालबाट पुनमसहित मिनु गुरुङ, चन्द्रकला थापा, सुष्मा तामाङ, सुशील थापामगर, प्रेम चौधरी र भूपेन्द्र थापामगरले प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro