जनकपुरधाम । देशमा चुनावी महोल गर्माएको छ । दलहरू चुनावलक्षित कार्यक्रममा व्यस्त छन् । देशको ६ महानगरमा जित हात पार्न सत्तारूढ दलहरूको कसरत जारी छ । शीर्ष नेताहरू महानगरमा कुन दलको उमेदवार उठाउँदा जित सहज हुन्छ भनी छलफल गरिरहेका छन् । तर, अझै निर्णय नजिक पुगिसकेका छैनन् ।
चासोपूर्वक हेरिएका मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरमा सबैको ध्यान केन्द्रित छ । गठबन्धन भए वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा)को उमेदवार मेयरमा उठ्ने सम्भावना बढी छ । तर, यसअघिको चुनावमा दुई हजार १९६ मतले मात्रै पराजित भएको नेपाली कांग्रेस के गर्ला ?
कांग्रेसका पर्सा सभापति जर्नादन सिंह क्षेत्री केन्द्रलाई गठबन्धन नगर्न सुझाएको बताउँछन् । वीरगञ्जमा कांग्रेसलाई गठबन्धनको आवश्यकता नरहेको उनको ठहर छ । "विगतभन्दा कांग्रेसको स्थिति धेरै राम्रो छ । हामीले प्रदेश र केन्द्रका नेताहरूलाई पनि त्यही भनिरहेका छौँ," उनले भने, "गठबन्धन भए पनि हामीले जोडदार रूपमा यहाँ कांग्रेसको उमेदवार उठाउन माग गर्छौं ।"
वीरगञ्जमा कांग्रेस बलियो र एक्लै जित्न सक्ने उनको दाबी छ । "केन्द्रको निर्णय मान्छौँ । तर, मधेस कांग्रेसमय रहेकाे सन्देश दिन वीरगञ्जमा कांग्रेस आउनुपर्छ भन्ने मेरो धारणा हो," उनले भने, "यो कुरा केन्द्रले बुझेन भने कांग्रेसलाई घाटा हुन्छ । शीर्ष नेताले बुझेन भने प्रदेश र प्रतिनिधिसभाको चुनावमा असर पर्न सक्छ ।"
नेकपा (माओवादी केन्द्र) पर्साका इन्चार्ज विजय प्रसाद महतो गठबन्धन हुने सम्भावना न्यून रहेको बताउँछन् । स्थानीय तहमा अकांक्षी बढी भएकाले गठबन्धन भए पनि समर्थन नहुने गरेको उनको बुझाइ छ ।
"जिल्लामा सत्तारूढ दलबीच गठबन्धन गर्न २/३ पटक प्रयास पनि गर्यौँ । तर, सहमति हुन सकेन," उनले भने, "किनभने अकांक्षी धेरै छन् । कतिलाई बस्न भन्छु । अवसर दिएन भने बागी हुने/अन्य पार्टीमा लाग्ने गर्छन् ।" अहिलेसम्म एक्लै चुनावी मैदानमा जाने हिसाबले तयारी गरिरहेको उनले बताए ।
वीरगञ्जमा गठबन्धन भए सत्तारूढ दलले शतप्रतिशत जित्ने जसपाका युवा नेता राजेशमान सिंहको विश्वास छ । अहिलेसम्म आन्तिरक रूपमा एक्लै लड्ने तयारी गरे पनि गठबन्धनकै आशमा बसेको उनले बताए ।
"केन्द्रले अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन । त्यही भएर आन्तिरक रूपमा एक्लै जाने तयारी छ," उनले भने, "तर गठबन्धन हुने निश्चित छ । दुई/तीन दिनमै गठबन्धनको निर्णय आउँछ । हामी त्यहीअनुसार अगाडि बढ्नेछौँ ।"
वीरगञ्जमा सत्तारूढ दलमध्ये जसपा नै बलियो रहेको उनको दाबी छ । गठबन्धन गरी चुनावी मैदानमा गए सत्तारूढ दलको उमेदवारबाहेक अरू जित्ने सम्भावना नरहेको उनको विश्वास छ ।
सत्तारूढ दलहरूले गठबन्धन गर्ने सुरसार गरेपछि प्रतिपक्षी दलले पनि गठबन्धन गर्ने गृहकार्य गरिरहेका छन् । जसपा परित्याग गरी नेकपा (एमाले)मा गएका वर्तमान मेयर विजय सरावगीले गठबन्धन केन्द्रबाट हुने बताउँछन् । उनले लोकतान्त्रिक समाजवादी (लोसपा) र कमल थापा नेतृत्वको राप्रपासँग चुनावी तालमेल गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।
उनकाअनुसार अहिलेसम्म वीरगञ्जमा एमाले एक्लै चुनावी मैदानमा जाने तयारी गरिरहेको छ । तर, सत्तारूढ दलहरूले गठबन्धन गरे एमाले पनि गठबन्धन गरी अगाडि बढ्ने रणनीतिमा छ ।
सत्तारूढ दलहरूले गठबन्धन गरे कुनै दलसँग लोसपा पनि गठबन्धन गर्ने तयारीमा छ । लोसपाका नगर अध्यक्ष ओमप्रकाश सराफले पनि सत्तारूढ दलको निर्णयलाई पर्खिरहेको बताए ।
"सत्तारूढ दल गठबन्धन गरेर आए भने हामीले पनि गठबन्धन गर्ने अवस्था आउँछ । तर, अहिलेसम्म एक्लै जाने हिसाबले अगाडि बढिरहेका छौँ," उनले भने, "हाम्रो पार्टीले केन्द्रमा नीतिगत रूपमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । तर, आवश्यकताको अधारमा कुनै दलसँग तालमेल गर्ने छुट दिएको छ । आवश्यकता र औचित्य आयो भने गठबन्धन गर्छौं ।"
सत्तारूढले गठबन्धन गरे बाँकी रहेको एमाले राप्रपासँग तालमेलको बाटो खोल्ने उनको भनाइ छ ।
वीरगञ्जमा कुल एक लाख २४ हजार ६४७ मतदाता छन् । गत चुनावभन्दा १६ हजार मतदाता यसपालि थपिएका छन् । ०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)ले पाएको भोट १९ हजारभन्दा बढी छ । विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमसहित कांग्रेसको भोट २५ हजारभन्दा बढी थियो । अहिले लोकतान्त्रिक फोरम कांग्रेससँग मिलिसकेका छ । यद्यपि, उक्त पार्टीका मेयरमा प्रत्यासी विमल श्रीवास्ताव लोसपामा छन् ।
माओवादी आठ हजार हाराहारीमा मत पाएको थियो । यो जोड्दा ५३ हजारभन्दा बढी हुन्छ । तत्कालीन राजपाले पाएको १२ हजार पूरै मत र एमालेको आठ हजार मान्दा पनि अर्को गठबन्धनमा २० हजार हाराहारी मात्रै हुन आउँछ । यद्यपि, तत्कालीन राजपाका थुप्रै नेता अहिले जसपामै छन् ।