site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गठबन्धन विरोधी’ रामचन्द्र पौडेल कसरी बने पक्षधर ?

काठमाडौं । गत आसोज २५ गते चितवन पुगेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए –सबै कांग्रेसले रुखमा भोट हाल्न पाउनुपर्छ । 

१४औं महाधिवेशनेको संघारमा चितवन पुगेका पौडेल गठबन्धनका कारण गत स्थानीय चुनावमा माओवादीको हँसिया हथौडामा अनि संघीय निर्वाचनमा हलोमा भोट हालेर दिक्क भएका भरतपुर महानगरपालिकाका कार्यकर्तालाई आगामी चुनावमा गठबन्धनबिनै जित्ने कांग्रेस निर्माणको सपना उनले त्यहीँ पुगेर बाँडेका थिए । 

उनै कार्यकर्ता बिहीबार पौडेलको निवास पुगेर चितवनमा आफूहरुले रुखमै मतदान गर्न पाउनुपर्ने माग गरे ।

तर अहिले सत्ता गठबन्धनमा रहेका नेताहरुको तयारी हेर्दा चितवनका कांग्रेसले फेरि पनि हँसिया हथौडामा मतदान गर्नुपर्ने देखिएको त्यहीँका कार्यकर्ता बताउँछन् । 

कांग्रेसको भरतपुर महानगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पौडेलले विगतको गठबन्धनका आधारमा सभापति देउवालाई ‘आफ्नो सत्ताका लागि जे पनि गर्न तयार हुने व्यक्ति’का रुपमा चित्रित गरेका थिए । देउवाको विगत चुनावमा गठबन्धन गर्ने कदम पार्टीभन्दा आफूलाई केन्द्रमा राखेर भएको भन्दै त्यही चरित्रका कारण देउवासँग एकता र सहकार्य हुन नसक्ने पौडेलको घोषणा थियो । 

“साथीहरु अन्याय र न्यायको बीचमा एकता हुँदैन । आज देशलाई प्रकाश चाहियो । प्रजातन्त्रको उज्यालो चाहियो,” पौडेलले भनेका थिए, “जे मन लाग्यो त्यही गरेर हुँदैन । आफ्नो सत्ताभन्दा अरु केही पनि नदेख्नेबाट पार्टी चल्न सक्दैन ।” 

२०७४ सालको निर्वाचनमा गठबन्धन गर्नु देउवाको महाभूलका रुपमा अर्थ्याएका पौडेलले अबको चुनावमा सबैले रुखमा भोट हाल्ने वातावरण निर्माण हुनुपर्ने बताएका थिए । 

“चोट चितवनले भोगिरहेको छ । कहिले हँसिया–हथौडामा भोट हाल्नुपर्ने कहिले हलोमा भोट हाल्नुपर्ने काम यहीँबाट सुरू भयो,” पौडेलले भनेका थिए, “सारा नेपाली कांग्रेसले रुख चिह्नमा भोट हाल्न पाउन् ।” 

सभापति देउवाको सबैभन्दा गलत काम गठबन्धन गर्नु हो भन्ने उनै पौडेल अहिले भने गठबन्धनका संयोजक भएर काम गरिरहेका छन् । महाधिवेशन अघिसम्म गठबन्धनका कट्टर विरोधी पौडेल महाधिवेशनमा सभापतिमा आफ्नो टिमले उमेदवार नबनाएपछि त्यसका विरुद्धमा उभिन थालिसकेका थिए । 

महाधिवेशनमा सभापतिका उमेदवार डा. शेखर कोइराला र महामन्त्री उमेदवार गगन थापाले कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउने’ उद्घोष गरेका थिए । शेखरकै कारण सभापति उमेदवार बन्न नपाएको निष्कर्षमा पुगेका पौडेल महाधिवेशनको प्रक्रियामा भाग नलिने घोषणासहित निस्क्रिय बसे । 

महाधिवेशनकै बेलादेखि पौडेलले ‘अब गठबन्धन बलियो बनाउनुपर्ने, त्यसका विरुद्ध अब बोल्न नहुने’ धारणा राखेका थिए ।

महाधिवेशनको परिणामबाट पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी प्रतिमा गौतम पौडेल निवास बोहोराटार पुगेकी थिइन् । त्यसबेला नै नेतृ गौतमलाई पौडेलले गठबन्धनका विरुद्ध नबोल्न निर्देशन दिएका थिए । त्यहाँ उनले शेखरसहितका व्यक्तिले गठबन्धनका विरुद्ध राखेका धारणाले पार्टीलाई ‘लार्जेष्ट पार्टी’ भएर पनि सरकार बनाउन नसक्ने अवस्थामा पुर्‍याउन सक्ने भन्दै सचेत गराएका थिए । 

“माओवादीको महाधिवेशनमा संविधान निर्माणको सम्पूर्ण जस प्रचण्डलाई दिइँदा पार्टीलाई घाटा हुने प्रसंग उठेको थियो । त्यसमा वरिष्ठ नेताज्यूले प्रचण्ड माधवको केही समय मनोबल बढाउनुपर्ने आवश्यकता रहेको भए पनि सभापतिले प्रसंसाको लिमिट व्यवस्थापन गर्न नसकेको बताउनुभएको थियो,” गौतमले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “त्यसक्रममै उहाँले गठबन्धनमै चुनावमा जानुपर्ने बाध्यता रहेको बताउनुभएको थियो ।” 

उनले नेता पौडेलले गठबन्धनको आवश्यकताका विषयमा पनि चर्चा गरेको स्मरण गरिन् । 

“हाम्रो संविधान र निर्वाचन प्रणालीको प्रावधानका कारण अपवादबाहेक कुनै पनि पार्टीको बहुमत नआउने अवस्था छ, यस्तो अवस्थामा चुनाव अघि वा चुनाव पछि गठबन्धन अनिवार्य छ,” पौडेलले भनेका थिए, “भोलि गठबन्धन गर्नुछ भने आजैदेखि किन नगर्ने ? अहिले साथीहरुले जेजस्ता धारणा राखिरहेका छन्, त्यसले भोलि कांग्रेस लार्जेष्ट पार्टी भएर पनि सरकार अरुले बनाउने अवस्था बन्न सक्छ ।”

उनले त्यसबेला प्रचण्ड र माधव नेपालको मनोबल नबढाए फेरि पनि उनीहरुले केपी ओलीसँग आत्मसमर्पण गर्ने जोखिम बाँकी रहेको बताएका थिए । 

“त्यसैले गठबन्धनका विरुद्धमा बोल्नु हुँदैन । बरु गठबन्धन हुने वातावरण निर्माण गर्नुपर्छ,” पौडेलको त्यसबेलाको भनाई गौतमले उद्धृत गर्दै भनिन् ।

महाधिवेशनलगत्तै बनेको सत्ता गठबन्धनमा रामचन्द्र पौडेल संयोजक भए । सरकार सञ्चालन तथा गठबन्धनका दलहरुबीच समन्वयका लागि बनेको गठबन्धनमा संयोजक भएदेखि पौडेल चितवनमा गरेको घोषणा विपरीत सभापति देउवासँगको सहकार्यमा छन् । 

कांग्रेसको राजनीतिमा प्रत्यक्ष जोडिएका पुरञ्जन आचार्य पौडेलका प्रसंसकमध्येका एक हुन् । उनी पौडेल सत्य र निष्ठाको राजनीति गर्ने नेता भएको भन्दै पछिल्लो समयका गतिविधिले आफू चकित भएको बताउँछन् । 

“रामचन्द्र पौडेलका विषयमा धेरै तितो केही भन्न म सक्दिन । तर, त्यस्तो केही चिज छ, जसले शेरबहादुर देउवाको पछाडि शेखर कोइरालाको पछाडि उहाँलाई पु¥याइरहेको छ,” आचार्यले भने, “नैतिक राजनीतिको क्लेम गर्ने धेरै कम मध्ये एउटा नेता उहाँ पनि हो । उहाँ जत्तिको योगदान भएको र कलंकित नभएको नेता दक्षिण एसियामै भेटन मुस्किल छ । त्यतिको मान्छे पार्टी सभापति र प्रधानमन्त्री नहुनुपर्ने कुनै कारण छैन ।” 

उनले पौडेलमा परीक्षणकै घडीमा कमजोरी देखिँदा नेताका रुपमा आउन नसकेको हो कि भन्ने शंका गर्छन् ।  

“पछिल्लो समय उहाँ शेरबादुरजीको नजिक भएर जसरी अघि बढ्नुभएको । लिडरसिपमा जसरी देखिँदै हुनुहुन्छ उहाँ त्यसमै चुक्नुभएको छ,” आचार्यले भने, “चितवनमा बोलेका कुरा सत्यमा आधारित छ । आज उहाँ जे बोल्दै हुनुहुन्छ र जे गर्दै हुनुहुन्छ त्यो असत्यमा आधारित छ ।”

गठबन्धन कार्यान्वयनका लागि गठित दलीय अनुगमन संयन्त्रको समेत नेतृत्व गरिरहेका पौडेल तीन तहकै निर्वाचनमा गठबन्धनको वकालत गरिरहेका छन् । पौडेलको तर्क र बहसले ‘गठबन्धनका पक्षमा रहेका’ सभापति देउवा भने ‘कम्फर्टेवल’ महसुस गरिरहेका छन् । त्यसैले उनले शेखरलाई विगतको हार पनि गठबन्धन नभएकै कारण भएको भन्दै गठबन्धन नभए फेरि पनि पराजित हुनसक्ने चेतावनी दिने गरेका छन् ।

“आफू चुनाव जित्न नसक्ने अनि गठबन्धनको विरोध गर्ने ?,” देउवाले बीपी स्मृति अस्पतालको कार्यक्रममा शेखर कोइरालालाई भनेका थिए, “विगतमा तपाईंहरुका यस्तै बहसले पार्टी हारेको होइन । गठबन्धन नहुँदा म पनि बाल बाल जितेको हुँ ।” 

उनले ओलीको पार्टीलाई कमजोर नसोच्न भन्दै प्रचण्डलाई कांग्रेसले छोडे ओलीसँग मिल्ने र कांग्रेस चुनावमा कमजोर हुने दावी गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro