जनकपुरधाम । एक महिनाअघिसम्म धनुषाको मुख्यिापट्टि मुसरनिया ३ तुलसीयाहीका बासिन्दा कुनै नेतालाई भेट्न जाँदा बेवास्ता गर्थे । जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैन थिए । समस्या सुनाउँदा पन्छिन्थे ।
त्यही बस्तीमा अहिले नियमित नेताहरूको भिड लाग्छ । स्थानीय चुनावको मिति तय भएयतामात्रै वडामा १८ वटा कार्यक्रम भइसके । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ ।
बुधबार यस्तै कार्यक्रममा जाने सुरसार गर्दै थिए, ७० वर्षीय ज्ञानचन्द सदा । उनको तीन धुर ऐलानी जग्गामा दुई कोठे घर छ । त्यही जग्गाको लालपुर्जा नेताले बनाइदिने आशमा प्रत्येक चुनावमा उनी नेताको भाषण सुन्न जाने गरेको बताउँछन् । बस्तीमा खानेपानी, नाला र सडक बनाउनु पर्ने वर्षौंदेखिको माग यथावतै छ ।
"सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु । अहिलेसम्म बन्न सकेको छैन," उनले भने ।
भारतीय सीमासँग जोडिएको यो पालिका धनुषाको सबै भन्दा गहिरो ठाउँ हो । बर्सातको बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । गत चुनावमा पनि बस्तीका बासिन्दाले बर्सातको पानी व्यवस्थापन, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए ।
उनीहरूको बस्तीमा मात्र तीनवटा हाते कल (चप्पा कल) छन् । जसले गर्मीमा पानीको हाहाकार हुन्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । नाला नबन्दा बर्सातमा उनीहरूको घर डुब्छ । त्यसैले हरेक निर्वाचनमा उनीहरूले यी मागहरू अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । तर, उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।
गाउँमा बिजुली पुगेपनि मुसहर बस्तीका अधिकांश घर अध्यारोमै हुन्छन् । लालपुर्जा नहुँदा मिटर नपाएको महेन्द्र सादाले गुनासो गरे ।
"गाउँमा लाइन त छ, तर बिद्युत कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेको छैन," उनले भने, "बिद्युत चुहावट गर्यो भने पुलिसले समात्छ । अनी कसरी बल्छ मुसहर बस्तीमा बत्ती ?"
उपचार गराउन पनि जनकपुर पुग्नुपर्ने यो बस्तीको पीडा छ । बर्सताको बेला गाउँमा एम्बुलेन्स नपुग्ने गरेको उनी बताउँछन् ।
"मुसहर बस्ती अझै उस्तै छ । अभावमा बाँचिरहेको छ," फुलमतीया देवीले भनिन्, "यो बस्तीमा नेता भोटको बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ फेरिन्छ । तर बस्तीको रङ फेरिँदैन ।"
लामो समयपछि ०७४ मा भएको स्थानीय निर्वाचनले नेता परिवर्तन भएको तर आफूहरूको बस्तीमा परिवर्तन हुन नसकेको उनको गुनासो छ । प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट लिने गरेको उनी बताउँछिन् ।
अर्का मुसहर राजकुमार सादाको पीडा पनि उस्तै छन् । उनले जग्गा अभावमा शौचालय बनाउन सकेका छैनन् । शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । "तीन धुर जग्गामा घर छ । ११ जनाको परिवार यसमै बस्छौँ," उनले मलिलो अनुहार बनाउँदै भने, "बाध्य भएर खुला ठाउँमा शौच गर्न जानुपर्छ ।"
सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको उनको गुनासो छ ।
सोही बस्तीका रामनाथ सादा १६ कट्ठा जमिन लिजमा लिएर खेती गर्दै आएका छन् । प्रत्येक वर्ष मल, बिउ र सिँचाइ अभावमा राम्रो उत्पादन हुँदैन । ऋण लिएर खेती गर्दै आएका उनलाई खानबाहेक आम्दानी हुन सकेको छैन ।
"बर्सातको बेला खेत डुबानमा पर्छ । वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छ," उनले भने, "त्यसको व्यवस्थापन नेताले गर्नु पर्दैनन् ? भोट माग्ने बेला त सबै गर्छु भन्छन् । जितेर गएपछि कता हराउँछ ?"
सडक नहुँदा परम्परागत शैलीमा खेती गर्नुपरेको उनी बताउँछन् ।