धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच स्थानीय तहमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।
नेपाल सरकारले यही चैत २५ गतेदेखि देशभर खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आजदेखि नै अभियानका रूपमा सुरु गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । बाँकी आठ पालिकामा भने चैत २५ देखि अभियान सुरु गरिनेछ ।
कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइडविरुद्धकोे खोप लगाउने लक्ष्य छ । कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार ८२८ तथा विद्यालयबाहिर रहेका ४० हजार २२० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका विद्यालयमा आउँदो वैशाख २ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जानकारी दिए ।