site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
राजनीतिक कार्यकर्ता कि नेताका कारिन्दा  ?

राजनीतिक दलका कार्यकर्ता र नेताका कारिन्दाका बीचमा मूल अन्तर के हाे भने कार्यकर्ता चित्त नबुझे पनि कुरा (नेताकाे इसारा) बुझेर चुप लाग्ने गर्दैनन् । नेताका कारिन्दाले भने चित्त नबुझे पनि कुरा बुझेपछि मुख खाेल्दैनन् । कार्यकर्ता पार्टीकाे सिद्धान्तमा विश्वास गर्छन् भने कारिन्दा नेताका पछि लाग्छन् । अहिले नेपालकाे राजनीतिमा कारिन्दाकाे संङ्ख्या धेरै बढेकाे छ तर अझै बहुमत भने कार्यकर्ताकै देखिन्छ । 


यसैले नेपालकाे राजनीतिबाट पनि निराश भइहाल्नुपर्ने अवस्था छैन । अझ  ‘मिलेनियल(युवा)’ र ‘जेनरेसन जेड (नवयुवा)’ भनिने पुस्ताका प्रतिनिधिमा समेत राजनीतिप्रति रूचि बढेजस्ताे देखिन थालेकाे छ । काठमाडौं महानगरपालिकाकाे मेयरमा चुनाव लड्ने पूर्व मिस नेवाः सुनिता डंगाेलकाे घोषणा सम्भवतः यसकाे उदाहरण हाे ।  


देशका विभिन्न पालिकामा नेतृत्व गर्न तम्सने युवा र नवयुवा पुस्ताका प्रतिनिधि अगाडि सरेका छन् । लाग्छ, राजनीतिलाई त्यसमा पनि चुनावी दाउपेचलाई भने उनीहरूले राम्ररी आकलन गरेका छैनन् । यसैले रहरकाे राजनीति गर्नेहरू धेरै टिक्तैनन् ।

KFC Island Ad
NIC Asia


राजनीति ‘तपस्या’ त हुँदै हाे साथै ‘कपटखेल’ पनि हाे । धेरै ‘राम्रा’हरू ‘सुनकाे मृग’ खोज्ने क्रममा आफैँ हराउँछन् । बाहिरबाट हेदा स्वःस्फूर्त देखिने कतिपय अन्ततः कसैका स्वार्थमा ‘कैँची’ र ‘टेका’ बन्न पुग्छन् । काठमाडौं महानगरपालिकाकाे अगिल्लाे निर्वाचन यसकाे उदाहरण हाे । 


यसकाे अर्थ नयाँले आँटै गर्नु हुन्न भन्ने भने पक्कै हाेइन । तर, चुनाव अभियान थाल्नुभन्दा पहिले आफू ‘कैची’ वा ‘टेका’ बनिएकाे त छैन भन्ने हेक्का राखे बेस हुन्छ । यस्तै, एक्लै चुनाव लडेर पारलाग्छ भन्ने ठान्नु पनि मूर्खता नै हुन्छ । 

Royal Enfield Island Ad


अहिले देखिएका ठूला वा साना पनि दलहरूकै भरमा नेपालकाे राजनीति सुध्रिन्छ र विकास हुन्छ भन्ने ठान्नु पनि यस्तै मूर्खता हुने देखिन्छ । यिनीहरूमा सैद्धान्तिक अन्तर लाेप भएजस्तै देश र जनताप्रति इमान र ‘भिजन’ पनि छैन । वडादेखि महानगरसम्म सबैतिर ‘समृद्धि’ रटान गर्छन् तर बनाउने बेला ‘भ्यु टावर’ र मूर्ति बनाउँदा रहेछन् । 


यसैले युवा आकांक्षीहरूले समूहमा अगाडि बढ्न सिक्नु जरुरी देखिन्छ । एक्लै त जतिसुकै लाेकप्रिय भए पनि चुनाव जित्न धेरै कठिन हुन्छ । एक्लै चुनाव जिते नै पनि काम त गर्नै सकिँदैन । यसैले दिगो हुनैका लागि पनि समूह बनाएर सहकार्य गर्नुपर्छ । 


हाम्रा स्थानीय तहहरूलाई अध्यक्षात्मक र संसदीय दुवै प्रणालीकाे ठिमाहा बनाइएकाे छ । दुवै प्रणालीका अप्ठेराकाे सामना गर्नुपर्छ निर्वाचित प्रतिनिधिले । सभाहरूले स्वीकृत गरेमात्र कार्यक्रम र बजेट पारित हुन्छ । 


यसैले एक्लै प्रमुखकाे चुनाव लड्छु र याे र ऊ गर्छु भन्नेहरू पञ्चायती उमेदवारकाे सम्झना गराउँछन् । पञ्चायतका उमेदवार एक्लै चुनाव लड्थे तर नारा भने राेजगारी सिर्जनादेखि सुकुमवासी समस्या समाधानसम्मका दिन्थे ।        


अहिलेका दल र यिनका कार्यकर्ताकाे भर नपरेर अगाडि सरेका युवालाई  अहिले सजिलाेका लागि ‘अटेरी’ भनौ । उनीहरू नै केहीले राखेकाे नाम हाे । तिनले चुनाव लड्ने नै हाे भने देशव्यापी सञ्जाल बनाएर चुनावमा हाेमिए राम्राे हुन्थ्यो ।


अहिले पार्टी नै बनाउन नभ्याउलान् । त्यसैले सबैका नारा र प्राथमिकता पनि उस्तै नहाेलान् । तैपनि, अटेरी युवा ‘भ्यु टावरे’ समृद्धिकाे साटाे स्कुल र अस्पतालका पक्षमा हुनेछन् भन्ने अनुमान लगाउन सकिन्छ । यस्तै, राजनीतिक विचारका दृष्टिले उदार लाेकतन्त्रमा विश्वास गर्लान् । 


लाेककल्याण र उदार लाेकतन्त्रमा विश्वास गर्ने तर अहिलेकाे राजनीतिक र प्रशासनिक संस्कार बदल्न चाहने युवा उमेदवारले ध्यान भने आआफ्नै तहकाे चुनावमा केन्द्रित गर्नुपर्छ । सके वडा सदस्यदेखि नै सबै पदमा उमेदवारी दिने सहकर्मी खाेज्नुपर्छ । नभए कम्तीमा वडा अध्यक्षसम्म त ‘टिम’ बनाउनुपर्छ ।


चुनाव लड्नेमात्र रहर हाे भने त एकपटक रहर पुर््याए हुन्छ । साँच्नै नै केही गर्ने हुटहुटीले नै उमेदवारी दिन खाेजेकाे हाे र राजनीतिमै अडिने हाे केही वर्ष भने एक्लै चुनाव लड्ने मूर्खता नगरे बेस ! 

‘अटेरी’हरूलाई एउटा सुविधा छ - राजनीतिक ‘कारिन्दा’ का रूपमा ‘वृत्ति विकास’ गर्नुपर्दैन । चित्त नबुझे पनि कुरा बुझेर चुप लाग्नु पर्दैन । पालिकाकाे पैसाबाट भाडा तिरेर नेतालाई हेलिकप्टरमा सयर गराउन राज्यकाे ढुकुटी लुट्न पर्दैन । उनीहरू सही अर्थमा सुशासन र लाेककल्याणका कार्यकर्ता बन्न पाउँछन् ।  

    

सिद्धान्तकाे अवसानपछि 


पछिल्ला राजनीतिक घटनाक्रम हेर्दा नेपाल फ्रान्सिस फुकुयामाकाे सन् १९९० काे दशकमै अलमलिएकाे देखियाे । ‘इतिहासकाे अन्त्य’भित्रका अरू कुरा छाडौँ ‘सिद्धान्तकाे विवाद’ सकिएकाे तर्क नेपाली समाजमा चरितार्थ भएकाे देखिन्छ । नेपालमा उनले भनेजस्ताे उदार लाेकतन्त्र स्थापित भएर सिद्धान्तकाे विवाद सकिएकाे भने हाेइन । 


यहाँ ‘सिद्धान्तहीनता’ नै सिद्धान्त बनेर ‘इतिहासकाे अन्त्य’ भएकाे छ । नेपाली कांग्रेसकाे चुनावी गठबन्धनकाे निर्णयदेखि भारतीय जनता पार्टीसँगकाे निकटतासम्मले यही बताउँछ । नेपालका कम्युनिस्टहरू त यसै पनि चरम व्यवहारवादी थिए नै । यसकाे आरम्भ डा. केशरजङ्ग रायमाझीबाट विधिवत् भएकाे थियाे भने विभिन्नरूपमा सत्ताकाे स्वादका लागि सिद्धान्त गौण बनाउने प्रवृत्ति कायमै छ ।


कांग्रेसमा अलिकति फरक देखिन्थ्याे याे व्यवहारवादी अभ्यास । मातृकाप्रसाद काेइरालाले राजालाई साथ दिन अर्कै पार्टी बनाएका थिए । डा. तुलसी गिरीले राजाकाे साथमा लागेर सत्ताकाे स्वाद भोग्न पार्टी छाडेका थिए । यही बाटो धेरै हिँडेका थिए । बखानसिंह गुरुङ, परशुनारायण चाैधरीदेखि शेरबहादुर देउवाले पार्टी छाड्नुकाे कारण पनि सत्ता नै थियाे । यत्ति हाे, देउवा फर्केर पार्टी कब्जा गर्न सफल भए, अरू हराए ।   


अहिले बहुसङ्यक कार्यकर्ताले नरुचाएकाे देखिए पनि पार्टी सभापति देउवाकाे जिद्दीमा कांग्रेसकाे केन्द्रीय समितिले स्थानीय तहदेखि नै निर्वाचनमा सत्ता साझेदारहरूसँग गठबन्धन गर्ने निर्णय गरेकाे छ । यसले कांग्रेसका धेरै कार्यकर्ताकाे मनाेबल त गिराएकै छ चुनावमा गरिने गठबन्धनबाट देशकै पनि हितमा हुने देखिँदैन । 


 परन्तु, कांग्रेसले त विधिवत् निर्णय गरिसक्याे । कांग्रेसकाे आधिकारिक निकायले गठबन्धन त के पार्टी विघटनकै निर्णय पनि गर्नसक्छ । पुराना मतदाताले ‘रुख’मा मत दिन नपाएपछि जेमा मन लाग्छ त्यसैमा दिन्छन् । यसैले याे पनि जनताका लागि कुनै ठूलाे कुरा भएन ।


परक पर्ने त नेपाली कांग्रेसका कार्यकर्तालाई नै हाे । तर, तिनमा बहुसंख्यक त सायद ‘कारिन्दा’ छन् । नत्र त तिनले विद्राेह गर्नुपर्ने हो । पार्टी एउटा ‘व्यावसायिक प्रतिष्ठान’ बनेपछि कुरा बुझेपछि पनि चुप नलाग्ने ‘कार्यकर्ता’ काे काम पनि छैन । यसैले सिद्धान्तहीन राजनीतिमा जीवन फाल्नुभन्दा बेलैमा पार्टी राजनीति छाडेर ‘इज्जत’काे पेसा अपनाउनु बेस हाेला ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro