हिन्दी फिल्म ‘अमर प्रेम’ मा एउटा गीत छ किशोरकुमारले गाएकाे । ‘चिंगारी कोई भडके’ शीर्षकमा ‘यु ट्युब’ मा खाेजे भेटिन्छ । गीतभित्र एउटा पङ्क्ति छ - मझधार मे नैयाँ डाेले ताे माझी पार लगाए माझी जाे नाव डुबाेए उसे काैन बचाए ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउने चुनावमा सत्ता साझेदारहरूसँग गठबन्धन गर्ने अठाेट गरिसकेका छन् । त्यसैले उनका निकट सहयाेगीहरू आरजु राणा देउवादेखि रामचन्द्र पौडेलसम्म सबै नै गठबन्धका पक्षमा उभिएका हुन् ।
अब शेखर कोइराला वा गगन थापाकाे गठबन्धनप्रतिकाे असहमतिकाे खासै अर्थ देखिँदैन । हदै भए शब्द केही मिलाएर काइते शैलीमा चुुनावमा गठबन्धन गर्ने नै निर्णय नेपाली कांग्रेसकाे केन्द्रीय समितिले सके आजै गर्नेछ । ठीकै हाे गठबन्धकाे भारी बाेक्ने नै भएपछि ढिलाे किन गर्नु ?
गठबन्धनकाे आवश्यकता र औचित्य साबित गर्न कांग्रेसका दुई शीर्ष नेताले जे जस्ताे तर्क दिए पनि मूल कारण पार्टीभन्दा पनि आफूलाई चुनाव जित्न सजिलाे हाेस् भन्ने नै हाे । देउवाकाे थप चाहना चुनावपछि प्रधानमन्त्री हुने सुनिश्चित गर्नु पनि हाे भन्ने सहजै बुझिन्छ । र त्याे अस्वाभाविक पनि हाेइन ।
यही कारणले प्रधानमन्त्री देउवा चुनावमा गठबन्धन गर्न यसरी हुरुक्क भएका हुन् भने उनले गठबन्धनका सहयाेगीहरूकाे बानीबेहाेरा बिर्सेजस्ताे देखियाे । बुढेसकालमा भर्खरका कुरा अलि धेरै बिर्सिइँदाे रहेछ । सायद यसैले २०७९ काे निर्वाचनलाई उनले ‘२०७४.२’ बनाउने अठोट गरेका होलान् ।
देउवाकै नेतृत्वमा २०७४ मा पुष्पकमल दाहालसँग स्थानीय चुनावमा गठबन्धन गरिएकाे थियाे । निकै बदनामी र ग्लानि सहेर चितवनका कांग्रेसजनले भरतपुर महानगरपालिकामा दाहालकी छाेरीलाई जिताए । त्यसकाे प्रतिफलमा के पाए ? संघीय र प्रदेशकाे चुनावमा धोका !
गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय समितिकाे बैठकमा ‘कम्युनिस्टलाई एक बनाउन शक्तिकेन्द्र लागेकाे’ खुलासा गरेकाे समाचार सार्वजनिक भएकाे छ । सत्य हुनसक्छ । गृहमन्त्रीले केन्द्रीय समितिमा गफ त पक्कै दिएनन् हाेला ।
त्याे सत्य हाे भने स्थानीय चुनावपछि पनि ती शक्तिकेन्द्रहरू तमासा हेरेर त नबस्लान् । बरू, झन् सक्रिय हुनसक्छन् । अनि पुष्पकमल दाहालकाे अहिलेसम्मकाे स्वभाव हेर्दा त उनले त्यतिबेला धोका दिने जाेखिम नै बढी देखिन्छ ।
स्थानीय निर्वाचनमा जुन कारणले गठबन्धन गर्न खाेजिएकाे छ त्यही कारणले प्रतिनिधि सभाकाे निर्वाचनपूर्व याे गठबन्धन भङ्ग हुन्छ । चुनावपछि देउवा नै प्रधानमन्त्री हुन बनाउन न गठबन्धन गर्न खाेजिएकाे हाे ।
सधैँ देउवालाई नै प्रधानमन्त्री बनाउन माधव नेपाल र पुष्पकमल दाहाल मान्लान् ? सत्ताका लागि आफूले बनाएकाे पार्टी भताभुङ्ग पारेर हिँड्नेहरूलाई गठबन्धन भत्काउन कति बेर लाग्ला र ?
प्रधानमन्त्री हुन नपाउने हाे भने देउवाले पाे याे गठबन्धनमा किन बस्ने ? विपक्षी दलकाे नेता हुन त गठबन्धन गरिरहनै परेन । गठबन्धन गरेकाे अपजस किन बाेक्ने?
अन्ततः हुने के हाे भने नेपाल र दाहालहरूले कांग्रेसकाे मत लिएर शक्ति सकेसम्म धेरै ठाउँमा जित्नेछन् र सरकार बनाउने बेला अर्काे गठबन्धन गर्नेछन् । चुनावपछि नेकपा (एमाले) ठूलाे दल भयाे भने यसै यिनीहरू उतै लाग्छन् । एमाले कमजाेर भयाे भने सबै मिलेर कांग्रेसलाई एक्ल्याउँछन् ।
खड्गप्रसाद ओलीसँग न हाे नेपाल र दाहालकाे टक्कर ! त्यस अवस्थामा २०५३ सालमा जस्तै साना दलका नेता अर्थात् दाहाल, नेपाल वा अरू कसैकाे भाग्य लाेकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाकाे जस्तै चम्कन सक्छ ।
स्थानीय तहकाे चुनाव गठबन्धनकाे सहयाेगमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले धेरै ठाउँमा जित्याे भने स्वाभाविकरूपमा दाहाल र नेपाल हाैसिनेछन् । अहिले धेरै कार्यकर्ताले भनेजस्तै कांग्रेसकाे मत कम्युनिस्टले पाएनन् भने उनीहरू खुनासिनेछन् । दाहाल नेपाल हाैसिए पनि खुनासिए पनि गठबन्धन त टुट्ने नै हाे ।
गठबन्धन कम्युनिस्टका कारण टुटेन रे । संसद्मा कांग्रेस एक्लैले बहुमत पाउने गरी चुनाव लड्न त पक्कै पाउँदैन हाेला । अर्थात्, सबै उमेदवारले जिते पनि एकल सरकार बन्दैन । त्यसपछि पक्कै चर्कै ‘बार्गेनिङ’ हुन्छ । अर्थात्, समुद्री बूढाेलाई सिनबादले बाेकिरहनुपर्छ ।
एमालेलाई साइजमा राख्न २०६३ मा चुनावै नलडेकाे माओवादीलाई एमाले बराबरकाे हैसियत दिने गिरिजाबाबुकाे गल्तीकाे मूल्य कांग्रेसले मात्र हाेइन देशले नै लाेकतान्त्रिक मूल्यकाे क्षयका रूपमा अहिलेसम्म चुक्ता गर्दैछ । अहिले ‘ओलीलाई साइजमा ल्याउन’ कुवामा सर्पलाई निम्त्याउने हाे भने कांग्रेस ‘गंगादत्त भ्यागुताे ’ हुनसक्छ ।
सुशील काेइरालाका पालामा २०७० मा पनि कांग्रेस एक्लै चुनाव लडेकाे हाे । सबैभन्दा ठूलाे पार्टी भयाे । पक्कै पनि मिश्रित प्रतिनिधित्व प्रणालीमा एकल बहुमत जुटाउन सहज हुँदैन । तर यसकाे अर्थ चुनावभन्दा पहिले नै गठबन्धन नगरे चुनावै जितिँदैन भन्ने ठान्नु हुँदैन ।
बिचरा प्रदेशका सभापतिदेखि केन्द्रका महामन्त्रीसम्म सबैलाई अब कार्यकर्ता सामु जान अप्ठेराे त हाेला तर उम्कने उपाय छैन । जेहाेस्, बाहिरबाट हेर्दा गठबन्धन कांग्रेस सिध्याउने खेलबाहेक अरू देखिँदैन । विडम्बना, माझीहरू नै नाउ डुबाउने खेलमा लागेपछि कस्ले बचाउने ?