काठमाडौं । वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६ हजार ४७५ वटा सहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी सहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो ।
काठमाण्डौं उपत्यकाको पछिल्लो अपडेटअनुसार वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको छ । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । काठमाडौंको सहरी वायु प्रदूषणमा सवारी साधनको चाप नै मुख्य कारक रहेको वातावरणविदहरूले बताउँदै आएका छन् । इन्धनजन्य सवारी साधनबाट निस्कने कार्वन मनोअक्साइड, नाइट्रोजन मनोअक्साइडलगायत ग्यासले वायुको गुणस्तरलाई घटाइदिन्छन् र मानव स्वास्थ्यमा घातक असर पुर्याउनसक्छन् । त्यस्तै घरेलु प्रयोजनका लागि बालिने दाउरा गुइँठालगायतबाट निसकने धुँवा सहरी प्रदूषणभन्दा २० गुणा बढी हानिकारक हुने बताउँछन् वातावरणविद् भूषण तुलाधार ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २ अर्ब ६० करोड जनसंख्या अहिले पनि खुला आगोको प्रयोग गर्छन् । त्यसमा दाउरा, कोइला, इन्धनयुक्त आगोका स्रोतहरु छन् । वार्षिक ३८ लाख मानिसको घरेलु धुँवाजन्य रोगबाट मृत्यु हुने गरेको छ । वायु प्रदूषणकै कारण हुने विभिन्न रोगमध्ये २७ प्रतिशतमा निमोनिया, १८ प्रतिशतमा ह्रदयघात, २७ प्रतिशतमा अकस्मात देखिने मुटुरोग, २० प्रतिशतमा श्वासप्रश्वाससम्बधी रोग र ८ प्रतिशतमा फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको संगठनको तथ्यांक छ ।
कुन समयको वायु बढी प्रदूषित ?
काठमाडौं सहरको हकमा बिहान ८–९ बजेदेखि दिउँसो ३ बजेसम्मको वायु धेरै प्रदूषित हुने गरेको पाइएको छ । यो समयमा हावा कम चल्ने भएकाले पनि हावा धेरै प्रदूषित हुने र उच्च बिन्दुमा पुग्ने गरेको वातावरणविद् तुलाधार बताउँछन् ।
वायु प्रदूषणको असरबाट कसरी जोगिने ?
घरेलु वायु प्रदूषणको असरबाट जोगिन विद्युतीय चुलोको प्रयोग बढाउन, आगो, कोइला, गुइँठाजस्ता स्रोतहरू सकेसम्म कम प्रयोग गर्न र प्रयोग गर्दा खुला ठाउँमा बाल्न वातावरणविदहरूको सुझाव छ ।
यो समयमा बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न अन्य सुरक्षाका उपाय अपनाउन तुलाधारको सुझाव छ । अक्सिजनको मात्रा कम र प्रदूषणजन्य ग्यासहरूको मात्रा धेरै भएको अवस्थालाई एन्टी–अक्सिजन पोलुसन भनिन्छ । यो अवस्थामा एन्टी–अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन सी र ई को मात्रालाई घटाइदिन्छ । छलारोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्ने भएकाले छाला स्वास्थ्यमा पनि सावधानी अपनाउनुपर्ने बताउँछिन् ।
एन्टी–अक्सिजन पोलुसनले ५ वर्षमुनिका बालबालिकाको फोक्सोमा असर पुर्याउने तथा गर्भमा रहेको शिशुलाई समेत घातक असर पुर्याउने चिकित्सकहरु बताउँछन् । लामो समय एन्टी–अक्सिजन पोलुसन भएपछिको अवस्थामा प्रदूषित वायुमा सल्फरडाइअक्साइड र नाइट्रोजनअक्साइडको चक्र मिल्नगएमा एसिड रेन हुनसक्छ । जुन वर्षा मानव स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै घातक हुन्छ ।